नवलपरासी — विनयी खोलाको डाइभर्सन सडकमा बुधबार साँझ करिब दुई घन्टा यातायात सञ्चालन गर्न दिएर प्रहरीले फेरि यातायात सञ्चालनमा रोक लगाएको छ ।
खोलाको सिरानतिर पानी परेको जानकारी पाएपछि डाइभर्सन हुँदै आउजाउ गर्ने गाडी रातिमा बगाउन सक्ने त्रासले त्यहाँ आउजाउ बन्द गरेको जिल्ला ट्राफिक प्रहरीले जानकारी दिएको छ । मंगलबार राति बगाएको विनयी खोलाको डाइभर्सन सडक निर्माण गरेर अघि साँझ साढे ६ बजेदेखि केहीबेर आवगमन खुलाएर साढे ८ बजेबाट फेरि प्रहरीले नै यातायात आवगमन बन्द गरेको जानकारी दिएको छ ।
उता दाउन्नेमा मंगलबार राति दुई बजेदेखि अवरुद्ध रहेको यातायात अझै सञ्चालन हुन सकेको छैन । बुधबार साँझ करिब पौने घन्टा राजमार्ग सुकेको अवस्थामा आवगमन खुलाइएको थियो । अहिले राति साढे ८ बजे त्यस क्षेत्रमा पानी परेका कारण दुर्घटना हुन सक्ने डरले प्रहरीले आउजाउ रोकेको हो ।
महेन्द्रराजमार्गको दाउन्नेमा गए राति २ बजेदेखि राजमार्ग हिलोमा फसेका गाडी पार गराउन नसक्दा महेन्द्रराजमार्गको ४५ किलोमिटर परसम्म गाडीको जाम थियो ।
दाउन्नेमा रोकिएका गाडी राजमार्ग सुकेका कारण केहीबेर सञ्चालन भएपनि वर्षात् भएका कारण फेरि अवरुद्ध भएको छ । सडक निर्माण कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले राजमार्ग निर्माणको काम नगर्दा १२ किलोमिटर सडक खण्डमा दिनहुँजसो जाम हुने गरेको छ ।
पूर्वी नवलपरासीमा बुधबार राति साढे ८ बजेदेखि फेरि वर्षात भइरहेको छ ।
