‘भिजिट भिसा’ अहिलेको मात्र समस्या होइन : अध्यक्ष दाहाल

असार ३, २०८२

रासस

'Visit visa' is not the only problem now: President Dahal

चितवन — माओवादी अध्यक्ष पुष्पकमल दाहालले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताएका हुन् ।  

'यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईंहरू पनि थाहा पाउनुभएको छ र हामीले पनि थाहा पाएकै छौँ,' उनले भने ।  यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ ।   

यो मुद्दालाई त्यत्तिकै नछाड्ने उनले बताए ।  'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन,' उनले भने ।

आफूहरू प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको उनले बताए । 'हामीले संविधानका निम्ति, ऐन कानुनका निम्ति, सिस्टमका निम्ति सत्तापक्षको भूमिका खेल्नुपर्ने बाध्यता छ,' उनले भने ।

अध्यक्ष दाहालले बजेट पारित गर्नुपर्ने, सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्नेलगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे । 

रासस

Link copied successfully