आलमको (अ) न्यायमा न्यायपरिषद्को मौनता

घाइतेलाई इँटाभट्टामा हालेको आरोप लागेका पूर्वमन्त्री आलम निर्दोष नै हुन् भने ६ वर्ष जेलमा किन राखियो ? 

असार ३, २०८२

घनश्याम खड्का

Silence of the Judiciary on Alam's (a) judgment

काठमाडौँ — १५ असार २०७७ मा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले पत्नी हत्याको कसुरमा सर्वस्वसहित जन्मकैदमा रहेका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाएर ८ वर्ष ६ महिना कायम गर्ने फैसला गर्दा सर्वोच्च अदालतकै न्यायाधीशहरूले विरोध गरे । पूरै बार यसको प्रतिरोधमा उत्रियो । सडकदेखि सदनसम्म यसको विरोध भयो । अन्ततः यही र यस्तै अरू कारणले चोलेन्द्रको इजलास नै न्यायाधीशहरूले बहिष्कार गरेपछि उनी सर्वोच्च अदालतबाट एक हिसाबले हटाइए । 

यसरी गलत निर्णयलाई सच्याउँदै न्यायालय स्वयंले प्रधानन्यायाधीशको स्वेच्छाचारितामा अंकुश लगाउन पेसी तोक्ने तजबिजी अधिकारलाई नै खोसेर त्यसको एक महिनापछि गोला तान्ने प्रक्रिया सुरु गर्‍यो, जुन अहिले पनि प्रचलित छ । तत्कालीन प्रधानन्यायाधीश जबराले कोइरालालाई सफाइ दिएका थिएनन्, मात्र सजाय घटाएका थिए । तैपनि, यही नै प्रधानन्यायाधीशको अभूतपूर्व बहिर्गमनको एउटा कारण बन्यो । 

यता, मानवीय संवेदना नै हल्लाउने गरी मानिसलाई जिउँदै इँटाभट्टामा फालेर मार्ने कसुरमा जन्मकैदको सजाय भोगिरहेका पूर्वमन्त्री आफताब आलमलाई गत १४ जेठमा जनकपुर उच्च अदालतको वीरगन्ज अस्थायी इजलासका न्यायाधीशहरू खुसीप्रसाद थारू र अर्जुन महर्जनले सजाय घटाउने होइन, हिन्दी सिनेमाको नाटकीय दृश्यमा जस्तो ‘बाइज्जत बरी’ गरे । न्यायाधीशद्वयले आलमसहित चार जनालाई जन्मकैदबाट उन्मुक्ति दिने निर्णय गर्दै १३ वैशाख २०८१ मा जिल्ला अदालत रौतहटले गरेको फैसला उल्ट्याए । 

तथ्यप्रमाण एकातिर र न्यायाधीशहरूको न्याय अर्कैतिर परेको भनेर यसको पनि नागरिक समाजले विरोध गरिरहेको छ । तर, त्यो झिनो र मसिनो स्वरलाई न्यायपरिषद्ले सुने नसुनेझैं गरेर मौनता साँधेको छ । आलमलाई सफाइ दिने घटनाको व्यापक आलोचना भएपछि सर्वोच्चभित्रै यसबारे न्यायाधीशहरूबीच आपसमा कुरा हुन थाल्यो । किनभने, सर्वोच्च अदालत स्वयंले घटनामा आलम संलग्न भएको पर्याप्त प्रमाणहरू पाएपछि सरकारलाई उनीलगायत दोषीविरुद्ध मुद्दा चलाउन दुई/दुई पटक आदेश नै जारी गरेको थियो । 

यसैबीच, अधिवक्ता युवराज पौडेलले १६ जेठमा न्यायाधीशहरू थारू र महर्जनबाट न्यायिक विचलन भएको भन्दै उनीहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने माग गर्दै न्यायपरिषद्मा निवेदन पनि दर्ता गराए । यहीबीचमा प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अघिल्लो बुधबार बिहान परिषद्को बैठक पनि बोलाए । ‘तर बैठकमा यसबारे कुनै कुरै भएन, कसैले केही सन्दर्भ पनि उठाएन,’ परिषद् स्रोतले भन्यो, ‘आलमको फैसलाको विरोध भइरहेको पृष्ठभूमिमा परिषद्को बैठक बसे पनि यसबारे चर्चै नहुनु अनौठो हो ।’ 

बैठकमा सर्वोच्च अदालतमा रिक्त चार न्यायाधीशको पदपूर्ति गर्ने विषयमा मात्रै छलफल भयो । लगातार एक साताजस्तो छलफलपछि गत मंगलबार रिक्त चारमध्ये तीनमा नियुक्तिको सिफारिस पनि भयो । लामो छलफलपछि परिषद्ले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल तथा उच्चका मुख्य न्यायाधीशबाट श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई नियुक्तिको सिफारिस गर्‍यो । ‘करिअर जज’बाट दुई जना र कानुन व्यवसायीबाट दुई जना नियुक्त गर्ने र कानुन व्यवसायीबाट सत्तारूढ दल एमाले र कांग्रेसको भागबन्डाअनुसार गर्ने अप्रत्यक्ष सहमति थियो । तर, एमालेले अघि सारेको वरिष्ठ अधिवक्ता ईश्वरी भट्टराईलाई भने परिषद्ले सिफारिस गरेन । 

‘प्रधानमन्त्री ओलीकै अघिल्लो कार्यकालका प्रतिनिधि रामप्रसाद भण्डारीको पदावधि १० असारमा सकिँदै छ,’ परिषद्का एक अधिकारीले भने, ‘आफ्ना ठाउँमा अर्को सिफारिस भइसकेपछि भण्डारीलाई अब परिषद्मा बैठक बस्न असुविधा परेको छ र प्रधानन्यायाधीशले पनि सिफारिसका लागि नयाँ सदस्य आएपछि मात्रै बैठक बस्ने भनेपछि भण्डारीका साथ अब परिषद्को बैठक बस्दैन ।’ यति ठूलो मामिलामा छलफलै नगरी परिषद् चुप लागेपछि न्यायिक वृत्तमा थप तरंग पैदा गराएको छ । परिषद्मा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, कानुनमन्त्री अजयप्रसाद चौरसिया, बारका प्रतिनिधि दामोदर खड्का र प्रधानमन्त्रीका प्रतिनिधि रामप्रसाद भण्डारी छन् । यसबारे जानकारी लिन खोज्दा न्यायपरिषद्का कुनै पनि सदस्यले औपचारिक प्रतिक्रिया दिन मानेनन् । 

रौतहटको राजापुरस्थित आलमका काका शेख इद्रिसको गोठमा २७ चैत २०६४ को साँझ बम विस्फोट भएको थियो । संविधानसभाको चुनावको मतदानमा विपक्षीलाई तर्साउन बम बनाइरहेका बेला विस्फोटमा घाइते भएकामध्ये पिन्टु भनिने त्रिलोक प्रताप सिंह र ओसी अख्तर मियाँलाई इँटाभट्टामा हालेर आलमले घटनालाई गुपचुप बनाउन खोजेका थिए । 

तर, विस्फोटको तीन दिनपछि ३० चैत २०६४ मा आलमसँगै निर्वाचन लडेका एमालेका नेता शैलेन्द्र साहले घटनाबारे प्रहरीमा निवेदन दिएपछि यसबारे सार्वजनिक भएको थियो । त्यसैका आधारमा प्रहरीले प्रारम्भिक अनुसन्धान गरी जिल्ला सरकारी वकिल कार्यालय गौरमा रायसहितको प्रतिवेदन बुझाएको थियो । तर, वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गर्‍यो । घटना बाहिर आएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली पनि घटनास्थल पुगेर अनुसन्धान थालेको थियो ।

Silence of the Judiciary on Alam's (a) judgment

‘आलमका काका इद्रिसको घरमा बम विस्फोट भएको रहेछ, त्यहाँ ठूलाठूला खाल्डो परेको थियो र त्यसलाई ढाकछोप गर्न लिपपोत गरिएको देखिन्थ्यो,’ आयोगको उक्त अनुसन्धान टोलीका प्रमुख यज्ञराज अधिकारीले भने, ‘विस्फोट भएको घरको छानो उडेको थियो ।’ घटनाको मिहिन अध्ययन गरेपछि आयोगले यसबारे मुद्दा चलाउन सरकारलाई सिफारिस गरे तापनि मुद्दा भने चल्न सकेन । यति संगीन घटनालाई सामसुम पार्न खोज्दै जिल्ला सरकारी वकिल कार्यालय रौतहटले ३ असार २०६५ मा मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसको २७ दिनपछि जिल्लाकै निर्णयलाई महान्यायाधिवक्ताको कार्यालयले पनि सदर गरेको थियो ।

न्याय पाउने संविधानप्रदत्त हक सरकारी अभियोक्ताबाटै हनन भएको भन्दै मृतक पिन्टुका बुबा नारायण सिंह र ओसी अख्तरकी आमा रुक्साना खातुनले सर्वोच्चमा रिट दायर गर्दै दोषीविरुद्ध मुद्दा नचलाउने महान्यायाधिवक्ताको कार्यालयको निर्णय बदर हुनुपर्ने जिकिर गरेका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू सुशीला कार्की र भरतबहादुर कार्कीको संयुक्त इजलासले १६ जेठ २०६९ मा आलमविरुद्ध अनुसन्धान गर्न आदेश दियो । व्यक्तिलाई जिउँदै इँटाभट्टमा पोलेको संगीन घटनामा अनुसन्धान नै नगर्ने र मुद्दा नै नचलाउने तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेको निर्णय उल्ट्याउँदै ‘अनुसन्धान सुरु गरी पुनः थप प्रमाण बुझी प्रचलित कानुनअनुसार कारबाही गर्नँ/गराउनू’ भनी सर्वोच्चले आदेश गरेको थियो । 

यसैबीच, छोरा ओसीको न्यायका लागि सर्वोच्चसम्म पुगेकी रुक्सानालाई ८ माघ २०६७ को साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर सरुअठा आउँदै गर्दा गौंडा ढुकेर बसेको समूहले गोली हानी हत्या गरेको थियो । एउटा सामान्य ग्रामीण महिलालाई गोली हानेर कसले मार्‍यो ? यसमा प्रहरीले कुनै खोजबिन नै गरेन भने राज्यका अरू निकायले पनि चासो दिएनन् । 

आदेशको वर्षौंसम्म पालना नभएपछि र न्याय खोज्दा रुक्सानाको हत्यासमेत भएपछि अधिवक्ता पुष्पराज पौडेलले महान्यायाधिवक्ता कार्यालयलाई अदालतको अवहेलनामा मुद्दा चलाइपाऊँ भनी सर्वोच्चमा अर्को निवेदन दिएका थिए । त्यसमाथि सुनुवाइ गर्दै न्यायाधीशहरू अनिल सिन्हा र कुमार रेग्मीको इजलासले ६ असार २०७६ मा घटनाको अविलम्ब अनुसन्धान गरी मुद्दा चलाउन पुनः आदेश दिएको थियो । आदेशअनुसार मुद्दा चलेको ६ वर्षपछि जिल्ला अदालत रौतहटले आलमसहित उनका भाइ महताब, शेख सेराज र बद्री सहनीलाई जन्मकैदको फैसला सुनाएको थियो । 

त्यसविरुद्ध पुनरावेदनमा गएका आलमलाई वीरगन्ज इजलासले उनी दोषी भएको कुनै प्रमाण नभेटिएको भन्दै सफाइ दिएको हो । ‘घटना भएको थियो र त्यो आलमले नै घटाएका थिए भन्ने प्रशस्त प्रमाणहरू छन्,’ अधिवक्ता पौडेल भन्छन्, ‘यति हुँदाहुँदै पनि उनलाई उच्चले छाडिदिनु अस्वाभाविक नै छ ।’ प्रत्यक्षदर्शी र घाइतेको बयान र घटनास्थलबाट पाइएका सबै प्रमाणले रौतहटमा विस्फोट भएकै थियो र आलमले घाइतेमध्ये दुईलाई इँटाभट्टामा फालेकै थिए भन्ने पुष्टि हुने पौडेलले बताए । ‘घटनास्थलमा मृतकको लुगा, जुत्ता र स्वेटर फेला परेको थियो,’ उनी भन्छन्, ‘ती त्यहाँ थिए भन्ने पुख्त सबुद हो यो ।’

घटनाका घाइते सफी अहमदका अनुसार पनि घटना भएकै थियो । विस्फोट हुँदा उनी अहमद इद्रिसको घर अघिल्तिर बाटोमा हिँडिरहेका थिए । जिल्ला अदालत रौतहटमा उनले बयान दिएका छन्, ‘बमको छर्रा लागी मसमेत घाइते भएकोमा गम्छाले पेट बाँधी सो ठाउँबाट ६०० मिटर पर साहु शेख मसिरसँग भेट भई निजले मोटरसाइकलमा राखी उपचारका लागि भारत मोतिहारीको डा. परवेज र तवरेज आलमको क्लिनिकमा उपचार गराउँदा १९ दिनपछि होसमा आएको थिएँ, उक्त अस्पतालमा करिब ४ महिना जति उपचार गराएको थिएँ । प्रतिवादी मोहम्मद आफताब आलमले संविधानसभाको निर्वाचन जित्नका लागि शेख इद्रिसको घरमा बम स्टोर गरी बनाउन लाग्दा सो बम विस्फोट भएको थियो ।’

Silence of the Judiciary on Alam's (a) judgment

सर्वोच्चको आदेशपछि प्रहरीले आलमविरुद्ध अनुसन्धान सुरु गरेको थियो । २८ असार २०७६ मा उनले प्रहरीमा जाहेरी थिएका थिए, जसमा उनले भनका छन्, ‘सो विस्फोटमा परी २ जना मानिसको मृत्यु भएको र ओसी अख्तर मियाँ र पिन्टु सिंहसमेत १५–१६ जना मानिसहरू घाइते भएकोमा घाइतेहरूलाई मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज भन्ने शेष सराज, शेख मोबिन आलम र शेख भदईसमेतका मानिसहरूले मृतक तथा घाइतेहरूलाई जुटको बोरामा हाली कसी ट्र्याक्टरमा लोड गरी नजिकको राजा इँटा उद्योगमा लगी जिउँदै जलाएको थाहा पाएँ । लामो समयसम्म प्रहरीसमक्ष उजुरी दिने सोच बनाएकोमा मेरो तथा परिवारको जीउज्यानको खतरा महसुस गरी उजुरी गर्न सकिनँ, निज प्रतिवादीहरूलाई कानुनबमोजिम कारबाही गरिपाऊँ ।’

विस्फोट हुनुअघि ओसी अख्तर मियाँलाई आलमले मोटरसाइकलमा बसाएर लगेको देखेको घटनाका अर्का प्रत्यक्षदर्शी ओहिद मियाँ कवारीले प्रहरीसमक्ष २९ वैशाख २०६५ मा बयान दिएका थिए । त्यस्तै, घटनाका प्रत्यक्षदर्शीहरू सहाजान खातुन, कलाम मियाँ र जफरुल मियाँ बम विस्फोटमा परेका ओसी अख्तर मियाँ र पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुतसमेतलाई राजा इँटा उद्योगमा लगी जलाई नष्ट पारेको हो भनी प्रहरीसमक्ष बयान दिएका छन् । 

त्यस्तै, अर्का घाइते गौरीशंकर राम चमारले पनि आलमका काका इद्रिसको घरमा विस्फोट भएको बयान अदालतमा दिएका छन् । उनी आलमको उक्त इँटाभट्टामा मजदुरी गर्थे । कामको ज्याला लिन भनी आलमकै घरमा जाँदै गर्दा काकाको गोठमा एक दर्जन जति मानिस बसिरहेको आफूले देखेको र त्यसै समयमा विस्फोट हुँदा आफू पनि घाइते भएको बयान उनले दिएका थिए । अदालतमा गरेको बयानमा उनले भनेका छन्, ‘म त्यहाँ गएको ४/५ मिनेटपछि ठूलो आवाज आउने गरी बम विस्फोट भयो । त्यो विस्फोटको छर्राले मेरो कान, छातीसमेतमा आगो लाग्यो । म ६००/७०० मिटर टाढा भागेर गई बेहोस अवस्थामा लडें ।’

विस्फोट भएको सुनेपछि नजिकै घर भएका शिव साह कानु के भएछ भनी तत्कालै त्यहाँ हेर्न पुगेका थिए । ‘घटनास्थलमा पुगेपछि त्यहाँ मानिसहरू यत्रतत्र भएको देखेको हुँ,’ जिल्ला अदालत रौतहटसमक्ष कानुले भनेका छन्, ‘त्यहाँ आफताब आलम, महताज आलम, शेख भदई लगायतका मानिसहरूलाई देखेको थिएँ, आलमलगायतले मलाई यहाँबाट जानु होस् भनी गालीगलौज गरी पठाए ।’

त्यस्तै, जिल्ला प्रहरी कार्यालयमा अर्का प्रत्यक्षदर्शी सराजुल मियाँले २०६५ वैशाख २० गते कागज गर्दा घटनाको वर्णन गरेका छन् । घटना भएको दिन उनी ओसी अख्तर मियाँको खेतमा काम गर्न गएका थिए । उनकी आमा रुक्साना खातुनले ‘मेरो छोरालाई मोहम्मद महताब र सेराजले बोलाई लगेका छन्, तिमी गएर ल्याइदेऊ’ भनेपछि उनी त्यहाँ पुगेका थिए । 

‘घरभित्र हेर्दा ओसी अख्तर मियाँ, २ कार्टॅन बम र १८/२० जना अन्य मानिसहरूलाई देखेको हुँ, त्यसपछि म नजिकैको रुखमुनि बसेको थिएँ, अचानक बम विस्फोट भयो, १/२ जनाको मृत्यु भयो, अन्य घाइते भए,’ उनको बयान छ, ‘घाइतेमध्ये पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुतको दुवै हात र दायाँ तिघ्रामा चोट लागेको थियो, ओसी अख्तर मियाँको दाहिने हात र बायाँ खुट्टामा चोट लागेको थियो, विस्फोट हुँदा घर ध्वस्त भएको थिएन, छाना टुटफुट भएको थियो, घाइते पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुत र ओसी अख्तरसमेतलाई ट्र्याक्टरमा हाली इँटाभट्टातर्फ लगेकोमा मानिसहरू कराएको सुनेको हुँ र पछि ट्र्याक्टरबाट बोराहरू उठाई चिम्नीमा फालेको देखेको हुँ ।’

ओसी अख्तर मियाँका ससुरा समसुल मियाँ, काका मोहम्मद जाजुल, पत्नी आमना खातुनले पनि २८ वैशाख २०६५ मा प्रहरीमा गरेको कागजमा शेख सेराजले ओसीलाई मोटरसाइकलमा लगी शेख इद्रिसको घरमा बम बनाउन लगाएको र त्यसै क्रममा बम विस्फोट भई ओसीलगायतको मृत्यु भएको खबर पाएको बयान दिएका छन् । उनीहरूलाई भट्टीमा हाली पोलिएको खबर सुनेपछि कुरा के हो भनी आलमको घरमा समसुल मियाँ सोध्न पनि गएका थिए । जवाफमा आलमले ‘पछि तपाईंको घरमा आएर बताउँछु’ भनेर उनलाई फर्कादिएका थिए भने शेख सेराजले ओसी अख्तरको स्वेटर उनका ससुरा समसुललाई दिएका थिए ।

 त्यसैगरी, ओहिद मियाँ कवारीले २९ वैशाख २०६५ मा प्रहरीमा गरेको कागजमा विस्फोट भएको दिन ओसी अख्तर मियाँलाई आलम र शेख सेराजसमेतले मोटरसाइकलमा बसाई पश्चिमतर्फ लगेको देखेको हुँ भनी बयान दिएका थिए । प्रत्यक्षदर्शीहरू सहाजान खातुन, कलाम मियाँ र जफरुल मियाँले पनि ओसी अख्तर मियाँ र पिन्टुलाई इँटाभट्टामा लगी जलाई नष्ट पारेको हो भनी बयान दिएको अभिलेख छ । विस्फोटपछि घाइते भएका पिन्टु र ओसी अख्तरलाई इँटाभट्टामा लगेर लगाएको प्रत्यक्ष देखेको बयान दिनेमा स्थानीय राजेशप्रसाद सहनी पनि छन् । 

उनले प्रहरीसँगको बयानमा भनेका छन्, ‘म राजा इँटा उद्योगमा काम गर्थें, मिति २०६४/१२/२७ गते राति विस्फोट, मानिसहरूको खेलाबैला, चिच्याहट भागदौड र ट्र्याक्टरको आवाजका कारण मेरो निद्रा खुल्यो, उठेर हेर्दा बद्री सहनीलाई पनि देखें र निजलाई देखेपछि मलाई पनि त्यहाँ गएर बुझ्न मन लाग्यो र गएँ, नेता मोहम्मद आफताब आलम, निजका भाइ मोहम्मद महताब आलमलगायत मानिसहरू थिए । ट्र्याक्टरमा मानिसहरूलाई बोरामा हालेर ल्याएका रहेछन्, बद्री सहनी पनि ट्र्याक्टरमा सँगै आएका रहेछन्, हामीलाई त्यहाँबाट हट्न भनिएकाले म केही पर गएँ, बोरामा ल्याएका मानिसहरूलाई पालैपालो निकालेर इँटा पकाउने भुङ्ग्रोमा हाल्न लागे, कति मानिस थिएँ संख्या भन्न सक्दिनँ, कोही जिउँदै पनि हुनुपर्छ किनकि बोरामा चलमलाएको मैले देखेको हुँ । बद्री सहनीसमेत जलाउने काममा प्रत्यक्ष सहभागी बनेका थिए ।’

तत्कालीन प्रहरी निरीक्षक हाल प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले पनि विस्फोट भएको देखेको प्रतिवेदनमा उल्लेख गरेका छन् । संविधानसभाको निर्वाचनका क्रममा उनी सुरक्षार्थ खटिएका थिए । गस्तीका क्रममा आफू राजपुरमा रहेको बेला पश्चिमतर्फबाट ठूलो धमाकासहित विस्फोटको आवाज आएको र हेर्दा ठूलो कालो धूवाँको मुस्लो देखिएको उनले बताएका छन् । 

‘इलाका प्रहरी कार्यालय राजापुरबाट त्यो ठाउँ १/२ किलोमिटर दूरीमा थियो, त्यसपछि तत्कालै म मोबाइल टोलीलाई लिएर घटनास्थलतर्फ हिँडे,’ उनको बयानमा छ, ‘गेटबाट केही पर मात्र पुगेको थिएँ, जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख, प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेले सञ्चार सेटमा मलाई कल गरी तुरुन्त जिल्ला प्रहरी कार्यालयमा आउनु भनी आदेश गर्नॅभयो, मैले बम विस्फोट भएको सुनिएको र त्यसतर्फ गइरहेका छौं भनी रिपोर्टिङ गर्दा प्रमुखज्यूले त्यता अर्कै टोली पठाउँला तपाईं तुरुन्तै जिल्ला प्रहरी कार्यालय आउनुहोस् भन्ने आदेश गर्नॅ भएकाले म जिल्ला प्रहरी कार्यालयमा फर्किएको हुँ । पछि क्षेत्र नं.२ का उम्मेदवार मोहम्मद आफताब आलमको घर कम्पाउन्डमा रहेको खलिहान गोठघरमा बम विस्फोट भएको भन्ने सुनेको हुँ ।’

Silence of the Judiciary on Alam's (a) judgment

घटनास्थल आसपास छिमेकीहरू हरिनारायण साह, परीक्षण साह तेली, शंकर साह तेली, गेनालाल साह कानु, मेवालाल राय यादव, शिव साह कानु, धरिछन साह तेली, रामसोगारथ यादव, रविकुमार, सुनर राय, उदयनारायण साह र रामबहादुर साहले पनि प्रहरीसमक्ष घटना विवरण कागज गर्दा इद्रिसको घरमा विस्फोट भएको देखेको बयान दिएका छन् । 

प्रहरीसमक्ष उनीहरूको सामूहिक बयान छ, ‘के भएछ भनी हामी त्यहाँ जाँदा गोठको छाना, दिवाल भत्केको थियो, १५/१६ जना घाइते थिए, १/२ जना मरेका थिए, कसैको आँखा–कान थिएन, कसैको टाउको, हातखुट्टा थिएन, घाइते पिन्टु भन्ने त्रिलोक प्रताप सिंह राजपुतको बायाँ खुट्टा, दायाँ हात, बायाँ कान थिएन, ओसी अख्तर मियाँको बायाँ हात थिएन, घाइतेहरू सबै छटपटाइरहेका थिए । मोहम्मद आफताब आलम, मोहम्मद महताब आलम, शेख सेराज, शेख भदई, मोहम्मद मोबिन, फजले हक, सगिर आलम, शेख जुमई भन्ने शेख मलकारसमेतले घेरा हाली कसैलाई आउन नदिई २/३ जनाले घाइतेहरूलाई सुई लगाउँदै थिए । उनीहरूले हामीलाई त्यहाँबाट भगाए, भगाए पनि लुकेर हेर्‍यौं । मरेका र घाइते भएकाहरूलाई समेत उनीहरूले जुटको बोरामा हाली मोहम्मद महताब आलमकै ट्र्याक्टर ट्रलीमा लोड गरी गौरीशंकर साहले ट्र्याक्टर चलाई निज आलमहरूको भान्जा नाताका व्यक्तिको राजा इँटा उद्योगमा लगी बद्री सहनीलगायत सबै प्रतिवादीहरूले मृतक र घाइतेहरूलाई इँटा पोल्ने चिम्नी भट्टाको भुङ्ग्रोमा हाली जलाएका हुन् ।’

त्यस्तै, उक्त विस्फोटका घाइते सफी अहमद र गौरीशंकर लाल चमारको घाउ त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विभागमा जाँच गराउँदा उनको शरीरमा रहेका खतहरूको सम्भावित कारण विस्फोट हो भनी चिकित्सकले निदान पत्रमा लेखेका छन् । घटना भएको १८ वर्ष पुगिसक्दा पनि जलाएर मारिएका भनिएका पिन्टु र ओसी अख्तर कतै देखिएका छैनन् । यी सबै साक्षी प्रमाणलाई अनदेखा गरेर जिल्ला अदालतको फैसला उल्ट्याएपछि सर्वोच्चमा झैं नेपाल बारमा पनि यसबारे छलफल भएको थियो । तर, रञ्जन कोइराला छुट्दा सडकमा उत्रिएको बार यस पटक भने प्रतिक्रिया नजनाउने पक्षमा छ । 

‘हरेक मुद्दामा बार बोलिरहनु जरुरी छैन,’ बारका महासचिव केदारप्रसाद कोइरालाले भने, ‘रञ्जनको मुद्दा सर्वोच्चबाट भएको हुनाले त्यो अन्तिम थियो र हामी बोल्यौं, तर आलमको मुद्दामा सर्वोच्चले हेर्न बाँकी नै छ, त्यसमाथि न्यायपरिषद् छँदै छ भनेर हामीले यसबारे केही नबोल्ने निर्णय लिएका हौं ।’

०००

घनश्याम खड्का दुई दशकभन्दा बढीदेखि पत्रकारिता गरिरहेका छन् । उनी कान्तिपुरमा कानुन, न्याय, मानवअधिकार लागयतका बिटमा लेख्छन् ।

Link copied successfully