प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाँदै

राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिने

असार ३, २०८२

कान्तिपुर संवाददाता

Prime Minister Oli is going to Spain in the third week of June

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली असार तेस्रो साता स्पेन जाने भएका छन् । परराष्ट्र मन्त्रालयले उनको यात्राको तयारी गरिरहेको छ ।

संयुक्त राष्ट्रसंघले आयोजना गर्न लागेको विकासका लागि वित्तपोषण (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली स्पेन जान लागेका हुन् । 

मन्त्रालयले प्रधानमन्त्रीको स्पेन भ्रमणबारे हालसम्म औपचारिक रूपमा केही बताएको छैन । कुनै विशेष कारणले कार्यक्रममा फेरबदल नभएको स्थितिमा प्रधानमन्त्री ओली असार १५ मा स्पेन यात्राका लागि जाने निश्चित भएको मन्त्रालय स्रोतले जनाएको छ ।

सम्मेलन स्पेनको सेविला सहरमा असार १६–१९ (३० जुनदेखि ३ जुलाई) सम्म हुँदै छ । सम्मेलनको समाप्तिपछि २० असारमा फर्किने गरी प्रधानमन्त्रीको भ्रमण कार्यतालिका तयार गरिँदै छ । प्रधानमन्त्रीका साथमा परराष्ट्रमन्त्री आरजु राणा देउवासमेत रहने छिन् । भ्रमण दलका अन्य सदस्यहरूको भने अझै टुंगो लाग्न बाँकी छ । 

संयुक्त राष्ट्रसंघद्वारा अतिकम विकसित र विकासशील देशहरूको विकासका लागि आर्थिक स्रोत तथा सुविधाहरू उपलब्ध गराउन यस्तो सम्मेलनको आयोजना हुँदै आएको छ । यसअघि सन् २००२, २००८ र २०१५ मा तीन वटा यस्ता सम्मेलनका आयोजना गरिएको थियो । सम्मेलनका क्रममा विभिन्न देशका सरकार, अन्तर्राष्ट्रिय र क्षेत्रीय संगठन, वित्तीय र व्यापार संस्थान, नागरिक समाज र संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूले विकासका लागि वित्तपोषण र बलियो अन्तर्राष्ट्रिय सहायतासम्बन्धी विभिन्न सत्रमा छलफलमा सहभागी हुनेछन् । 

दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि वित्तीय स्रोत जुटाउन सम्मेलनले भूमिका खेल्ने जनाइएको छ । सम्मेलनमा ५० भन्दा बढी राष्ट्राध्यक्ष, अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व बैंक, विश्व व्यापार संगठनसहित विभिन्न क्षेत्रीय वित्तीय संस्थाका प्रमुखहरूको सहभागिता रहनेछ । युनिसेफ, विश्व स्वास्थ्य संगठन जस्ता सहयोगी संस्थाहरूको उपस्थिति पनि सम्मेलनमा रहनेछ । 

नेपाल अतिकम विकसित राष्ट्र (एलडीसी) समूहको अध्यक्ष हो । प्रधानमन्त्री ओलीले त्यहाँ नेपालसँगै अतिकम विकसित राष्ट्रका नेताका हिसाबले समेत प्रतिनिधित्व गर्नेछन् ।

कान्तिपुर

Link copied successfully