काठमाडौँ — उद्यमशील कांग्रेसको आयोजनामा अहिले सरकारले ल्याएको बजेटको सन्दर्भमा ‘देशको अर्थतन्त्र र अगाडि बढ्ने बाटो’ विषयक अन्तर्क्रिया गरेको छ ।
सोमबार आयोजना गरिएको अन्तर्क्रिया कार्यक्रममा कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले अर्थशास्त्री र योदनाविदहरूसँग वर्तमान सरकारको बजेट, यस्को डेलिभरी र कांग्रेसले निभाउनुपर्ने भूमिकाबारे सुझाव समेत मागेका थिए ।
कोइरालाको प्रश्नहरू राखेर सुरू गरेको कार्यक्रममा देशको वर्तमान राजनीतिक अवस्था, बजेटको स्रोत, बजेटमा समेटिएका विषय र बजेट कार्यान्वयनको चुनौतीबारे गहन विश्लेषण भएको थियो । नेपालमा विशेष गरी रोजगारी सिर्जना कसरी गर्न सकिन्छ ? देशको अर्थतन्त्र सुदृढ गर्न युवाको भूमिका कस्तो हुनुपर्छ ? निजी क्षेत्रको लगानीका लागि नीतिगत सुधारका गर्न कस्तो कदम चाल्न आवश्यक छ ? बजेटले आम जनताको निराशा कसरी चिर्न सक्छ ? युवालाई स्वदेश फर्कने वातावरण बनाउन के गर्नुपर्छ ? भ्रष्टाचार नियन्त्रण गरी आर्थिक पारदर्शितालाई कसरी प्रभावकारी बनाउन सकिन्छ ? आदि विषयमा कोइरालाले विज्ञहरूसँग सुझाव लिए ।
कार्यक्रममा भ्रष्टाचार नियन्त्रण, पारदर्शिता, व्यावसायिक शिक्षा, लगानीमैत्री वातावरण र स्टार्टअपका मुद्दामा केन्द्रित हुन अधिकांश वक्ताले सुझाव दिएका थिए ।
