आज दिनभर देश-दुनियाँमा के-के भयो ?

असार २, २०८२

कान्तिपुर संवाददाता

What happened in the country and the world today?

काठमाडौँ — आज काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री धवल शमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

यस्तै, परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिएकी छिन् ।

त्यसका साथै प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । भिजिट भिसा प्रकरणमा संसदीय वा न्यायिक छानबिन समिति गठनको माग गर्दै रास्वपाले प्रतिनिधिसभाको आइतबारको बैठकमा पनि ‘वेल’ घेराउ र नाराबाजी गरेको थियो । आज दिनभर देश–दुनिँयामा के के भयो त ?

काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाका आरोपी राप्रपा महामन्त्री धवलशमशेर राणालाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । सोमबार न्यायाधीश शिवप्रसाद खनालको इजलासले राणालाई धरौटीमा छाड्न आदेश दिएको हो ।

०००

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग सोमबार सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिएका हुन् ।

०००

परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध र पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँगजानकारी लिएकी छिन् ।सोमबार परराष्ट्र मन्त्रालयमा मन्त्री राणासँग राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व र त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराएका थिए ।

०००

प्रमुख प्रतिपक्ष दल माओवादीबाट शक्ति बस्नेतले बोल्ने क्रममा रास्वपा सांसदहरू सदनमा नाराबाजी रोकेर मौन बसेका छन् । सत्ता पक्षका सांसद बोल्दा वेलमा नाराबाजी गरेका उनीहरू प्रमुख प्रतिपक्षीका सांसद बोल्दा भने मौन बसेका हुन् ।

०००

युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्लब वर्ल्डकप २०२५ मा उत्कृष्ट विजयी सुरुआत लिएको छ । लस एन्जलसमा आइतबार भएको खेलमा पीएसजीले दस खेलाडीमा सीमित एटलेटिको म्याड्रिडलाई ४–० ले हरायो ।

कान्तिपुर

Link copied successfully