काठमाडौँ — सभामुख देवराज घिमिरेले सदनमा जारी अवरोध हटाउने विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डोलप्रसाद अर्याल र प्रमुख सचेतक सन्तोष परियारसँग छलफल गरेका छन् ।
सोमबार सरकारी निवास बालुवाटरमा भएको छलफलमा दुई सातादेखि विपक्षीको अवरोधले सदन बन्धक भएको बताए । बजेटबारे व्यापाक छलफल गर्नुपर्ने बेला संसद अवरूद्ध हुँदा जनतामा गलत सन्देश गएको सभामुख घिमिरेको भनाइ थियो ।
‘विपक्षीले उठाएका मुद्दा गम्भीर छन्, त्यही भएर दुई सातासम्म संसदलाई सहमतिका लागि रोकेको हुँ । तर, अब रोक्ने अवस्था छैन । संसदको नेतृत्वका हिसाबले मैले संवैधानिक सीमालाई पनि ख्याल गर्नुपर्दछ’, उनले भनेका छन् ।
राष्ट्रिय सभाले ५ गतेभित्र प्रतिनिधिसभाबाट विनियोजन विधेयक पठाउन भनेको र सो अवस्थामा जुनसुकै हालतमा बजेट पारित गर्नैपर्ने भएकाले आन्दोलनको स्वरुप बदल्न रास्वपालाई अनुरोध गरेका छन् । त्यसका लागि आफूले सरकारसँग संवादका लागि आवश्यक सहजीकरण गर्ने बताएका छन् ।
यता रास्वपाले भने सदनमा उठाइएका विषय गम्भीर रहेको र सरकार यी मुद्दाहरुमा गम्भीर नरहेको बताएको छ । ‘हाम्रा माग र मुद्दामा सरकार गम्भीर नभएकाले संसद् अवरोध बाध्यात्मक भएको हो । अहिलेकै अवस्थामा हामी मुद्दाबाट पछाडि फर्कन सक्ने अवस्थामा छैनौं,’ रास्वपाले सभामुखलाई जवाफ दिएको छ ।
