काठमाडौँ — उच्च अदालत पाटनले पत्रकार दिलभूषण पाठकलाई धरपकड नगर्न आदेश दिएको छ । न्यायाधीश ऋषि राजभण्डारीको एकल इजलासले सोमबार पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।
'पाठकको निषेधाज्ञा निवेदनमाथि अल्पकालीन अन्तरिम आदेश जारी भएको छ । कानुनबमोजिमबाहेक धरपकड नगर्नू/नगराउनू भन्ने आदेश भएको छ । साथै असार ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ,' उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले इकान्तिपुरसँग भनिन् ।
प्रहरीको साइबर ब्युरोले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि पत्रकार पाठकले उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन दिएका थिए । जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो ।
