काठमाडौँ — तीन दिनदेखि जारी इजरायली आक्रमणका कारण इरानको राजधानी तेहरानको अवस्था अस्तव्यस्त बनेको छ । मानिसहरु शहर छाडेर भाग्न थालेका छन् ।
सीएनएनका अनुसार शहरका पेट्रोल पम्पमा कारहरुको लामो लाइन लागेको छ । मानिसहरु डराइरहेको र शहर छाडेर बाहिर जाने प्रयास गरिरहेको सीएनएनले जनाएको छ ।
तेहरानमा मात्र २ सयभन्दा बढीको मृत्यु भइसकेको स्थानीय अधिकारीलाई उदृत गर्दै सीएनएनले उल्लेख गरेको छ । एक स्थानीयले रोयटर्ससँग कुरा गर्दै कैयौं पटक लाइनमा लागेर पनि पेट्रोल नपाइएको बताएका छन् । इन्धन स्पालई सीमित बनाइएको छ ।
तेहरानका एक स्थानीयले भनेका छन्, ‘मानिसहरु बमबारीबाट बच्नका लागि कुनै सुरक्षित स्थान छैन । पूरै शहरमा कुनै सेल्टर छैन । जहाँ मानिसहरु गएर आफ्नो ज्यान जोगाउन सकुन् ।’
सैयौं मानिसहरु तहरानबाट क्यास्पियन सागरतर्फ गइरहेका छन् । यो क्षेत्र अन्यत्रभन्दा शान्त र दुर्गम हो । तर बाटोमा अत्यधिक जामका कारण त्यहाँ जान पनि मुस्किल भएको स्थानीयले बताएका छन् ।
जो मानिसहरु हतियार बनाइने क्षेत्रमा बस्छन् उनीहरुलाई तत्काल उक्त क्षेत्र खाली गर्न इजरायलले आइतबार चेतावनी दिएको थियो ।
तेलको मूल्यमा ७ प्रतिशत वृद्धि
इरान–इजरायल युद्धका कारण आइतबार तेलको मू्ल्यमा भारी वृद्धि भएको छ । इरानमा पछिल्लो साताको तुलनामा अहिले ७ प्रतिशत बढेको छ । अमेरिकामा तेलको मूल्यमा १ दशमलव २ प्रतिशतले बढेर ७३ दशमलव ८५ डलर प्रतिब्यारेल पुगेको छ । यस्तै अन्तर्राष्ट्रिय स्तरमा प्रयोग हुने ब्रेन्ट क्रूडको मूल्य १ प्रतिशतले बढेर ७५ डलर प्रतिब्यारेल पुगेको छ ।
सोमबार बिहान इजरायलको तटीय शहर हाइफमा ठूलो धमाका सुनिएको छ । केही संरचनामा क्षति पुगेको छ भने केही क्षेत्रमा आगलागी पनि भएको छ ।
इजरायली सरकारले यो आक्रमण इरानका तर्फबाट प्रहार गरिएका नयाँ मिसाइलका कारण भएको बताएको छ ।
इजरायललाई आफ्नो रक्षा गर्ने अधिकार छ : इयु
युरोपीय आयोगकी अध्यक्ष उर्सुला वान डेर लेयेनले आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताएकी छिन् ।
कुराकानीका क्रममा उनले भनिन्, ‘इरानको विषयमा कुराकानी र समझदारीबाट समस्याको समाधान गर्न सकिन्छ ।’ यद्दपी उनले युद्धविरामको अपील भने गरेकी छैनन् ।
साथै इरानसँग कुनै प्रकारको आणविक हतियार हुन नहुने बेन्जामिनको कुरामा आफू सहमत रहेको बताएकी छन् । आफूले गाजामा भएको आक्रमणको आलोचना पनि गरेको उल्लेख गरेकी छन् । यदि इरान अन्तर्राष्ट्रिय परमाणु नियमको पालना गर्दैन भने इजरायललाई पनि आफ्नो रक्षा गर्ने अधिकार रहेको उनको भनाइ छ ।
सोमबार इजरायलको एयरफोर्सले तेहरानमा रहेको कुद्स फोर्सको हेडक्वार्टरमा आक्रमण गरेको छ । गोप्य सूचनाका आधारमा आक्रमण गरिएको बताइएको छ ।
परिवारसँगै बंकरमा शिफ्ट भए खामेनेई
टाइम्स अफ इजरायलको रिपोर्ट अनुसार इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनेई तेहरानको उत्तर पूर्वी क्षेत्रमा एक बंकरमा शिफ्ट भएका छन् । उनी आफ्ना पारिवारिक सदस्यसहित बंकरमा पुगेका हुन् ।
यसअघि अप्रिल र अक्टुबर २०२४ मा इरानले इजरायलमाथि आक्रमण गरेका बेला पनि खामेनेईले यही बंकरमा शरण लिएका थिए ।
इजरायलमा सोमबार पाँच जना मारिए
इरानले इजरायलको बनी ब्राकमा पनि मिसाइल आक्रमण गरेको छ । यसमा ८० वर्षीय एक वृद्धको मृत्यु भएको छ । यसका साथै सोमबार इरानी आक्रमणमा परी इजरायलमा पाँच जनाको मृत्यु भएको छ ।
सोमबार बिहान इजरायलको पेताह तिकवामा चारवटा ब्यालेस्टिक मिसाइल इरानले प्रहार गरेको थियो । जसमा ४ जना मारिएका थिए भने ६७ जना घाइते भएका थिए ।
