विद्यालयमा गरिने खेतीपातीबाट प्राप्त आम्दानी विद्यार्थी कल्याणकारी कोषमा
गुल्मी — विद्यालय भन्नासाथ घण्टी बजेपछि कक्षाकोठामा पस्ने र घण्टी बजेकै सुनेपछि किताबकापी बोकेर निस्कने ठाउँ हो भन्ने आम बुझाइ छ । चन्द्रकोट गाउँपालिका दुई विद्यालयमा भने फरक अभ्यास छ । त्यहाँका विद्यार्थी किताबकापी बोकेर कक्षाकोठामा छिर्छन्, साँझ घर फर्कन्छन् नै, त्यसबाहेक कृषिकर्म पनि गर्छन् ।
चन्द्रकोट–१ सराङस्थित शारदा माध्यमिक विद्यालय र वडा नं ५ को ग्वाघा माध्यमिक विद्यालयमा विद्यार्थीले स्कुस, लसुन, च्याउ, सिमी, बोडी र अकबरे खुर्सानीको खेती गरिरहेका छन् । ती विद्यालय प्राविधिक धार तर्फका भने होइनन् । शारदा माविमा कक्षा ८ देखि १२ सम्मका ८० विद्यार्थी र ग्वाघा माविका १ सय विद्यार्थी कृषिकर्ममा संलग्न छन् ।
शारदा माविले १ रोपनी जग्गामा अकबरे खुर्सानी, लसुन र च्याउ खेती गरेको छ । विद्यार्थीलाई सहभागी गराएर विद्यालयको खाली जग्गा प्रयोगमा ल्याइएको प्रधानाध्यापक विष्णुप्रसाद सुवेदीले बताए । ‘सिकाइसँगै सीपको अवधारण ल्याएका हौँ,’ उनले भने, ‘यसले विद्यार्थीमा उत्साह थपेको छ ।’
कृषि कर्मको आम्दानीबाट विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको उनले जानकारी दिए । त्यसबाट विद्यार्थीलाई पुरस्कार पनि प्रदान गरिन्छ । शारदा माविले गत वर्ष ६ क्विन्टल अकबरे खुर्सानी र डेढ क्विन्टल लसुन बिक्री गरेको थियो । शारदा माविवे कक्षा ८ देखि १२ सम्मका विद्यार्थीलाई घरमा रोप्न बिरुवा पनि प्रदान गरेको छ । ती बिरुवा हुर्काउने र फलाउने जिम्मेवारी विद्यार्थीकै हुन्छ ।
शारदा माविमा कक्षा ८ मा अध्ययनरत विभूति सापकोटाले विद्यालयमा पढाइबाहेकको सीप सिक्न पाएकामा खुसी लागेको बताइन् । ‘विद्यालयमा समूहमा काम गर्न पाउनु पनि हाम्रा लागि राम्रो अवसर हो,’ उनले भनिन् । सोही द्यिालयमा कक्षा ११ मा अध्ययन गर्ने शान्ति गौतमले विद्यालयमै सिकाइलाई सीपसँग जोड्न पाइरहेको सुनाइन् । अर्का विद्यार्थी रोशन श्रीपालीले विद्यालयमा गरेको कृषिकर्मका कारण आफूमा व्यावसायिक खेती गर्ने रहर जाग्न थालेको बताए ।
ग्वाघाले पौने २ रोपनी जग्गामा अकबरे खुर्सानी, सिमी, बोडी र अदुवा खेती गरेको छ । ‘किताबमा मात्रै केन्द्रित गर्दा विद्यार्थीलाई बोझ हुन्छ,’ प्रधानाध्यापक प्रकाश थापाले भने, ‘सिकाइ, सहजता र आम्दानी हेरेर खेतीतर्फ लागेका हौँ ।’ कृषिकर्मबाट प्राप्त आम्दानीलाई विद्यार्थी हकहितमा प्रयोग गर्न विद्यार्थी कल्याणकारी कोष स्थापना गरिएको उनले जानकारी दिए । विद्यालयको सीपले घरमा पनि व्यावसायिक खेती गर्न विद्यार्थीलाई प्रेरणा मिलेको उनको भनाइ छ ।
ग्वाघा माविमा कक्षा १० अध्ययनरत सुर्लभ कार्कीका बुबा कृष्णबहादुरले कृषि कर्ममा छोराले देखाएको चासोबाट आफू प्रभावित भएको सुनाए । ‘विद्यालयमै कृषिकर्म सुरु भएपछि छोरा खेतीपातीमा प्रोत्साहित भएको छ,’ उनले भने, उसले अहिले घरमै किबी, च्याउ, अकबरे खुर्सानी, प्याज, टमाटर र मौसमअनुसारका तरकारी खेतीमा सहयोग गरिरहेको छ ।’
चन्द्रकोट गाउँपलिका अध्यक्ष युवराज केसीले विद्यालय र विद्यार्थीलाई व्यावहारिक ज्ञानमा पालिकाबाट प्रोत्साहन गरिएको जानकारी दिए ।
