सानो पाइला सहकारी ठगीमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता

कुल २ अर्ब ३० करोड १४ लाख अपचलन गरेको ठहर,  लामिछानेलाई ११ करोड ५६ लाख बिगो मागदाबी

असार २, २०८२

शंकर आचार्य

A case has been registered against 29 people including Lamichhane in small step cooperative fraud

पर्सा — वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा रास्वपा सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा सहकारी ठगी तथा संगठित अपराधमा पूरक मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ अपचलन गरेको ठहर गर्दै उनीहरू विरुद्ध शुक्रबार जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो ।

अभियोगपत्रमा हाल थुनामा रहेका पूर्वगृहमन्त्री लामिछानेसँग ११ करोड ५६ लाख ९४ हजार रुपैयाँ बिगो मागदाबी छ । सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० लाई टेकेर अभियोगपत्र दर्ता भएको छ । सहकारी ऐन २०७४ को दफा १२४ अनुसार १० करोडभन्दा बढी १ अर्बसम्म बिगो भएकाले लामिछानेलाई ६ देखि ८ वर्ष कैद सजाय मागदाबी गरिएको छ ।

यसबाहेक उनीमाथि संगठित अपराध निवारण ऐनबमोजिम थप सजायसमेत माग गरिएको छ । उनलाई उक्त ऐनको दफा (९) को (ख) अनुसार अतिरिक्त ५० प्रतिशत थप सजाय र दफा (९) को (ग) अनुसार पाँच वर्षसम्म कैद र पचास हजारसम्म थप जरिवाना पनि हुन सक्छ ।

वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको अनुसन्धान सकेर करिब एक महिनाअघि पर्सा प्रहरीले सरकारी वकिल कार्यालयलाई प्रतिवेदन बुझाएको थियो । सरकारी वकिल कार्यालयले सहकारीको बचत अपचलन मुद्दामा उनीहरू विरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

सोही मुद्दामा नेपाल प्रहरीका पूर्वडीआईजी तथा गोर्खा मिडिया नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग ७ करोड २० लाख बिगो, बिगोबमोजिम सजाय र जरिवाना तथा संगठित अपराध नियन्त्रण ऐनअनुसार थप सजायसमेत माग गरिएको छ । प्रहरी अनुसन्धानबाट सानो पाइला सहकारीबाट गोर्खा मिडिया प्रालिमा १० करोड ६ लाख ९४ हजार र नेचर हर्ब्स इन्डस्ट्रिज प्रालिमा ९५ लाख ९८ रुपैयाँ स्थानान्तरण भएको पाइएको छ । 

वीरगन्ज–६ आदर्शनगरमा कार्यालय स्थापना गरी सञ्चालन गरिएको सानो पाइला सहकारीले ५ हजार ८ सय ७३ बचतकर्ताको कुल २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय रुपैयाँ २९ पैसा अपचलन गरेको अभियोगपत्रमा उल्लेख छ । 

२१ साउन २०८० मा नाजनिन बेगमसहित ५२ बचतकर्ताले आफूहरूको ४ करोड ३४ लाख २४ हजार २३ रुपैयाँ सानो पाइला सहकारीले अपचलन गरेको दाबीसहित जिल्ला प्रहरी पर्सामा जाहेरी दिएका थिए । त्यसपछि विशाल सहनी गोढीलगायत २ सय ७ बचतकर्ताले आफूहरूको ४ करोड ५८ लाख १४ हजार ४ सय २१ रुपैयाँ अपचलन भएको दाबीसहित २२ भदौ २०८० मा जाहेरी दिएका थिए । पछि २ फागुन २०८१ मा मनीषकुमार सिस्कासमेत १ सय ७९ बचतकर्ताले २४ करोड ५८ लाख ३१ हजार ९ सय २८ रुपैयाँ अपचलन भएको दाबीसहित जाहेरी दिएका थिए ।

सानो पाइला सहकारीबाट स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था एक्लैको खातामा १ अर्ब १५ करोड ९१ लाख ४४ हजार ३ सय ९५ रुपैयाँ ‘ट्रान्सफर’ भएको पाइएको छ । सानो पाइला सहकारीको हकमा सुरुमा जाहेरी दर्ता भएपछि प्रहरीले सहकारीको रकम अपचलनमा मात्र अनुसन्धान गरेकामा पछि संसदीय छानबिन समितिको प्रतिवेदनअनुसार संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरेको थियो । 

प्रहरीले सहकारीको लेखा परीक्षण प्रतिवेदन, डे बुक, भौचर, ‘जीसीएस’ नामक सफ्टवेरलगायत संकलन गरी सूक्ष्म अनुसन्धान गरेको थियो । सानो पाइला सहकारीका संस्थापक अध्यक्ष गीतेन्द्रबाबु राई हुन् । उनी गोर्खा मिडिया नेटवर्कका पनि अध्यक्ष हुन् । उनी २० पुस २०७० देखि २२ भदौ २०८० सम्म यो सहकारीका अध्यक्षका रूपमा कार्यरत थिए । सहकारीमा अनन्तबाबु राई, नेहा पौडेल र सुनित श्रेष्ठ उपाध्यक्ष छन् । भूपेन्द्र राई, तस्विरन मियाँ र देवेन्द्रबाबु राई सचिव रहेका छन् ।

उनीहरूले निश्चित अवधिसम्म पदाधिकारीमा बसेर जिम्मेवारी छोडेको देखिएको छ । यस्तै, सृष्टि मानन्धर र कुमार रम्तेल कोषाध्यष, सुनित श्रेष्ठ उपाध्यक्ष, असरफ अली सिद्दिकी प्रबन्धक, थानबहादुर बुढा मगर, धिरजकुमार दास, अशोक यादव, देवेन्द्रबाबु राई, राधेचन्द्र यादव सदस्य छन् । त्यसैगरी सागर केसी लेखा समिति सदस्य र संयोजक, प्रमोद भट्टराई, मनीषा पाण्डे र सञ्जु नेवा पनि लेखा समिति सदस्य रहेका छन् । 

यसअघि २३ असोज २०८० मा पहिलो पटक र २ फागुन २०८१ मा थप अभियोगपत्र अदालतमा दर्ता गरिएको थियो । त्यसबेला अभियोग दर्ता भएकामध्ये राधेचन्द्र यादव, नेहा पौडेल, अनन्तबाबु राई, देवेन्द्रबाबु राई, गीतेन्द्रबाबु राई, असरफ अली सिद्दिकी, तस्विरन मियाँ, सृष्टि मानन्धर, थानबहादुर बुढा मगर, धिरजकुमार दास, सुनित श्रेष्ठ र अशोक यादव गरी १२ जना फरार छन् । कुमार रम्तेल मात्र थुनामा छन् ।

 सहकारी ठगी तथा संगठित अपराध मुद्दामा गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वसञ्चालक/सेयरधनी तथा नेचर हर्ब्स इन्टरनेसनल प्रालिका पूर्वसञ्चालक/सेयरधनी छविलाल जोशी र गोर्खा मिडिया प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने, सानो पाइला बचत सहकारीका पूर्वलेखा सुपरिवेक्षक प्रमोद भट्टराई र नेचर हर्ब्स इन्टरनेसनल प्रालिका सञ्चालक/सेयरधनी रामबहादुर खनाल थुनामा छन् । 

उनीहरूले सानो पाइला सहकारी संस्थामा सर्वसाधारणले जम्मा गरेको बचत रकम, सहकारीले विभिन्न शीर्षकमा गरेको आम्दानी रकम, सहकारीको जगेडा कोषमा रहेको रकम र इन्टर बैंक ट्रान्जेक्सन (आईटीबी) मार्फत अन्य सहकारीबाट ल्याएको रकमसमेत गरी २ अर्ब ३० करोड १४ लाख २९ हजार ८ सय २९ रुपैयाँ आफू र आफ्ना नजिकका अन्य व्यक्तिका नाममा, आफूहरूले सञ्चालन गरेका कम्पनीहरू तथा विभिन्न सहकारीमा समेत रकम लग्ने, परिचालन गर्ने गरेको देखिन आएको अभियोगपत्रमा दाबी गरिएको छ ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Link copied successfully