काठमाडौँ — प्रतिनिधिसभाकाे आज ११ बजे बाेलाइएकाे बैठक अहिलेसम्म पनि सुरु हुन सकेको छैन । यसअघिको बैठकमा 'वेल' घेराउमा पुगेको रास्वपा अब सदनमा कसरी अगाडि बढ्ने भन्नेबारे छलफलमा जुटेको हाे ।
सभामुख देवराज घिमिरेसँगको छलफलपछि रास्वपा पार्टी बैठकमा रहेकाे छ । सभामुख सचिवालयका अनुसार रास्वपाले आफ्नो पार्टीको बैठक सकिएपछि सदन सुरु गर्न आग्रह गरेको हाे ।
'रास्वपाकाे बैठक चलिरहेको छ, केही समय पर्खन भनेकाले सदनको बैठक ढिला भएको हाे,' सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय नेतृत्व संलग्न रहेकाले संसदीय वा न्यायिक समिति गठन गर्नुपर्ने रास्वपाले माग गर्दै आएकाे छ । गृहमन्त्री रमेश लेखकले सदनमा बाेल्दा शुक्रबार रास्वपाले वेल घेराउ गरेको थियाे ।
