माओवादीले धोका दियो, हामी एक्लै भएपनि सुशासनको पक्षमा उभिन्छौँ : रास्वपा प्रमुख सचेतक परियार

असार १, २०८२

कान्तिपुर संवाददाता

Maoists cheated, even if we are alone we will stand for good governance: RSVP Chief Whip Pariyar

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले दुई बुँदे सहमतिको नाममा प्रतिपक्षी दलहरुलाई धोका दिएको बताएका छन्। उनले रास्वपा एक्लै हुँदा पनि सुशासनको पक्षमा उभिने दाबी गरे।

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले रास्वपाले भिजिट भिसा र अध्यागमनको विषयलाई लिएर आन्दोलन गरिरहेको र प्रतिपक्षको तर्फबाट माओवादीले गरेको सहमति झारो टार्ने काम भएको बताए।

सरकारले मानव बेचबिखनको मुद्दालाई गम्भीरताका साथ नलिएको बताए। सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई नभएको गुनासो रास्वपाको छ । उनले भने, ‘रास्वपा भिजिट भिसा र अध्यागमनको प्रकरणमा आन्दोलनमा छ । हामीले लामो प्रयास गरेका छौँ, निकै दिन संवाद गरेका छौँ । र पनि सरकारले त्यो मुद्दा गम्भीरताका साथ मुद्दा लिएन । सुशासनमा एउटा कदम अघि बढौँ भन्दा कुनै सुनुवाई भएन । प्रमुख प्रतिपक्षले गरेको सहमति ठोस र कार्यान्वयन गर्ने र न्याय दिने हिसावमा भएन । जुन तहको छानविन हुनुपर्ने हो त्यो अनुसार हुन सकेन । झारो टार्ने काम र हामीलाई झुक्याउने काम भयो । रास्वपाले सहमति गरेन । सभामा विवेक चाहिन्छ ।’

उनले गृहमन्त्रीको राजीनामाबाट आफूहरु पछि नहटेको बताए। सदनको काम कारबाहीमा रास्वपा जिम्मेवार रहेको बताए। आफूहरुले बुझाएका पाँच बुँदामा सहमति र उच्चस्तरीय छानविन समिति नबनाएसम्म सदन चल्न नसक्ने बताए। 

कान्तिपुर

Link copied successfully