संसद् अवरुद्ध पारेर रास्वपाले अशोभनीय व्यवहार देखायो, अब अल्झिएर बस्दैनौँ : मुख्य सचेतक बर्तौला

असार १, २०८२

कान्तिपुर संवाददाता

By disrupting the Parliament, the RSVP showed indecent behavior, we will not be entangled anymore: Chief Whip Bertaula

काठमाडौँ — सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संसद् अवरोध गरेर जनताका मुद्दाबाट पन्छिने राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैलीमा अल्झिएर बस्न नसकिने बताएका छन्। 

सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले संसद्लाई लामो समय अनिर्णयको बन्धी बनाउन नसकिने भन्दै रास्वपाले जनताका मुद्दा संसद्मा राख्न नदिने काम गरिरहेको बताए।

उनले संसद् आजबाट आफ्नो नियमावलीअनुसार अघि बढ्ने बताए। शोक प्रस्ताव राख्दा पनि वेल घेराउ गरिरहनु शहीदप्रतिको अपमान भएको उनले जिकिर गरे। सरकारी बिजनेसमाथिको विरोध गर्नु जायज भएपनि शोक प्रस्ताव राख्दा समेत विरोध गर्नुले संसद्को मर्यादा गिराएको उनको भनाइ छ। अशोभनीय व्यवहार र प्रवृत्ति संसदमा देखिनु राम्रो नभएको उनले बताए।

उनले भने, ‘संसद्मा लामो समयसम्म यस प्रकारको अवरोध मात्रै कायम राखिरहने, यस प्रकारको मनसायबाट हिँडिरहने उहाँहरुको कार्यशैलीमा हामी सधैँ अल्झिन सक्दैनौँ । हाउस आफ्नो विधानबमोजिम अघि बढ्छ । आजदेखि हाउस नियमित प्रक्रियाबाट अघि जान्छ । सभामुखज्युले शोक प्रस्ताव राख्दा पनि उहाँहरु वेल घेराउको क्रममा रहनुभयो । त्यो प्रक्रिया सामान्यतया एउटा शोक प्रस्ताव भनेको एउटा सम्मान हो । त्यतिबेला उहाँहरुले आसन ग्रहण गर्नुपर्दथ्यो । वेल घेराउ भनेको त सरकारी बिजनेसमाथिको विरोध हो । सरकारी बिजनेस कार्यसूचिबाट हटिसकेपछि पनि वेल घेराउ गर्ने, प्लेकार्ड बोकेर वेल घेराउमा बस्ने । डायरीले टेबल ठटाउने जस्ता अशोभनीय व्यवहार गर्नुभयो । यस्तो प्रवृत्ति संसदमा देखिनु राम्रो होइन ।’

प्रमुख सचेतक बर्तौलाले संघीय निजामति लगायतका महत्वपूर्ण विधेयकहरु आजको संसद् बैठकबाट अघि बढाइने जानकारी दिए। 

कान्तिपुर संवाददाता

Link copied successfully