संसद् अवरुद्ध गर्नु भनेको जनताको अधिकार बन्धक बनाउनु हो : कांग्रेस प्रमुख सचेतक घिमिरे

असार १, २०८२

कान्तिपुर संवाददाता

Blocking Parliament means holding people's rights hostage: Congress Chief Whip Ghimire

काठमाडौँ — नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिशोध राखेर संसद्‌मा विरोध गरिरहेको बताएका छन्। सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

उनले सहमतिमा आइसकेपछि पनि प्रतिशोध राखेर संसद अवरुद्ध गरिनु राम्रो नरहेको बताए। उनले रास्वपाले समय तोकेर अनुसन्धानको प्रक्रिया अघि बढाउने माग राखेको र गृहमन्त्री रमेश लेखकले संसदमा सम्बोधनका क्रममा एक महिनाभित्र प्रक्रिया अघि बढाउने बताइसकेपछि पनि संसद् अवरुद्ध पार्नु राम्रो नभएको जिकिर गरे। 

उनले भने, ‘उहाँहरुले आफ्नो पार्टीको आफ्नो धारणाहरु राख्न पाइएला । यसमा हामीले केही भन्नु छैन । उहाँहरु पनि लगभग सहमतिमा आउनुभएको विषय थियो । उहाँहरुले टाइम तोकियोस् भन्नुभएको थियो । गृहमन्त्रीले पछि बोल्दा म ३० दिन भित्रमा कार्य प्रारम्भ गर्छु भन्नुभयो । टाइमफ्रेम पनि तोकिदिनुभयो । अब चाहियो के ? उहाँहरुले विशुद्ध रुपमा आफ्नो सभापतिसँग जे भयो त्यो आरोप गृहमन्त्रीमाथि लगाएर उहाँहरुले प्रतिशोध लिन खोज्नुभएको हो भन्ने बुझ्न गाह्रो भएन । यसमा अरु केही कुरा भएन ।’

प्रमुख सचेतक घिमिरेले प्रतिशोध साध्ने हिसावले संसद्लाई प्रयोग गर्न नमिल्ने बताए। उनले संसद्लाई अवरुद्ध गर्नु र बन्धक बनाउनु भनेको सार्वभौम आम जनताको अधिकार बन्धक बनाउनु रहेको बताए। 

कान्तिपुर

Link copied successfully