काठमाडौँ — माओवादी उपमहासचिव वर्षमान पुनले भिजिट भिसामार्फत भएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकले नैतिकता प्रदर्शन नगरेको टिप्पणी गरेका छन् । पार्टी सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीको राजधानीमा आयोजित प्रशिक्षण कार्यक्रममा पुनले नैतिकता प्रदर्शन व्यक्तिको निजी सवाल भएको बताए ।
आफूहरुले नैतिकताका आधारमा राजीनामा दिन भने पनि गृहमन्त्री लेखक तयार नभएको उनको भनाइ थियो । ‘मानव तस्करीजस्तो जघन्य घटनामा नाम जोडिएपछि हामीले गृहन्त्रीलाई नैतिकताका आधारमा राजीनामा गर्नुस् भनेका हौं,’ पुनले भने, ‘अरुले सुझाव दिने हो, नैतिकता व्यक्तिले महसुस गर्नुपर्ने कुरा हो ।’
आफूहरुको मागअनुसार सरकारका तर्फबाट भिजिट भिसाका नाममा भएको अनियमितता रोक्ने र दोषीहरुमाथि छानबिन गर्ने प्रतिबद्धता आएपछि संसदको अवरोध हटाउन तयार भएको उनको भनाइ थियो ।
पुनले न्यायिक समिति वा उच्चस्तरीय समिति जे नाम दिए पनि सरकारले नै गठन गर्ने भएकाले सरकारसँग भएको दुईबुँदे सहमतिबारे फैलाइएका भ्रममा नपर्न पार्टी पंक्ति र सर्वसाधारणमा आग्रह गरे । गृहमन्त्री लेखक पनि त्यस्तो समितिको छानबिन दायराभित्रै रहने पनि उनले उल्लेख गरे । ‘अध्यागमनका सहसचिव र गृहमन्त्रीको सचिवालयका मानिसहरुको मानव तस्करीमा संलग्नता देखिएको छ । मन्त्रीको सचिवालयका केही कर्मचारीको पृष्ठभूमि नै मानव तस्करीसँग जोडिएको प्रष्ट भइसक्यो’, पुनले भने, ‘एक महिनाभित्र गठन हुने भनिएको छानबिन समितिले गृहमन्त्रीमाथि पनि छानिबन गर्छ ।’
विगतदेखि नै भिजिट भिसाका नाममा ठगी हुने गरेको विषय बहसमा आएपछि यसअघिका प्रकरणमा पनि समितिले छानबिन गर्ने सहमति सत्तापक्ष र आफूहरुबीच भएको पुनले सुनाए । पुनले एक महिनाभित्र सरकारले छानबिन समिति बनाएर निष्पक्ष छानबिन गरी मानव तस्करीमा संलग्नहरुलाई कारबाहीको दायरामा नल्याए फेरि संघर्षमा उत्रते चेतावनी दिए ।
फरक प्रसंगमा पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि केही दिनभित्र आफूहरुले गरेको सहमतिमा आउने विश्वास व्यक्त गरे । रास्वपाले पनि गृहमन्त्रीको राजीनामाको विषयलाई एजेन्डाका रुपमा अघि नसारेको भन्दै उनले छानबिन हुनुपर्ने एजेन्डासहित आफूहरुले मिलेरै संसद अवरोध गरेको स्पष्ट गरे । ‘रास्वपाका साथीहरुले प्रतिपक्षमा हुँदा पनि सत्तापक्षले हामीमाथि प्रतिशोध राखेको हुनाले केही दिन अझै हामी विरोध गर्छौैं भन्नुभएको छ,’ पुनले भने, ‘उहाँहरुले पनि गृहमन्त्रीको राजीनामा भन्नुभएको छैन । छानबिन समिति गठनकै कुरा गर्नुभएको छ ।’
दुई बुँदे सहमतिलाई लिएर विभिन्न टीकाटिप्पणी भएकोबारे जानकार रहेको भन्दै पुनले आफूहरुको यो परीक्षा भएको बताए । ‘तीन पार्टी एकै होइन, हामी फरक हौं भन्ने विभिन्न घटनाक्रमले पुष्टि गरेको छ’, उनले भने, ‘यो हाम्रो पनि परीक्षा हो । जनताबाट विभिन्न किसिमका आवाज उठेका छन् । त्यसको प्रतिनिधित्व हामी गरिराख्छौं ।’
