काठमाडौँ — कांग्रेस नेताहरूले अपाङ्गता भएका व्यक्तिहरूको हकहितका लागि कांग्रेस प्रतिबद्ध रहेको बताएका छन्। नेताहरूले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चितताका लागि कांग्रेसले संविधान र कानुन निर्माणमा समेत ध्यान पुर्याएको भन्दै पार्टीमा समेत प्रतिनिधित्व बढाउनका लागि विधानमा आवश्यक प्रबन्ध गर्नुपर्ने बताए।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घले शुक्रबार सानेपामा गरेको कार्यक्रममा बोल्दै सभापति शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिहरुको हकहितका लागि पार्टी प्रतिबद्ध रहेको बताए। उनले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र प्रतिनिधित्व सुनिश्चत गर्नका लागि पार्टीको विधानमा आवश्यक संशोधनका लागि समेत आफू तयार रहेको बताए।
उक्त अवसरमा सभापति देउवाले संघको स्मारिका एवम् राजनीतिक अधिकार सहजीकरण पुस्तिका २०८२ को विमोचन गरे । कार्यक्रममा नेता मिनेन्द्र रिजालले अपाङ्गता संवेदनशील विषय भएकाले पार्टीले गम्भीर भएर लिनुपर्ने बताए। सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले संविधानमा अपाङ्गता भएका व्यक्तिहरुको हकहितबारे स्पष्ट व्यवस्था भएपनि व्यवहारमा भने अझैपनि समस्याहरू रहेको बताइन्।
उद्घाटनपछि प्रशिक्षण सत्रमा नेता मधु आचार्यले 'नेपाली कांग्रेस र समावेशी राजनीति' विषयमा प्रस्तुति दिएका थिए । उनले पार्टी स्थापनाको चरणदेखि नै समावेशी राजनीतिमा जोड दिइरहेको उल्लेख गरे । उनले अब अपाङ्गता भएका व्यक्तिहरूले पनि समान अवसर पाउनु पर्नेमा जोड दिँदै विश्वका देशहरुमध्ये नेपालमा तुलनात्मक रूपमा अवसर पाएको पनि उल्लेख गरे ।
त्यस्तै, केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले सामाजिक सञ्जालको प्रयोग र उपयोगिताबारे प्रस्तुति दिए । उनले सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत हुन आग्रह गर्दै कस्ता सूचना शेयर गर्ने र कस्ता सूचना गलत हुन्छन् भनी जानकारी दिए ।
त्यस्तै, लोकतान्त्रिक अपाङ्ग संघका पूर्व अध्यक्ष एवं पूर्व सांसद प्रकाश पन्थले अपांगता भएका व्यक्तिको राजनीतिक अधिकारका बारेमा प्रस्तुति दिए । उनले अहिलेसम्म अपाङ्गता भएका व्यक्तिहरूले हासिल गरेका उपलब्धि र पाउन नसकेका अधिकार केलाएका थिए ।
राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले खराब मौसम र असहज परिस्थितिबीच पनि दुई सय भन्दा बढी अपाङ्गता भएका व्यक्तिहरू कार्यक्रममा सहभागी हुनुले नै उनीहरूको राजनीतिक चेतनामा वृद्धि भएको स्पष्ट भएको भन्दै अब आफ्नो हकका लागि सबैले सक्रिय हुने बेला आएको बताए ।
