काठमाडौँ — नागढुंगा पिपलामोड नजिक यात्रुबाहक माइक्रो बस दुर्घटनामा हुँदा २० जना यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट चितवन जाँदै गरेको बा ३ ख ८६२९ नम्बरको माइक्रो करिब ४ बजेर ४५ मिनेट जाँदा सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
दुर्घटनामा घाइते हुनेमध्ये १० जना भारतीय नागरिक रहेका छन् । घाइतेहरूको अहिले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचार भइरहेको बोहराले जानकारी दिए । गाडीका चालक ४३ वर्षीय अनिल तामाङ नुवाकोटको ककनी गाउँपालिका–३ का हुन् । उनीसहित माइक्रोमा ६ जना बालबालिका, ५ महिला र १० जना पुरुष रहेका थिए ।
घाइतेमध्ये १६ वर्षका सक्षम अधिकारीको बायाँ खुट्टामा, ४१ वर्षका सुजाता अधिकारीको टाउको, खुट्टा लगायतको भागमा चोट लागेको छ ।
अन्य घाइते नेपालीहरू अञ्जिला शाह, सुविदा मल्ल, ईश्वर थापा, गणेश पौडेल, सन्तबहादुर थापा, सुनिल श्रेष्ठ, प्रशान्त अधिकारी, प्रयास गुरुङको अवस्था भने सामान्य रहेको छ ।
यता भारतीय नागरिक पटनाका २४ वर्षीया रिन्कुदेवीको बायाँ हातमा चोट लागेको छ । रवीकुमार, सार्थककुमार, मानवीकुमार, डब्लुकुमार, राजकुमार, शिवकुमार, प्रञ्जलकुमार, निश्चलकुमार र रितुकुमारीको अवस्था भने सामान्य रहेको छ ।
