इजरायलमा कार्यरत नेपाली भन्छन् : मिसाइल पड्किँदा मुटुले ठाउँ छोड्छ

जेष्ठ ३१, २०८२

होम कार्की

A Nepali working in Israel says: When a missile hits, the heart leaves the place

काठमाडौँ — इजरायल र इरानबीच मिसाइल युद्ध चर्किएपछि इजरायलमा कार्यरत नेपाली श्रमिकले आफूहरुले असुरक्षित महसुस गरिरहेको बताएका छन् ।

इजरायलले शुक्रबार बिहान व्यापक हवाइ आक्रमणको जवाफमा शुक्रबार मध्यरात र शनिबार बिहान मिसाइल र ड्रोन आक्रमण गरेको थियो । त्यस आक्रमणमा परी तेलअभिभमा तीन जनाको मृत्यु हुनुका साथै ८० जना घाइते भएको इजराइली सञ्चारमाध्यमले जनाएका छन् ।

‘हिजो रातिदेखि नै तनाव छ । हामी दुई रातदेखि सुतेको छैनौं । शनिबार बिहान ५ बजेको आसपासमा एकदमै डर लाग्यो । आकाश नै ढाकेर मिसाइल आउँदा नडराउने भन्नै हुँदैन,’ प्रवासी नेपाली मञ्च, इजरायलकी अध्यक्ष गीता सुवेदीले इकान्तिपुरसँग भनिन्,‘पहिला पहिला त एउटा एउटा मिसाइल पड्किन्थ्यो । अहिले त बुटुटु पड्किन्छ । जुन बेला पड्किन्छ, त्यो बेला मुटुले ठाउँ नै छोड्छ ।’

A Nepali working in Israel says: When a missile hits, the heart leaves the place

उनले आफूहरु सुरक्षित ठाउँमा बसिरहेको बताइन् । ‘पहिला पहिला दुई तीन मिनेट अगाडि मात्रै साइरन बज्थ्यो । अहिले त २० मिनेट अगाडि नै साइरन बज्न थाल्छ । यसले हामीलाई समयमा नै सुरक्षित हुन बंकरमा जाने समय मिल्छ,’ उनले भनिन्,‘यस्तो युद्धमा हामीले इजरायल सरकारले निर्देश गरे बमोजिमका मापदण्डहरु पूर्णरुपमा पालना गर्नुपर्छ ।’

तेलअभिभमै कार्यरत झापाकी मञ्जु थपोलियाले आफूहरु बसेको नजिकैको स्थानमा क्षति भएको बताइन् । ‘क्षति भएको ठाउँ हामी बसेकोबाट ५ देखि ७ किलोमिटरको दुरीमा छ,’ उनीले भनिन्,‘हामी रातभरजसो बंकरमा नै बसिरह्यौं ।’

A Nepali working in Israel says: When a missile hits, the heart leaves the place

उनले राति ८ बजेदेखि बिहान ५ बजेसम्म ६ पटक बंकरबाट कोठामा आउजाऊ गरेको बताए । ‘हामी बसेको अपार्टमेन्टमै बंकर छैन । सडकमा बंकर छ । हामीलाई पहिला नै सूचना आउँछ । बंकर गएर बस्छौं । गए राति सुतेको नै छैन । प्रत्येक दुई दुई घन्टाको फरकमा बंकर गइराख्नु परेको छ,’ उनले भनिन्,‘बिहान ५ बजेयता इरानबाट मिसाइल आएको छैन । अहिले म काम नै गरिरहेको छु ।’

इजरायलमा झन्डै ७ हजार नेपाली कार्यरत छन् । त्यसमध्ये पछिल्लो समयमा कियरगिभरमा दुई हजार जना पुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरान र इजराइलबीच भइरहेको तनावको सूचना लिइरहेको छ । तेलअभिभस्थित नेपाली दूतावासले इजरायली होम फ्रन्ट कमान्डका नयाँ निर्देशन अनुसार सुरक्षा सम्बन्धी अद्यावधिक जानकारी नियमित रुपमा हेर्न आग्रह गरेको छ ।

A Nepali working in Israel says: When a missile hits, the heart leaves the placeतेल अभिभ नजिकै क्षेप्यास्त्र प्रहारपछि तहसनहस भएका संरचनाहरुमा उद्धार तथा खोजीमा जुट्दै उद्धारकर्मी । तस्बिरहरु : एएफपी,रासस

इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले नेपाली श्रमिकसँग नियमित सर्म्पकमा बसिरहेको बताए । ‘कुनै संकट आउने बित्तिकै दूतावासलाई खबर गर्नु भनिरहेको छ । केही केही ठाउँमा बंकर राम्रो छैन भन्ने गुनासो आएको छ,’ उनले भने,‘एक महिना अगाडि मात्रै इजरायल आइपुग्नु भएका भाइबहिनी अलि डराउनु भएको छ । उहाँहरुलाई इजरायल सरकारको सुरक्षा मापदण्डलाई अनुसरण गर्न सम्झाइरहेको छु । यस्तो बेला सर्तकता अपनाइ अनावश्यक हिँडडुल गर्नु हुँदैन । युद्धको बेला आफूआफूलाई  जोगाउने कोसिस गर्नुपर्छ ।’

होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।

Link copied successfully