रास्वपासँग हाम्रो विमति र आरोप-प्रत्यारोप हुँदैन : अध्यक्ष दाहाल

भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेसँग सहमतिपछि माओवादी अध्यक्ष दाहालले भने, 'रास्वपासँग मूलभूत विषयमा केही फरक मत छैन । उहाँहरूका केही अडानका कारणले उहाँहरू केही समय आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुँदैन ।'

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

We don't have disagreements and accusations with RSVP: President Dahal

काठमाडौँ — माओवादी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सत्तारुढ दलसँगको सहमतिमा रास्वपा छुटे पनि आफूहरूबीच आरोप-प्रत्यारोप नहुने बताएका छन् । शुक्रबार दिउँसो सञ्चारकर्मीहरूसँगको संक्षिप्तक कुराकानीमा अध्यक्ष दाहालले मूलभूत विषयमा रास्वपासँग फरक मत नभएकव बताएका हुन् । 

सदन चल्ने जानकारी दिँदै दाहालले भने, 'रास्वपासँग मूलभूत विषयमा केही फरक मत छैन । उहाँहरूका केही अडानका कारणले उहाँहरू केही समय आफ्नो ढंगले जानुहुन्छ । तर हाम्रो बीचमा विमति र आरोप प्रत्यारोप हुँदैन ।'

शुक्रबार दिउँसो भिजिट भिसा प्रकरणलाई लिएर अवरुद्ध संसद् खोल्नेबारे सत्तारुढ दलहरू एमाले-कांग्रेस र प्रमुख प्रतिपक्षी माओवादीबीच दुई बुँदे सहमति भएको छ । माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार भिजिट भिसा प्रकरणको छानबिन र अध्ययन गर्न उपयुक्त संयन्त्र गठन गर्ने गरि दुई बुँदे सहमति भएको हो ।

यो सहमतिसँगै प्रतिनिधिसभामा जारी अवरोध हटाउने समझदारी भएको छ । सहमतिपत्रमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमाले मुख्य सचेतक महेश बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले हस्ताक्षर गरेका छन् ।

रास्वपाले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको मागसहित पाँचबुँदे प्रस्ताव ल्याएको छ ।  कांग्रेस र एमालेले उक्त प्रस्ताव स्वीकार्न नसकिने बताउँदै आएका छन् । 

कान्तिपुर

Link copied successfully