जनताको समस्या समाधानका लागि सत्ता पक्षसँग सहमति गर्‍यौं : माओवादी प्रमुख सचेतक पाण्डे

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

We agreed with the ruling party to solve the problems of the people: Maoist Chief Whip Pandey

काठमाडौँ — माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जनताले भोग्नुपरेका समस्या समाधानका लागि माओवादीसहित एकीकृत समाजवादीलगायतका दलबीच सहमति भएको दाबी गरेका छन् । 

शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख सचेतक पाण्डेले जेठ १३ गतेदेखि निरन्तर भिजिट भिसा भ्रष्टाचार, मानव तस्करीका विषयमा आवाज उठाउँदै आएको बताउँदै आफूहरुले राखेका विषय विश्वस्त हुनेगरी व्यवहारमा लागू गर्ने विश्वास व्यक्त गरे । 

प्रमुख सचेतक पाण्डेले भने, 'जिम्मेवार प्रतिपक्षको हैसियतले आम जनताका समस्या पनि अगाडि बढुन् र सँगसँगै हाम्रा जनताले भोग्नुपरेका भिजिट भिसालगायतका भ्रष्टाचारजन्य, मानवतस्करीजन्य समस्याहरु छन् तीनका हल हुन् भनेर हामी हाम्रो दल सँगसँगै नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), आम जनता पार्टी, नेपाल समाजवादी पार्टीलगायतका विपक्षीहरुले सहमतिका साथ अगाडि बढ्ने कुरा गरेका छौं ।'

पाण्डेले आफूहरूको विरोध र आपत्ति कानुनी रूपमा भइरहेका भिजिट भिसाप्रति नभएको बताउँदै भिजिट भिसाका नाममा भइरहेका गैरकानूनी र मानवतस्करी सहितका भ्रष्टाचारजन्य हरकतविरुद्ध भएको स्पष्ट पारे । अहिले अध्यागमनसँगमात्र सम्बन्धित विषय नभइ भिजिट भिसामा देखिएका, देखिनसक्ने समग्र समस्याको निराकरण गर्न र नीतिगत, कानुनी संरचनागतलगायतमा सुधारका लागि अध्ययन र छानबिन गरी बद्‍मासी गर्नेलाई उचित कारबाही र आगामी दिनका लागि सुझाव दिनेगरी अध्ययनको लागि छानबिन समिति बनाउन उनले माग गरे । 

कान्तिपुर संवाददाता

Link copied successfully