एउटै योजना पाँच टुक्रा पारेर ठेक्का, मिलेमतोमा भ्रष्टाचार

जेष्ठ ३०, २०८२

कान्तिपुर संवाददाता

The same plan is divided into five parts, the contract, collusion and corruption

काठमाडौँ — सर्लाहीको चक्रघट्टा गाउँपालिकाका लागि सौर्य बत्ती जडान गर्न विनियोजित रकमलाई योजना टुक्राएर पाँचवटा बोलपत्रबाट किनेको तथा मिलेमतोमा भ्रष्टाचार गरेको अभियोगमा पालिकाका तत्कालीन अध्यक्ष विक्रम यादवसहित १० जनाविरुद्ध मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार तत्कालीन अध्यक्ष यादवसहित पालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लालबाबुप्रसाद साह, लेखा अधिकृत शिवशंकरप्रसाद कुशवाह, लेखापाल सञ्जयकुमार ठाकुर, जिन्सी शाखा प्रमुख रामकैलाश राय यादव, सबइन्जिनियरद्वय सन्तोष राय र राजु राय तथा स्काई राइज ट्रेडिङ कन्सर्नका प्रोपाइटर जयप्रकाश यादव, एसके स्टोर्स मलंगवाका प्रोपाइटर रञ्जुकुमारी साह र जियो टेक्निकल एन्ड इन्फास्ट्रक्चर सोलुसन नेपालका प्रोपाइटर संगीता कुमारीविरुद्ध बिगोबमोजिम जरिवाना, कैद सजाय र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने मागदाबीसहित मुद्दा दायर भएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए । 

अख्तियारले पालिकाका तत्कालीन अध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत साह, लेखापाल ठाकुर, जिन्सी शाखा प्रमुख यादव तथा सबइन्जिनियरद्वयलाई जनही २ करोड ४९ लाख ४० हजार १ सय १० रुपैयाँ बिगो कायम गरी बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी लिइएको छ ।

लेखा अधिकृत कुशवाहविरुद्ध ४७ लाख ५९ हजार ५ सय ६० रुपैयाँ, स्काइराइज ट्रेडिङका प्रोपाइटर यादवविरुद्ध ५८ लाख ३९ हजार ८ सय ४०, एसके स्टोर्सका प्रोपाइटर साहविरुद्ध ९५ लाख २३ हजार ९ सय १० र जियो टेक्निकलका प्रोपाइटर संगीता कुमारीविरुद्ध ९५ लाख ७६ हजार ३ सय ६० रुपैयाँ बिगो कायम गरी सो बमोजिम जरिवाना र हिनामिना भएको रकम असुलउपर गर्नुपर्ने अख्तियारले विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा उल्लेख छ ।

मिलेमतोमा खरिद योजना हात पारेका पनि एकै परिवारका तीन जना भएको खुलेको छ । बत्ती जडानका लागि ७ वटा फर्महरूले बोलपत्र पेस गरेका थिए । प्रत्येक ठेक्कामा ३/३ वटा फर्मबीच मात्र प्रतिस्पर्धा भएकामा ३ वटा फर्महरू स्काई राइज ट्रेडिङ कन्सर्न, एसके स्टोर्स र जियो टेक्निकल एन्ड इन्फास्ट्रक्चर सोलुसन नेपाल एकाघरका परिवारका (बुवा, छोरा र बुहारी) समेतको स्वामित्वमा रहेको पनि खुलेको छ । 

पालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारी र ठेकेदारको मिलेमतोमा एउटै योजनालाई टुक्रा पारेर मिलेमतोमा रकम हिनामिना गरेको अख्तियारको अभियोग छ । आव २०७८/७९ का लागि पालिकाको वडा १ देखि ९ सम्म सौर्य बत्ती जडान गर्न पालिकाबाट २ करोड १६ लाख रुपैयाँ विनियोजन भएकामा यो परियोजना एउटै बोलपत्रबाट आह्वान गरी सोहीअनुसार ठेक्का लगाउने गरी सुरुमा प्रक्रिया अघि बढेकामा पछि विनियोजित बजेट अंक नै संशोधन गरेर विद्युत् पोल, सोलार प्यानल, लाइट/तार/नटबोल्ट, ब्याट्री, चार्ज कन्ट्रोलर तथा इन्स्टलेसन खरिदका लागि छुट्टाछुट्टै नौवटा बोलपत्र तीनवटा कम्पनीमार्फत खरिद गरेर रकम हिनामिना गरेको पाइएको थियो । यसरी अस्वाभाविक रूपमा एउटै योजनालाई मिलेमतोमा टुक्रा पार्दा ठेक्का रकम बढाएर २ करोड ५३ लाख १८ हजार ६ सय रुपैयाँ पुर्‍याइएको पनि भेटिएको छ ।

‘सौर्य बत्ती जडान गर्न आवश्यक पाँच थरीकै मालसामान एकै प्याकेजमा खरिद गर्नुपर्नेमा टुक्रा पारी उपलब्ध बजेटभन्दा बढी रकमको लागत अनुमान स्वीकृत गरी बोलपत्र आह्वानको सूचना प्रकाशन गरेको र त्यसको करिब १ महिनापछि मात्रै गाउँपालिका विशेषसभाले ५ वटा प्याकेज बनाई बजेट थप गरेको अनुसन्धानबाट पुष्टि हुन आयो,’ अख्तियारले अदालतमा दायर गरेको आरोपपत्रमा भनिएको छ, ‘बोलपत्रदाताको योग्यता तथा बोलपत्रसम्बन्धी कागजात तयार नगरी बोलपत्र 

आह्वानको सूचना प्रकाशन गरेको, सार्वजनिक खरिद ऐनबमोजिम बोलपत्र आह्वानको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी स्थानीय पत्रिकामा प्रकाशन गरेको, सार्वजनिक खरिद ऐन, नियमविपरीत खरिद मूल्यांकन समिति गठन नगरी खरिदसम्बन्धी काम कारबाही अघि बढाएको देखिन आयो ।’

भ्रष्टाचार आरोपमा मधेशका पूर्वकानुन राज्यमन्त्री सिंह पक्राउ

मधेश प्रदेशका सांसद सरोजकुमार सिंह पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सिंहलाई बिहीबार साँझ काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो । 

यादवले प्रदेश सरकारबाट विनियोजित बजेट उपभोक्ता समितिका नाममा फर्जी बिल बनाएर हिनामिना गरेको तथा ‘प्रदेश सांसद विकास कोष’ अन्तर्गत आफ्ना भागमा परेका योजनाहरू ‘रकम लिएर बिक्री’ गरेको पनि आरोप लगाइएको छ । मधेश सरकारबाट विनियोजित बजेट फर्जी बिल बनाएर हिनामिना गरेको र त्यसरी हिनामिना गरेको रकम परिवार र नातागोताका नाममा जम्मा गरेको प्रारम्भिक छानबिनबाट खुलेपछि उनलाई थप अनुसन्धानका लागि पक्राउ गरिएको अख्तियारका एक अधिकारीले बताए । उपभोक्ता समितिमार्फत अघि बढाइएका योजनाको बजेट झिकेर परिवारका सदस्यको खातामा सारेको उजुरीपछि अख्तियारले उनीमाथि अनुसन्धान थालेको थियो ।

यसअघि सांसद सिंहको घरमा अख्तियारले १२ जेठ २०८२ मा छापा मारेर विभिन्न कागजात र विद्युतीय उपकरणहरू नियन्त्रणमा लिएको थियो । त्यस क्रममा सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलार्ई पक्राउ गरेको थियो । त्यसपछि फरार रहेका सिंहलाई अख्तियारबाट खटिएको टोलीले बिहीबार अनामनगरबाट नियन्त्रणमा लिएको हो ।

सिंह २०७९ को प्रदेशसभा निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको जसपाबाट महोत्तरी–४ (२) बाट विजयी भएका थिए । उनी २०७४ को प्रदेशसभामा पनि सोही निर्वाचन क्षेत्रबाट विजयी भएका थिए । मधेशमा लालबाबु राउत मुख्यमन्त्री रहेका बेला सिंह तत्कालीन आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए ।

कान्तिपुर

Link copied successfully