काठमाडौँ — गृहमन्त्री रमेश लेखकले आफूविरुद्ध नक्कली पीडित खडा गरी पार्टी कार्यालयहरूमै कीर्ते जाहेरी दर्ता गर्ने प्रयास भइरहेको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै गृहमन्त्री लेखकले केही राजनीतिक दलका पार्टी कार्यालयमा तथाकथित नक्कली पीडितलाई बोलाएर आफूविरुद्ध विभिन्न ठाउँमा जाहेरी दर्ता गर्ने प्रयास भएको उनको भनाइ छ ।
गृहमन्त्री लेखकले कीर्ते, जालसाझी र अमर्यादित गतिविधिमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने चेतावनी समेत थिए । उनले दलका पार्टी कार्यालयहरुलाई कीर्ते र नक्कली पीडित खडा गर्ने पार्टी कार्यालय बनाउन लागिएको भन्दै सचेत रहन आग्रह समेत गरे । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै सम्भावना बोकेका पार्टी भएकाले यस्ता कार्यमा नलाग्न समेत सुझाए ।
गृहमन्त्री लेखकको भनाइ
केही पार्टीका कार्यालयहरुमा नक्कली तथाकथित पीडितहरुलाई बोलाएर पार्टी कार्यालयमा जाहेरी लेखेर मेरा विरुद्धमा विभिन्न ठाउँमा दर्ता गर्ने प्रयत्न भइराखेका छन् । कुन पार्टी कार्यालयमा लेखिएको छ त्यो मलाई जानकारी भइसकेको छ । यस्ता कीर्ते, जालसाझी र अमर्यादित कार्य गरेर आफ्नो राजनीतिक अभिष्ट पूरा गर्ने काममा नलाग्न म साथीहरूलाई आग्रह गर्न चाहन्छु । र यस्ता अपमानजनक कार्यहरू, कीर्ते जालसाझ गरेर नक्कली पीडित खडा गर्ने मानिसहरूको पत्ता लगाएर कारबाही गरिनेछ । तपाईका पार्टी कार्यालयहरु कीर्ते र नक्कली पीडितहरू खडा गर्ने पार्टी कार्यालय बन्दैछन् । यसमा तपाईंहरू सचेत हुनुस् । किनभने तपाईंहरू सम्भावना बोकेको हुनुहुन्छ ।
