दुई दशकदेखि सफा पानी पर्खिरहेको एउटा बस्ती

राजधानीकै एक यस्तो बस्ती, जहाँका बासिन्दालाई सफा पानी मृगतृष्णाजस्तो भइसकेको छ ।

जेष्ठ २९, २०८२

अभिषेक अधिकारी

A settlement has been waiting for clean water for two decades

काठमाडौँ — काठमाडौं महानगरपालिका-९ को सिनामंगलस्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा ३ छोरा र १ छोरीसहित बस्छिन् सती देवी । तीन साताअघिको एक साँझ उनी समस्यामा परिन् । ५ वर्षकी माइली छोरीलाई एक्कासि पेट दुख्ने र वान्ता हुने भयो । छोरीलाई जँचाउन वीर अस्पताल पुर्‍याइन् । डाक्टरहरुले दूषित पानीका कारण त्यस्तो समस्या देखिएको बताए ।

गैरीगाउँको सुकुम्बासी बस्तीमा यस्तो समस्या भोग्ने उनी पहिलो होइनन् । सफा पानीको पहुँच नभएका कारण दूषित पानी पिउन बाध्य बस्तीका धेरैजसो बेलाबेला बिरामी परिराख्छन् । १६५ घरधुरी भएको यो बस्तीमा १२ वटा ट्युबेल छन् । तर ती सबैबाट सधैं कि त पहेँलो कि धमिलो पानी मात्रै आउने गर्छ । बस्तीमा अलिक हुनेखानेले जारको पानी किनेर खान्छन् र धाराको पानी कपडा धुन र भाडा माझ्न मात्रै प्रयोग गर्छन् । तर विपन्न परिवारले भने धाराकै पानी कपडाले छानेर वा फोहोर पानी नै खान बाध्य छन् । 

सती देवी ७ महिनाअघि बाराको कलैयाबाट सुकुम्बासी बस्तीमा आइपुगेकी हुन् । उनका श्रीमान् घरमा रंगरोगनको काम गर्छन् । कतिपय छिमेकीले किनेर पानी खाने गरे पनि पैसाको अभावले सफा पानी किन्न नसकेको उनले दुःखेसो सुनाइन् । भन्छिन्, ‘सधैं पैसा हुँदैन अनि कसरी पानी किन्ने ?

सफा पानीको पहुँच नभएका कारण यो बस्तीमा झाडापखाला, टाइफाइड र अन्य संक्रामक रोग दोहोरिरहने गर्छ । सती देवीले सफा पानीको अभावमा ५ महिनो छोरा पनि बिरामी परिराख्ने सुनाइन् । एकपटक त उनी आफैलाई पनि पेट दुख्ने समस्याले सतायो । उनले भनिन्, ‘सरकारसँग एउटै बिन्ती गर्छु, हाम्रो लागी पानीको राम्रो सुविधा होस् ।’ 

A settlement has been waiting for clean water for two decades

माइली लामाको कथा पनि उनको भन्दा फरक छैन । २०६० सालमा यहाँ आएकी उनीसँग फोहोर पानीका कारण धेरैपटक बिरामी परेको अनुभव छ । २०६९ मा उनलाई टाइफाइड भएको थियो । 'टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार गराउँदा डाक्टरले  टाइफाइड भएको भने,' त्यतिबेलाका समय सम्झिँदै उनले भनिन, ‘दूषित पानीकै कारण मलाई त्यस्तो भएको रहेछ ।’

यही बस्तीको एक छेउमा छ, रीना लामाको टहरा । उनले सफा पानी नदेखेको वर्षौं भइसक्यो । २०७७ सालतिर धादिङबाट यहाँ सरेकी उनी ४ छोराछोरी र श्रीमान्‌सहित बस्छिन् । शुद्ध पानीको नारा मात्रै होइन यो नागरिकको अधिकार हो भन्ने पनि सुनेकी छिन् । तर सफा पानीको पहुँचमा उनी छैनन् । भन्छिन्, ‘सफा पानी त उही सम्झिने पानी छम्किने गीत जस्तै हो हाम्रा लागि ।’

हिउँदको समयमा बस्तीका स्थानीय मिलेर ट्याकंरको पानी किनेर बाँडेर खाने गर्छन् । उनी त्यही पानी फिल्टर गर्छिन् । अरु बेला भने बस्तीमा रहेको धाराको पहेँलो पानीमा भर पर्नुको विकल्प उनीसँग छैन । 

यो बस्तीका अधिकांशसँग फोहोर पानीका कारण बिरामी परेका अनेक अनुभव छन् । उनी २६ वर्षअघि झापाबाट आएर यो बस्तीमा बस्न थालेकी हुन् । '९ वर्षअघि कान्छो छोरा झाडापखालाका कारण बिरामी परेको थियो,' उनले भनिन्, ‘जमिनमुनिबाट पानी आएर मात्र के गर्नु, पहेँलो पानीका कारण खान अयोग्य छ ।’ 

यो बस्तीका बासिन्दाले २० वर्ष भइसक्यो शुद्ध पानीको प्रतीक्षा गरेको । ट्युबेलबाट आउने धमिलो पानी कतिपयले ड्रममा बालुवा राखेर त्यसैबाट छानेर पनि प्रयोग गरिरहेका छन् । कतिपयले सामान्य फिल्टरले त्यस्तो पानी छान्ने गरेका छन् । धेरैजसोले भने छानेर अलिक कम धमिलो भएको पानीले लुगा धुन र भाँडा माझ्न प्रयोग गर्छन् । सक्नेले जारको पानी किनेर खान्छन, नसक्नेले भने यही पानी अलि संग्ल्याएर प्रयोग गर्छन् । 

A settlement has been waiting for clean water for two decadesतस्बिरहरु : सूर्यंश उप्रेती/कान्तिपुर

२०५५ सालमा यो बस्तीमा आएर बस्न थालेदेखि देवी विकको स्थायी समस्या भनेकै सफा खानेपानीको हो । घरमा रङ लगाउने काम गर्ने जेठो छोरा र ज्याला मजदुरी गर्ने कान्छो छोरा र श्रीमान्‌को भरमा उनले सात परिवार धानेकी छिन् । तर थोरै कमाइ उनीहरुको घर खर्चमै ठिक्क हुन्छ । उनले सधैं पानी किनेर खान नसकिने भएकाले पैसा भएका बेला जारको पानी किनेर खाने र नभएको बेला धाराकै पहेँलो पानीमा चित्त बुझाउनुपर्ने बाध्यता सुनाइन् ।  

मकवानपुर मनहरिबाट यो बस्तीमा आइपुगेकी माईली लामा हरेक चुनावअघि भोट माग्न आउने जनप्रतिनिधिले खानेपानीको आश्वासन दिएको सम्झिन्छिन् । तर चुनावपछि नेताहरुले नै नसम्झिने भएपछि उनीहरुका दुःख उस्तै छन् । फोहर पानीकै कारण २०६९ र २०७५ सालमा दुईपटक टाइफाइड भएको अनुभव उनीसँग छ । भनिन्, ‘मेलम्चीको पानी त सपना जस्तै छ हाम्रो लागि । खोइ कहिले पूरा होला ?’

यो बस्तीका अधिकांशसँग फोहोर पानीका कारण बिरामी परेका अनुभव छन् । लालबहादुर लोप्चनले २०७७ सालमा पानीकै कारण छोराको पेट दुख्ने र ज्वरो आउने समस्या भएको सुनाए । उनले भने, ‘छोरा बिरामी भएको बेलामा ट्युबेलको पानी समेत चलाएनौं ।’ कोपिला धिमालले भने पानीकै कारण बालबच्चा बिरामी परिराख्ने समस्या सुनाइन् । 

A settlement has been waiting for clean water for two decades

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख मेडिकल अधिकृत डा. शेरबहादुर पुनले सफा खानेपानीको अभावमा झाडापखाला र ज्वरोजस्ता समस्या दोहोरिने बताए । गर्मी मौसममा यी रोगका ब्याक्टेरिया बढी सक्रिय हुने भएकाले पनि जोखिम उच्च हुने उनको भनाइ छ । पानीबाट नै झाडापखाला हुने भएकाले पानीलाई राम्रोसँग उमालेर खानुपर्ने उनको सुझाव छ ।

खानेपानीको समस्या चर्को भएपछि गत सोमबार आम सुकुमबासी तथा अव्यवस्थित बसोबासी संघले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) मा ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्रमा शत्रुलाई समेत खानेपानीबाट वञ्चित गर्नुहुँदैन भन्ने समाजमा पानीको अभाव हुनु असंवैधानिक काम भएको उल्लेख गरिएको छ । 

A settlement has been waiting for clean water for two decades

संघर्ष समितिका अध्यक्ष कालबहादुर विकले आफ्ना माग पूरा नभए चरणबद्ध आन्दोलनको घोषणा गर्ने बताए । आफूहरुको भोटबाट जितेका जनप्रतिनिधि यो समस्यामा गम्भीर नभएको उनको भनाइ छ । ‘सहरमा मेलम्ची आयो भन्छन् तर हामीले कहीलेसम्म फोहोर पानी खानुपर्ने हो ? यसको उत्तर चाहिएको छ,’ उनले भने ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रवक्ता प्रकाशकुमार राईले सुकुम्बासीहरुको पानीको समस्यालाई समाधान गर्ने बताए । लालपुर्जाको समस्याका कारण घरहरुमा धारा जोड्न नसकेको बताउँदै खानेपानी मन्त्रालय र मेलम्ची खानेपानीसँग आवश्यक पहल गर्ने उनको भनाइ छ ।   

अभिषेक

Link copied successfully