काठमाडौँ — प्रमुख प्रतिपक्षी दल माओवादीले सरकारले लोकतान्त्रिक मर्मविरुद्ध पत्रकारलाई पक्राउ पुर्जी जारी गरेको बताएको छ । माओवादी प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदम प्रेस स्वतन्त्रता, लोकतान्त्रिक मूल्य मान्यता र संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको भावनाविपरीत रहेको बताएका हुन् ।
'पत्रकार दिलभूषण पाठकमाथि समाचार प्रसारण गरेको आधारमा पक्राउ पुर्जी जारी गरिएको घटना तथा नेपालखबर डटकम र बिजमाण्डू डटकममा प्रकाशित समाचार हटाउन दिएको आदेशप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,' माओवादीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
समाचार सामग्रीमा त्रुटि, पूर्वाग्रह वा तथ्यगत कमजोरी देखिए समाधानका लागि प्रेस काउन्सिललगायतका नियामक निकायमार्फत् खण्डन गर्ने वा प्रतिवाद गर्ने विधि स्थापित भएको पनि माओवादीले सरकारलाई अवगत गराएको छ । 'माओवादी केन्द्र स्वतन्त्र, जिम्मेवार र तथ्यमा आधारित पत्रकारिताको सधैं पक्षधर रहेकोले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धका गतिविधि नगर्न र सञ्चारकर्मीमाथि जारी पक्राउ पुर्जी फिर्ता लिन जोडदार माग गर्दछ,' सापकोटाले विज्ञप्तिमा भनेका छन् ।
'लोकतन्त्रको आधार स्तम्भमध्ये स्वतन्त्र प्रेस एक महत्वपूर्ण खम्बा हो । प्रेस स्वतन्त्रताको संरक्षण, लोकतान्त्रिक मूल्यको सुदृढीकरण र नागरिक अधिकारको सुनिश्चितता नै समावेशी लोकतन्त्रको मूल आत्मा हो । लोकतान्त्रिक मूल्य र पद्धतिप्रति प्रतिबद्ध रहनका लागि सरकार र सबै पक्षहरूलाई जोडदार अपील गर्दछौं,' विज्ञप्तिमा अगाडि भनिएको छ ।
जयवीरसिंह देउवाले दिएको उजुरीका आधारमा नेपाल प्रहरीको साइबर ब्युरोले पाठकविरुद्ध मंगलबार पक्राउ पुर्जी जारी गरेको हो। जयवीर कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा हुन्। पत्रकार पाठकले आफ्नो कार्यक्रम 'टफ टक' मार्फत् ' हिल्टन होटलको सेयर खरिद बिक्रीका विषयमा जयवीरसिंहको संलग्नताबारे 'हिल्टनमा जयवीर देउवाको पैसा!' शीर्षकमा भिडियो सामग्री प्रस्तुत गरेका थिए । यही विषयलाई लिएर पाठकले चरित्र हत्या गरेको भन्दै जयवीरले साइबर ब्युरोमा उजुरी दिएका हुन्।
