चार लेनमा विस्तार थालिएको सडकको दूरी १५.८ किमि, दुई खण्डमा विभाजन गरेर काम, सूर्यविनायक–धुलिखेल सडकबाटै कष्ट बेहोरिरहेका यात्रु र चालक बीपी राजमार्ग पुगेपछि झन् बढी सास्तीमा
साँगा, काभ्रे — पूर्वी तराई तथा पहाडका जिल्ला जोड्ने बीपी राजमार्ग पुग्न पहिला सूर्यविनायक–धुलिखेल सडक छिचोल्नुपर्छ । तर यही सडक छिचोल्न चालक र यात्रुलाई सधैं हम्मे–हम्मे पर्छ । विस्तारका लागि भत्काइएको सडकमा घाम लाग्दा धूलो र पानी पर्दा हिलोले सास्ती थपेको छ । यो सडकको भक्तपुर खण्डमा अझ बढी समस्या छ ।
यही सडक हुँदै बीपी राजमार्गको चौकीडाँडा पुगेपछि भने त्रासैत्रासमा यात्रा गर्नुपर्ने जोखिम छ । कारण, खोलो तर्काएर सडक बनाइएको छ, ठूलो बाढी आए के हुन्छ भन्न सक्ने अवस्था नरहेको स्वयं सडक आयोजनाकै भनाइ छ । गत असोजको बाढीले उक्त राजमार्गमा क्षति गरेपछि १२ किलोमिटर खण्डमा यात्रुले कष्ट झेलेर यात्रा गर्दै आएका छन् । कतिपय ठाउँमा साँघुरो सडकले जाममा फस्ने गरेका छन् ।
भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेल सडक चार लेनमा विस्तार थालेको २९ महिना बित्यो । तर अहिलेसम्म निर्माण प्रगति ४७ प्रतिशत मात्र छ । अबको ७ महिनाभित्र ५३ प्रतिशत काम सक्नुपर्नेछ । अहिले भइरहेको निर्माणको गति हेर्दा उक्त समयभित्र काम सकिने छाँट देखिँदैन ।
दुई जिल्ला जोड्ने कुल सडकको दूरी १५.८ किलोमिटर छ, जसलाई दुई खण्डमा विभाजन गरेर काम भइरहेको छ, जसमध्ये एउटा खण्ड हो, सूर्यविनायक–साँगा । यो खण्डको दूरी ७.५ किमि छ । उक्त खण्डको ठेक्का आशिष–कुमार श्रेष्ठ–बन्धन भगवती जेभीले २०७९ पुस २४ मा लिएको हो । जसको ठेक्का रकम ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ छ । यस खण्डको प्रगति ३७ प्रतिशत र म्याद आगामी पुस २७ सम्म मात्र छ ।
बर्खाले गर्दा तोकिएकै समयमा काम सिध्याउन कठिन हुने देखिएको सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । ‘थोरै समय थप हुन सक्छ,’ उनले भने, ‘उक्त अवधिभित्र भने काम सकिन्छ ।’ यस खण्डमा सबबेस र वाल लगाउने काम भइरहेको छ । साँगा खण्डमै भने सबबेसको तयारी भइरहेको उनले सुनाए । ‘मौसमले साथ दिए असारअघि नै सूर्यविनायकदेखि जगातीसम्म सर्भिस लेनमा सबबेस गर्ने तयारी छ,’ खनालले भने, ‘जुन खण्डको दूरी डेढ किलोमिटर छ ।’
अर्को खण्ड हो, साँगा–धुलिखेल । यस खण्डको दूरी ८.३ किमि छ । धुलिखेलमा एक किमि दोस्रो तहको सडक कालोपत्र भइसकेको छ । अन्तिम तहको कालोपत्र गर्ने तयारी भएको खनालले जनाए । ‘बनेपाबाट भक्तपुरतर्फ आउने खण्डमा थप एक किलोमिटर कालोपत्र गर्ने तयारीमा छौं,’ उनले भने, ‘त्यसका लागि सबबेस राख्ने काम भइरहेको छ ।’
लामा कन्स्ट्रक्सनले २०७९ मंसिर २७ मा ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा उक्त खण्डको ठेक्का लिएको हो । निर्माण प्रगति ४८ प्रतिशत रहेको यस खण्डको म्याद भने आगामी मंसिर २७ सम्म रहेको आयोजनाका इन्जिनियर खनालले बताए । ‘स्ट्रक्चरको काम सकिइसकेको छ, अब कालोपत्र गर्न मात्र बाँकी हो,’ उनले भने, ‘सुरु म्याद नै बाँकी छ, उक्त समय अपुग भए थोरै थपेर काम सक्छौं ।’ उक्त सडक निर्माण भएको २५ वर्षपछि चार लेनमा विस्तार थालिएको हो । अहिले काम भइरहे पनि पानीले गर्दा समस्या हुने उनको भनाइ छ । सवारी चाप बढी रहेकाले यस खण्डमा दैनिक जस्तो ट्राफिक जाम हुने गरेको छ ।
जगाती र महादेव खोलामा पक्की पुल निर्माणका लागि डिजाइन स्वीकृत भई काम थालिएको आयोजनाले जनाएको छ । पुण्यमती खोलामा पुल निर्माणका लागि डिजाइन स्वीकृति प्रक्रियामा छ । ‘पुण्यमती खोला पुलको डिजाइन असारसम्म फाइनल हुन्छ,’ उनले भने, ‘सबै पुलको निर्माण एक वर्षभित्र सक्छौं, त्यहीअनुसार काम भइरहेको छ ।’
निर्माणका क्रममा कुनै समस्या नआए र बजेट अभाव नभए तोकिएको समयमा सक्ने गरी काम भइरहेको सडक विभागका महानिर्देशक विजय जैसीले बताए । ‘पहिला यो सडकको विस्तार थाल्दा विभिन्न समस्या आइलागे, घरजग्गाको मुआब्जाले गर्दा केही समय समस्या भयो,’ उनले भने, ‘केही ठाउँमा निर्माण थालिसकेपछि डिजाइनमा समस्या आयो, डिजाइन पुनर्विचार गरेर काम थाल्दा केही ढिलाइ भएको हो ।’
चालु आर्थिक वर्षमा बजेटको समेत समस्या भएको उनले जनाए । ‘समस्या बजेटको छ, जसोतसो काम भएको छ,’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि पनि कम बजेट विनियोजन भएको छ, तीन अर्ब बजेट चाहिनेमा ८० करोड मात्र छुट्याइएको छ ।’
तातोपानी नाकाबाट सामान ल्याउन सास्ती
अस्तव्यस्त सडक पूर्वाधारका कारण उत्तरी नाका तातोपानीबाट दैनिक उपभयोग्य सामान राजधानी भित्र्याउन समस्या भएको नेपाल हिमालयन सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताए । ‘सूर्यविनायकदेखि अरनिको राजमार्गको अवस्था नाजुक छ,’ उनले भने, ‘त्यसमा पनि सूर्यविनायकदेखि धुलिखेल हुँदै पाँचखालसम्मको सडकको त कन्तबिजोग नै छ ।’
सडक सहज हुँदा ५ घण्टामा तातोपानीबाट सामान बोकेर आएका सवारीसाधन काठमाडौं भित्रन्थे । अहिले करिब १० घण्टा लाग्ने महासचिव पराजुलीले बताए ।
‘सडकको दुरवस्थाका कारण समयमै सामान ल्याउन गाह्रो छ, जसले सामानको लागत पनि बढाएको छ,’ उनले भने, ‘यसको प्रभाव उपभोक्तासम्म पर्न जान्छ ।’ अरनिको राजमार्गका अधिकांश ठाउँमा समस्या रहेको उनले गुनासो गरे । ‘काठमाडौंबाट १ सय २७ किमिको दूरीमा तातोपानी नाका छ,’ उनले भने, ‘जसमा ५० प्रतिशत बाटोमा ठीक छ, ५० प्रतिशत सडकको अवस्था नाजुक छ । दुई/चार दिन बढी पानी परे पहिरो जाने, हिलो हुने र सवारीसाधन नचल्ने समस्या छ ।’
तातोपानी नाकाबाट आयात हुने सामान धेरै रहेको उनले बताए । ‘स्याउ, लसुन, अदुवालगायत दैनिक उपभोग्य वस्तु, लत्ताकपडा, विद्युतीय सवारीसाधन पनि यही नाका भएर आउँछन्,’ उनले भने, ‘सडकले गर्दा नयाँ सवारीसाधन बिग्रने समस्या छ । स्याउ समयमै काठमाडौं ल्याउन नसक्दा बाटोमै कुहिने गरेको छ ।’
उनका अनुसार तातोपानी नाकाबाट अहिले सामान बोकेका दैनिक २० देखि २५ वटा सवारीसाधन काठमाडौं भित्रिन्छन् । चाडबाडका बेलामा सयभन्दा बढी यस्ता सवारीसाधन राजधानी आइपुग्छन् । ‘हामीले संस्थागत रूपमा उद्योग वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग धाएर धेरैचोटि सडकका कारण व्यापार व्यवसायमा असर गरेको बतायौं । निर्माण छिटो सक्न दबाब दिँदै आएका छौं,’ उनले भने, ‘तर सडक भत्काएर ढिलासुस्ती गरिएको छ ।’
छिटो निर्माण सक्न सबैतिरबाट पहल हुन जरुरी रहेको उनले बताए । ‘सडक निर्माणको गति सुस्त देख्दा छिटो काम सकिएला र सहज रूपमा सामान ल्याउन पाइएला भन्ने लागेको छैन,’ उनले भने, ‘सूर्यविनायक–धुलिखेल सडकले धेरै सडकलाई जोड्छ, तर यसको निर्माणमा प्रगति नदेख्दा अन्य सडक र राजमार्गबाट हुने यात्रादेखि दैनिक आर्थिक गतिविधि बन्द हुने अवस्था छ ।’
