एयर इन्डियाको दुर्घटनाको खबरले स्तब्ध छु : राष्ट्रपति पौडेल

जेष्ठ २९, २०८२

कान्तिपुर संवाददाता

I am shocked by the news of the Air India accident: President Paudel

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भारतको अहमदाबादबाट लन्डनका लागि उडेको एअर इन्डियाको विमान बिहीबार दुर्घटनामा परेको खबरले आफू स्तब्ध भएको बताएका छन् । सो दुर्घटनाबाट भएको अमूल्य मानवीय क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको राष्ट्रपति पौडेलले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् ।

भारतीय समयअनुसार दिउँसो १:३८ मा लन्डनका लागि उडेको एआई १७१ उडान नम्बरको बी ७८७ ड्रिमलाइनर जहाज टेकअफलगत्तै दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेको जहाजमा २४२ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाज क्याप्टेन सुमीत सभरवाल र फर्स्ट अफिसर क्लाइभ कुन्दरले उडाइरहेका थिए । क्याप्टेन सभरवालसँग ८ हजार २ सय घण्टा र कोपाइलट कुन्दरसँग १ हजार १ सय घण्टाको अनुभव रहेको भारतको नागर विमानन महानिर्देशनालयलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा क्याबिन क्रुसहित २४२ जना सवार रहेको एयर इन्डियाले एक्समार्फत जानकारी दिएको छ । जसमध्ये २ जना पाइलट, १० जना क्याबिन क्रु सदस्य र २३० यात्रु रहेका थिए । जसमध्ये १६९ जना भारतीय यात्रु रहेका छन् । त्यस्तै बेलायतका ५३ जना, पोर्चुगलका ७ जना र क्यानडाका १ यात्रु रहेको एयर इन्डियाले जनाएको छ । उक्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो अपडेटअनुसार अहमदाबाद प्रहरीले विमानमा सवार २०४ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully