संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति विवादबारे सर्वोच्चले 'निर्णय सुनाउने' पेसी चढ्यो

जेष्ठ २८, २०८२

कान्तिपुर संवाददाता

The Supreme Court has issued a 'judgment' on the dispute over the appointment of officials in the Constitutional Commission

काठमाडौँ — संवैधानिक आयोगका ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेका रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा निर्णय सुनाउन पेसी चढेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत तथा न्यायाधीशहरू सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी रहेको संवैधानिक इजलासमा पेसी चढेको हो ।

साढे ४ साल अगाडिको रिट निवेदनमा सर्वोच्चले निर्णय सुनाउन लागेको हो ।  अध्यादेशमार्फत संशोधित कानुनबमोजिम २१ माघ २०७७ मा ३२ र १० असार २०७८ मा २० पदाधिकारी नियुक्ति गरिएको विरुद्ध परेका १५ रिटलाई सँगै सुनुवाइ गरेर संवैधानिक इजलासले निर्णय सुनाउन लागेको हो । 

पटक–पटक हेर्न नभ्याइनेमा परेर पेसी सर्दै आएकामा संवैधानिक इजलासले गत माघ मसान्तमा सुनुवाइ थालेको थियो । यसबीचका पेसीमा बहस सकिएर निर्णय सुनाउने मिति बुधबारका लागि तोकिएको हो । ‘ 

संवैधानिक निकायमा दुवै पटक नियुक्ति गर्ने बेला केपी शर्मा ओली नेतृत्वको सरकारले सिफारिस प्रक्रिया आफूअनुकूल बनाउन अध्यादेशमार्फत संवैधानिक परिषद्सम्बन्धी ऐन संशोधन गरेको थियो । संवैधानिक परिषद्का कुल ६ सदस्यमध्ये ५ को उपस्थितिले गणपूरक संख्या पुग्ने र गणपूरकमध्ये ४ को निर्णय बहुमत हुने कानुनी व्यवस्थालाई संशोधन गरेर अध्यक्षसहित बहुमत सदस्यको उपस्थिति गणपूरक हुने प्रावधान राखिएको थियो । उपस्थितमध्ये अध्यक्षसहितको बहुमतले सिफारिस गर्न सक्ने व्यवस्था पनि अध्यादेशले गरेको थियो ।

अध्यादेश जारीपछि संवैधानिक परिषद् अध्यक्ष तत्कालीन प्रधानमन्त्री ओली, सदस्यहरू तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र राष्ट्रिय सभाका तत्कालीन अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक गरेर संवैधानिक आयोगमा सिफारिस गरेका थिए । तत्कालीन प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा बैठकमा अनुपस्थित थिए । संवैधानिक परिषद्बाट ३० मंसिर २०७७ र २१ वैशाखमा पदाधिकारी सिफारिस गरेको केही दिनमै तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेका थिए । सिफारिसको ४५ दिनभित्र संसदीय सुनुवाइ नभए नियुक्तिमा बाधा पर्ने छैन भन्ने संसदीय नियमावलीलाई आधार बनाएर तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई नियुक्ति दिएकी थिइन् ।    

को कहिले नियुक्त भएका थिए ?

१ माघ २०७७ नियुक्त

–अख्तियार दुरुपयोग अनुसन्धान आयोग

प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्तहरू किशोरकुमार सिलवाल र जयबहादुर चन्द

–निर्वाचन आयोग

आयुक्तहरू रामप्रसाद भण्डारी र जानकीकुमारी तुलाधर

–राष्ट्रिय मानवअधिकार आयोग

अध्यक्ष तपबहादुर मगर, सदस्यहरू सूर्य ढुंगेल, लिली थापा, मिहिर ठाकुर र मनोज दवाडी

–महिला आयोग

अध्यक्ष कमला पराजुली, सदस्यहरू कृष्णकुमारी पौडेल र विद्याकुमारी सिन्हा

–प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्यहरू जुद्धबहादुर गुरुङ र अमरराज मिश्र

–राष्ट्रिय दलित आयोग

अध्यक्ष देवराज विश्वकर्मा, सदस्यहरू मीनादेवी सोब, टुन्जे कामी र मेहले पार्की

–राष्ट्रिय समावेशी आयोग

सदस्यहरू रामचन्द्र जोशी, हरिदत्त जोशी

–आदिवासी जनजाति आयोग

अध्यक्ष रामबहादुर थापामगर, सदस्यहरू मीनबहादुर श्रीस, रीना राना र शरण राई

–मधेशी आयोग

सदस्यहरू जीवछ साह, रेणुदेवी साह र विजयकुमार गुप्ता

–थारू आयोग

सदस्यहरू सुबोधसिंह थारू र भोलाराम चौधरी

–मुस्लिम आयोग

सदस्यहरू महमदिन अलि र मिर्जा अर्सद वेग

१० असार २०७८ मा नियुक्त

–अख्तियार दुरुपयोग अनुसन्धान आयोग

आयुक्तहरू हरि पौडेल र सुमित्रा श्रेष्ठ

–लोक सेवा आयोग

अध्यक्ष माधवप्रसाद रेग्मी, सदस्यहरू वीरबहादुर राई, दिनेश सिलवाल, माधव बेल्वासे र मञ्जु कुमारी

–निर्वाचन आयोग

आयुक्त सगुनशमशेर जबरा

–प्राकृतिक स्रोत तथा वित्त आयोग

सदस्य विपिनराज निरौला

–महिला आयोग

सदस्यहरू जया घिमिरे र सावित्रा शर्मा

–मुस्लिम आयोग

सदस्य मोहम्मद समसुल हक

–समावेशी आयोग

अध्यक्ष रामकृष्ण तिमल्सेना, सदस्यहरू पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री

–आदिवासी जनजाति आयोग

सदस्य सूर्यबहादुर गुरुङ

–मधेशी आयोग

सदस्य आभा कुमारी

–थारू आयोग

सदस्यहरू उमाशंकरप्रसाद चौधरी र शान्ति मोदी

–दलित आयोग

सदस्य सुन्दर पुर्कुटी

कान्तिपुर

Link copied successfully