घरेलु श्रमिकको सम्झौतालाई थाती राखिने
काठमाडौँ — घरेलु श्रमिकको सम्झौतालाई थाती राखेर सामान्य र सीपयुक्त श्रमिकको सीप प्रमाणीकरण कार्यक्रमसम्बन्धी गरी तत्काल दुईवटा सम्झौता गर्न साउदी अरब तयार भएको छ । यसअघि साउदीले पहिला घरेलु श्रमिक लैजाने सम्झौता गर्नुपर्ने अडान राख्दै आएको थियो । नेपालले साउदीसँगको सामान्य श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा सहमति जनाइसकेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र साउदी अरबको अन्तर्राष्ट्रिय मामिलाका उपमन्त्री तारिक अल हमदबीच सोमबार जेनेभामा भएको द्विपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।‘साउदीसँग सामान्य श्रमिक लैजाने श्रम सम्झौतामा यसअघि नै सहमति भइसकेको छ । यसमा हस्ताक्षर हुन मात्रै बाँकी छ,’ श्रममन्त्री भण्डारीले इकान्तिपुरलाई भने, ‘साउदीले घरेलु श्रमिकसम्बन्धी सम्झौता भएपछि मात्रै सामान्य सम्झौतामा हस्ताक्षर हुन सक्ने अडान लिएको थियो । अहिलेको बैठकले सहमति भइसकेको सम्झौता अगाडि बढाउने र घरेलु श्रमिकसम्बन्धी सम्झौताको मस्यौदामा थप गृहकार्य गर्ने टुंगो लगाएको छ ।’
श्रममन्त्री भण्डारीले दुई देशबीच श्रम सम्झौता भइसकेपछि मात्रै घरेलु श्रमिकको सम्झौता गर्नुपर्ने नेपालको संसदीय समितिको निर्देशन रहेको जानकारी साउदी पक्षलाई गराएको बताए । यसका लागि पाइलट परियोजना आवश्यक पर्ने जानकारीसमेत दिइएको थियो ।
जेनेभा बैठकले सामान्य श्रम सम्झौता र सीप प्रमाणीकरण कार्यक्रममा हस्ताक्षर गर्ने बाटो खोलिदिएको हो । नेपालले साउदीसँग श्रम सम्झौता अगाडि बढाएको एक दशक भइसकेको छ । उनका अनुसार साउदीले पठाएको सामान्य सम्झौताको मस्यौदामा नेपालले सहमति जनाएर औपचारिक रूपमा परराष्ट्र मन्त्रालयमार्फत साउदी सरकारलाई पठाइसकेको छ । त्यस मस्यौदामा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को मापदण्डअनुसार श्रमिकको अधिकार, व्यवसायजन्य स्वास्थ्य सुरक्षा, रोजगारदाता परिवर्तन, श्रमिकको न्यायोचित भर्ना गर्ने विषयहरू समावेश गरिएका छन् ।
साउदीले नेपालसँग अर्को छुट्टै सीपयुक्त जनशक्ति लैजाने श्रम सम्झौता गर्ने विषय पनि टुंग्याएको छ। साउदीले आफूलाई सीपयुक्त जनशक्ति आवश्यक परेको भन्दै स्रोत देशसँग ‘प्राविधिक श्रमिक’सम्बन्धी सम्झौता गर्न लागेको हो। यस्तै सम्झौता उसले भारत र फिलिपिन्ससँग गरिसकेको छ । श्रममन्त्री भण्डारीले नेपालले दक्ष श्रमिक उत्पादन गर्नका लागि राष्ट्रिय तालिम तथा प्रशिक्षण प्रतिष्ठान स्थापना गरिसकेको जानकारी दिए । साउदी अरबबाट सीप विकासका लागि पठाइएको अनुदानबाट महोत्तरीमा पोलिटेक्निक विद्यालय स्थापनाको प्रक्रिया अगाडि बढिरहेको छ ।
श्रममन्त्री भण्डारीले साउदी अरबको श्रम बजारका विशिष्ट क्षेत्रमा आवश्यक पर्ने सीपयुक्त जनशक्ति उत्पादन गर्न नेपाल सहकार्य गर्न तयार रहेको बताए । ‘नेपालमा व्यावसायिक र प्राविधिक प्रशिक्षणका लागि साउदीबाट थप आर्थिक अनुदानको अपेक्षा गर्दैछौं । प्रशिक्षण संस्थाबाट साउदी जाने नेपाली श्रमिकको क्षमता विकासमा हामीलाई सहयोग गर,’ उनले भने, ‘हामी निर्माण, स्वास्थ्य सेवा, आतिथ्य, चिकित्सा हेरचाह, बहुप्राविधिक र घरेलु कामजस्ता प्रमुख क्षेत्रमा जाने श्रमिकको सीप विकासलाई प्राथमिकता दिनेछौं ।’
बैठकमा साउदीका उपमन्त्री हमदले साउदीको श्रम बजारमा उल्लेख्य सुधार भइरहेको जानकारी दिए । ‘श्रमिक र रोजगारदाता बीच भएको करारपत्र कार्यान्वयन गर्न साउदी प्रतिबद्ध छ । श्रमिकले करारपत्रअनुसार तलब नपाए वा अकामा (आवासीय परिचयपत्र) बनाउनु परेमा तुरुन्तै डिजिटल माध्यमबाट उजुरी दिन मिल्ने संयन्त्र बनाइरहेका छौं । यसलाई हामी प्रभावकारी रूपमा कार्यान्वयन गरिरहेका छौं,’ उनले भने।साउदीले तीन महिनासम्म तलब नपाएको खण्डमा रोजगारदाता परिवर्तन गर्न मिल्ने व्यवस्था रहेको जानकारीसमेत हमदले दिए ।
श्रममन्त्री भण्डारीले घरेलु श्रमिक भर्नासम्बन्धी सम्झौताको विषयमा नेपाल सरकार मापदण्ड बनाउने प्रक्रियामा रहेको जानकारी दिँदै साउदी पक्षसँग भने, ‘नेपालले मापदण्ड बनाउनेबित्तिकै साउदीबाट आएको मस्यौदाको जवाफ दिनेछ।’
साउदीसँग नेपालले उठाएका प्रमुख विषयहरू :
१. घरेलु श्रमिकलाई भर्नासम्बन्धी सम्झौता गर्न नेपाल अझै मापदण्ड तय गर्ने चरणमा छ । कूटनीतिक नियोगको क्षमता सुदृढ गर्दै घरेलु श्रमिकको न्यायमा पहुँच र समयमै हस्तक्षेप गर्न सक्ने संयन्त्रको विकासलाई प्राथमिकता दिइएको छ ।
२. श्रमिकको शून्य-लागतमा भर्ना गर्ने नीतिमा जोड दिइएको छ । श्रम मर्यादित बनाउन मापदण्डको पालना सुनिश्चित गर्न आपूर्ति र म्यानपावर कम्पनीहरूको कडा नियमन र निरीक्षण आवश्यक छ ।
३. सुरक्षित, मानवीय र सम्मानजनक काम र गुणस्तरीय वासस्थान हुनु पर्नेमा जोड दिइएको छ। न्यूनतम ज्याला, सुरक्षा, व्यवसायजन्य स्वास्थ्य, जीवन बीमा, स्वास्थ्य उपचारमा सहज पहुँच र सुरक्षा मापदण्ड स्पष्ट हुनुपर्छ ।
४. साउदी अरबको श्रम बजारको क्षेत्रीय आवश्यकताअनुसार नेपालमा व्यमवसायिक र प्राविधिक प्रशिक्षण अनुकूल गराउन सहकार्य गर्न नेपाल तयार छ ।
५. विदेशमा प्राप्त सीपहरूलाई पहिचान गरी रोजगारी, उद्यमशीलता र सामाजिक सेवा माध्यमबाट फर्केकाहरूलाई सहयोग गर्ने पुनःएकीकरण कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ।
६. फिफा विश्वकप २०३० सफल बनाउन नेपाल सहकार्य गर्न इच्छुक छ ।
