नेपालको नयाँ पिँढी जिनियस छ : प्रधामन्त्री ओली

जेष्ठ २७, २०८२

अजित तिवारी

Nepal's new generation is a genius: Prime Minister Oli

जनकपुर — प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पिँढी जिनियस रहेको बताएका छन् । उनले फरक-फरक क्षेत्रमा नयाँ पिढीले अब्बलता प्रदर्शन गरिरहेको बताए । 

‘नेपालका नयाँ पिँढी प्रतिभाशाली रहेको र फरक-फरक क्षेत्रमा उत्कृष्टता प्रदर्शन गरिरहेकोमा खुसी लागेको छ,’ राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहलाई मंगलबार जनकपुरमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने,‘रुचिको विषय पढ्ने वातावरण बने नयाँ पिँढी अझै जिनियस हुने देखेको छु । बालबालिकालाई डाक्टरै, इञ्जिनियरै पढ् भनेर जबर्जस्ती गर्नुभएन । उनको रुचिअनुसारको पढाइको वातावरण मिलाउनुपर्छ । रुचिको विषय पढे प्रतिभा देखाउन सजिलो हुन्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानसँगै मेहनत गरे जीवनलाई सफल र उचाइमा पुर्‍याउन सकिने बताए । उनले रुचिअनुसारको पढाइको वातावरण नभए मात्र अन्य ठाउँमा पढ्न जानुपर्ने बताए । ‘पूर्वी दर्शन सिद्धान्तका आधारित रहेकाले नेपालमा अध्ययन–अध्यापन र शास्त्रार्थको इतिहास पुरानो र गौरवपूर्ण छ,’ प्रधानमन्त्री ओलीले भने,‘विद्वत्, ज्ञान र दर्शनको छलफल हुने थलो हो, नेपाल । त्यसैले अनुभूति, अनुभवको संगालोले नै ज्ञानको भण्डार प्राप्त हुन्छ ।’

मधेश प्रदेशका मुख्यमन्त्री एवं विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले मधेशका छोरीहरू शिक्षामा पनि अब्बल रहेको दीक्षान्त समारोहले पुष्टि गरेको बताए । उनले १० जना उत्कृष्ट विद्यार्थीमा ६ जना छात्राले 'ट्रिपल मेडल' जित्नु नै छोरीहरइ पढाइमा पनि उत्कृष्ट रहेको बताए ।

‘छोरालाई सरकारी र छोरीलाई बोर्डिङ स्कुलमा पढाउने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ मुख्यमन्त्री सिंहले भने,‘मधेशका छोरीहरू पढाइमा पनि अब्बल रहेको धेरै पटक प्रमाणित गरिसकेको छ । त्यसैले पढाइमा भेदभावको अन्त्य गर्नुपर्छ ।’ उनले प्रदेश सरकारले स्थापना गरेको विश्वविद्यालयलाई पनि संघीय सरकारले अनुदान दिनुपर्ने माग गरे । मधेश प्रदेश सरकारले तीन वटा विश्वविद्यालय स्थापना गरेको छ ।

दीक्षान्त समारोहका प्रमुख अतिथि प्राध्याकप राजेन्द्र विमलले शिक्षाले ज्ञान दिए पनि दीक्षाले ज्ञानमा रूपान्तरण ल्याउने गरेको बताए । उनले शिक्षासँग ज्ञानको रूपान्तरणका लागि दीक्षान्त समारोह आयोजना गर्ने गरिएको जानकारी दिए । करिब ८ वर्षअघि सञ्चालनमा आएको राजर्षि जनक विश्वविद्यालयको प्रथम दीक्षान्त समारोहमा दुई ब्याचका करिब १ सय १४ जना विद्यार्थी दीक्षित भएका छन् । 

अजित तिवारी पत्रकार तिवारी कान्तिपुरका जनकपुर संवाददाता हुन् ।

Link copied successfully