काठमाडौँ — ठ्याक्कै ८५ दिन भयो, काठमाडौंको टोखामा करिब २५ करोड अवैध विदेशी मुद्रा भेटिएको । ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) को फल्स बटममा लुकाएर चीनतर्फ लैजान लागिएको यति ठूलो परिमाणको अवैध विदेशी मुद्राको मालिक ट्रकका चालकसमेत रहेका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका फुच्चे भनिने कुसाङ लामा र नारायण पौडेल रहेको भन्दै राजस्व अनुसन्धान विभागले वैशाख २ मा काठमाडौं जिल्ला अदालतमा मुद्दासमेत दर्ता गराइसकेको छ ।
घटनाको तीन महिना पुग्न लाग्दासमेत मुख्य अभियुक्त नारायण पौडेलका बारेमा प्रहरी सुइँको समेत पाउन सकेको छैन । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ अन्तर्गत कसुरको मुद्दामा चालक लामालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदा पैसाका मालिक भनिएका पौडेल कहाँ होलान् त ?
प्रहरीका अनुसार पौडेल नेपालभित्र छैनन् । ‘हाम्रो अनुसन्धानले पौडेलले सोही दिन नेपाल छाडेर भारत गएको देखिन्छ,’ काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘उनको पास्पोर्टमा अस्ट्रेलिया पटकपटक गएको देखिन्थ्यो । उनी उत्तै गएको पनि हुन सक्छ ।’
प्रहरीले उनलाई रेडकर्नर नोटिस जारी गरेर खोजेको बताए पनि प्रगति भने शून्य छ । प्रहरी अधिकृतहरु स्वयम् नै यस विषयमा जानकार छैनन् ।
यसअघि टोखा–१०, महादेवटार हाइटमा रहेको पौडेलको घरमा प्रहरीले छापा मारेको थियो । यस्ता विषयको अनुसन्धानको पूर्ण अधिकार प्रहरीलाई नभई राजस्व अनुसन्धान विभागललाई हुँदा अपराधी भाग्न सजिलो हुने गरेको एक प्रहरी अधिकृतले बताए । यो घटनामा १३ लाख ६९ हजार १ सय ५० युरो र ३ लाख २० हजार ८ सय ५० अमेरिकी डलरसहित कुसाङ लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर ट्रकसहित लामालाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको थियो ।
पैसा बरामद हुनुअघि चालक लामा र पौडेलबीच सयौं पटक फोनमा सम्पर्क भएको थियो । लामाले पौडेलले प्रयोग गर्ने मोबाइलमा २८ पटक सम्पर्क भएको देखिन्छ । कल डिटेल प्रतिवेदनमा त्यसपछि न्यौपानेले सोही रात टोखा बालकुमारी मन्दिरबाट मोबाइल बन्द गरेको देखिएको छ । लगत्तै लामा र पौडेलका ड्राइभर हरिबहादुर भण्डारीसँग १६९ पटक फोन सम्पर्क भएको देखिएको छ । तर लामाले पौडेललाई फोन गर्नुको कारणबारे बाटोमा गाडीमा खराबी आएको कारणले कुराकानी भएको बताएका छन् ।
लामाले सो दिन आफ्ना दाइ ग्याम्जो शेर्पासँग १३९ पटक, भाउजु दिवाङ शेर्पासँग १६ र श्रीमती दामु शेर्पासँग ७४ पटक फोन सम्पर्क गरेको अदालतमा प्रस्तुत भएको कल डिटेल प्रतिवेदनमा छ । यता पौडेलले आफ्नो ड्राइभर हरिबहादुर भण्डारीसँग २६७ पटक फोन सम्पर्क गरेका छन् । सगुन केसीसँग ७३ पटक, छोरा दीपेश पौडेलको मोबाइलमा २१३ पटक, भाइ राजकुमार पौडेलकहाँ काम गर्ने सरोज कोइरालाको मोबाइलमा २० पटक फोन गरेका छन् ।
पुर्पक्षमा रहेका चालक कुशाङ लामा राजस्व छली र सुन तस्करीमा यसअघि पनि ५ वर्ष जेल बसेका थिए । पौडेल भने विवादास्पद र तस्करीको नेटवर्कसँग नजिक रहेका मान्छे रहेको उनलाई चिन्नेहरु बताउँछन् ।
