काठमाडौँ — भिजिट भिसा प्रकरणमा विपक्षीले राखेका अडानका कारण सोमबार पनि प्रतिनिधिसभा बस्न सकेन भने अर्को बैठक बुधबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएकोदेखि भारतमा स्याटेलाइट–इन्टरनेट सेवा सञ्चालनका लागि स्टारलिंकले स्वीकृति पाएको र तीन पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकोसम्म समाचार आज चर्चामा रहे।
प्रतिनिधिसभाको बैठक बुधबार दिउँसो १ बजेमात्र बस्ने भएको छ। सोमबार बसेको बैठकमा विपक्षीको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरी आधा घन्टाका लागि स्थगित भएकोमा दलहरूबीच सहमति नभएपछि संसद् सचिवालयले सूचना टाँसेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित भएको जनाएको हो।
०००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् अवरोध हटाउन सहमतिका लागि सत्तारुढ दल नेपाली कांग्रेसलाई पाँच बुँदे प्रस्ताव गरेको छ। रास्वपाले यसअघिका वार्ताका आधारमा सहमतिको खाका तयार गरी कांग्रेसलाई पठाएको हो । जसमा भिजिट भिसाको नाममा भएको मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगहरूको संलग्नताका विषयमा बहुआयमिक अनुसन्धान गर्न पाँच दिनभित्र उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने प्रस्ताव गरेको छ।
०००
विज्ञापन प्रकाशन नगरी झुटा विवरण पेस गरेर रकम भुक्तानी लिएको आरोपमा जनसवाल राष्ट्रिय दैनिकका सम्पादक रामजी बगाले तथा रौतहटको फतुवा विजयपुर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शम्भुकुमार यादवसहित ५ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बगाले र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत यादवसहित पालिकाका तत्कालीन सहलेखापाल नवीनकुमार यादव, तराई पोष्टका प्रकाशक रुपेन्द्र पटेल र प्रतिनिधि ओमप्रकाश यादविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
०००
अर्बपति इलन मस्कको स्याटेलाइट(ब्रोडब्यान्ड सेवा प्रदायक कम्पनी, स्टारलिंकले भारतमा व्यावसायिक सञ्चालनका लागि अनुमति पाएको छ । भारतमा सेवा विस्तारका लागि लामो समयदेखि प्रयास गरिरहेको स्टारलिंकले अन्ततस् भारतीय नियामकबाट स्वीकृति पाएको भारतीय सञ्चार माध्यमहरूले समेत जनाएका छन् । टाइम्स अफ इन्डियाका अनुसार भारतमा स्याटेलाइटमा आधारित इन्टरनेट सेवा दिने तेस्रो कम्पनीका रूपमा स्टारलिंकले जुन ६ मा भारतको दूरसञ्चार विभागबाट सेवा सञ्चालनका लागि स्वीकृति पाएको हो ।
०००
औषधि, बच्चाको दूध, खाद्यान्नलगायत राहत सामग्री बोकेर गाजातर्फ गइरहेको एउटा डुङ्गालाई सोमबार बिहान इजरायली सेनाले नियन्त्रणमा लिएको छ । त्यसमा जलवायु अभियन्ता ग्रेटा थनबर्गसहित १२ जना स्वयंसेवकहरू सवार थिए । इजरायलले हमाससँगको युद्धका कारण गाजामा नाकाबन्दी थप कडा बनाइरहेका बेला यो घटना भएको हो ।
