काठमाडौँ — काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको सुरु विन्दु विवाद र समाधानका उपायबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओलीले ललितपुरको खोकना र बङुमतिका स्थानीयबासीका प्रतिनिधिसँग छलफल गरेका छन् ।
नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको फास्ट ट्र्याकको ललितपुरतर्फकोविवाद अझै टुंगिन सकेको छैन । जसका कारण यस क्षेत्रमा सुरु विन्दु कहाँ हुने हो, अन्योल छ । सेनाले यसको निर्माण व्यवस्थापनको जिम्मा लिएको पनि ७ वर्ष पुग्यो, तर खोकना खण्डको समस्या जहाँको त्यहीँ छ । खोकना/बुङ्मती खण्डको ६.५ किलोमिटर खण्डमा अहिलेसम्म काम सुरु हुन सकेको छैन । कुल ७०.९७७ किलोमिटर दूरीमध्ये अहिले ६४.४७७ किमिमा मात्र ठेक्का व्यवस्थापन भएर काम भइरहेको छ । यही अन्यौलको पृष्ठभूमीमा प्रधानमन्त्रीले अग्रसरता देखाएका हुन् ।
बालुवाटारमा भएको छलफलमा तत्कालीन खोकना गाविसका पूर्वअध्यक्ष मदनकृष्ण डङ्गोल, नेकपा (एमाले) ललितपुर महानगर कमिटीका अध्यक्ष ज्ञानेन्द्र शाक्य, स्थानीय जनसरोकार समितिका संयोजक नेपाल डङ्गोल, एमाले ललितपुर महानगर वडा नं २१ कमिटीका अध्यक्ष ज्ञानभक्त महर्जन सहभागी थिए । सरोकार समितिले खोकनामा सुरु विन्दु कायम गर्दा परम्परागत सभ्यता र संस्कृति मासिने भएकाले उक्त स्थलभन्दा साढे पाँच किलोमिटर तल डुकुछापमा कायम गर्न विकल्प दिएको छ ।
छलफलमा रक्षा मन्त्रालयका सचिव रामेश्वर दङ्गाल, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारी र नेपाली सेनाका प्रतिनिधि पनि सहभागी थिए । प्रधानमन्त्री ओलीले स्थानीय जनतालाई मर्का पर्ने गरी विकास गर्ने सरकारको ध्येय नभएको स्पष्ट गर्दै समस्याको समाधानका लागि निर्णयमा पुग्नुपूर्व आफू स्थलगत अवलोकनमा आउने बताए ।
यसअघि प्रधानमन्त्री ओलीले गत माघ २३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग द्रुतमार्ग आयोजनामा भएको प्रगति र समस्याबारे छलफल गरेका थिए ।
कूल ७० दशमलव ९७ किलोमिटर दूरीको रु दुई खर्ब ११ अर्ब ९३ करोड लागतमा बन्ने सो सडक आयोजना विसं २०७४ मा सुरु भएको हो । आयोजना सम्पन्न गर्नुपर्ने संशोधित अवधि २०८३ चैत मसान्तसम्म रहेको छ ।
