मुलुकमै पहिलो पटक लिंग परिवर्तन शल्यक्रिया सफल

जनकपुर निवासी २५ वर्षीय ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण

जेष्ठ २६, २०८२

आरती पौडेल

The first successful sex change operation in the country

काठमाडौँ — नेपालमा पहिलो पटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा जनकपुरकी २५ वर्षीया ‘ट्रान्सजेन्डर’ व्यक्तिमा पुरुषको तन्तुलाई उपयोग गरेर महिलाको जनेन्द्रिय निर्माण गरिएको डा. जयमान श्रेष्ठले बताए ।

प्लास्टिक सर्जरी विभाग प्रमुख डा. श्रेष्ठका अनुसार शल्यक्रिया गरेको एक सातामै ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भइसके पनि साधारण अवस्थामा आउन भने ४ देखि ६ महिनासम्म लाग्नेछ । 

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले यो सफलतासँगै अब नेपालमै सस्तो शुल्कमा लिंग परिवर्तनजस्तो जटिल शल्यक्रियासमेत गर्न सकिने अवस्था बनेको बताए । ‘लिंग परिवर्तनजस्तो जटिल र संवेदनशील शल्यक्रिया नेपालमा पहिलो पटक सफल भएको छ,’ उनी भन्छन्, ‘यस्तो शल्यक्रिया विदेशमा निकै महँगो हुने हुन्छ तर नेपालमा सुलभ मूल्यमै गर्न सकिने भएकाले ट्रान्सजेन्डर समुदायलाई अब सहज हुनेछ ।’ यस्तो शल्यक्रिया एकदेखि डेढ लाख खर्चमै गर्न सकिनेछ ।

लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया पहिलोपल्ट गर्नुपरेकाले कानुनी रूपमा झन्झट नहोस् भनेर नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति लिएरै गरिएको डा. श्रेष्ठ बताउँछन् । ‘आफ्नो लैंगिक पहिचानप्रति सन्तुष्ट नभएका वा शल्यक्रिया गर्न चाहेकालाई सहज होस् भनेर उक्त शल्यक्रिया नेपालमा सुरु गरेका हौं,’ उनी भन्छन्, ‘कसैलाई पनि आफ्नो पहिचानप्रति नैराश्य नहोस् । समाजले के भन्ला भनेर डराएर हिँड्न नपरोस् । ट्रान्सजेन्डर समुदायलाई आफ्नो पहिचानप्रति गर्व होस् भन्ने हाम्रो मुख्य लक्ष्य हो ।’ 

ब्लु डाइमन्ड सोसाइटीका पिटरले नेपालमा लिंग परिवर्तनसम्बन्धी शल्यक्रियाको सुरुवातले आफ्नो समुदायका मानिसमा ‘कम्फर्ट जोन’ बनाइदिएको बताइन् । ‘मलाई समाजले कतै हिँडिरहेका बेला को हो भनेर प्रश्न गर्दैन, म आफूलाई महिला भनेर गर्व गर्न र संसारकै राम्री देखिएको महसुस गर्न सक्छु,’ उनले भनिन्, ‘शल्यक्रिया किन नगर्ने त आफ्नो लैंगिक पहिचानका लागि भन्ने अवश्य पनि हुन्छ ।’

त्रिवि शिक्षण अस्पतालअन्तर्गत प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ सम्म ट्रान्सजेन्डर समुदायका लागि आयोजित विभिन्न प्रकारका लिंग पुष्टिसम्बन्धी शल्यक्रियाका क्रममा लिंग परिवर्तनको शल्यक्रिया पनि गरिएको हो । चारदिने कार्यक्रममा स्तन तथा अनुहारका शल्यक्रिया पनि गरिएका थिए । 

विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हामिडिएन जाह्रोमीको नेतृत्वमा प्लास्टिक सर्जरी विभाग प्रमुख डा. जयमान श्रेष्ठको संयोजकत्वमा भएको शल्यक्रियामा विभागका प्लास्टिक सर्जनहरू डा. ईश्वर लोहनी, डा. संगम रायमाझी, डा. समित शर्मा, डा. विकेश राजभण्डारी, डा. हिमालय निरौला तथा रेजिडेन्ट डाक्टरहरू डा. अनुप थापा, डा. सुदीप पण्डित, डा. आशिष अधिकारी, डा. नोभेल, डा. ईशा र डा.अश्विन सहभागी थिए । एनेस्थेसियामा डा. मेघा कोइराला र डा. पंकज जोशीको टिम रहेको थियो ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully