नेपालले अन्तर्राष्ट्रिय श्रम बजारसँग तालमेल हुने सीप विकास गर्नुपर्छ : श्रममन्त्री भण्डारी

जेष्ठ २६, २०८२

कान्तिपुर संवाददाता

Nepal should develop skills to match the international labor market: Labor Minister Bhandari

काठमाडौँ — श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारसँग तालमेल हुने सीप विकास गर्नेतर्फ ध्यानकेन्द्रीत गरेको बताएका छन्। उनले नेपालले मर्यादित रोजगार सिर्जनाको लागि रोजगार दशक घोषणा गरेको भन्दै भविष्यको लागि सीपयुक्त जनशक्ति उत्पादनमा समेत ध्यान दिएको सन्देश अन्तर्राष्ट्रिय समुदायमाझ दिएका छन्।

जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)को ११३ औँ महासभालाई सम्बोधन गर्दै श्रममन्त्री भण्डारीले नेपालले राष्ट्रिय र अन्तर्राष्ट्रिय श्रम बजारमा जोड्न मिल्ने सीपयुक्त जनशक्ति तयारतर्फ अगाडि बढेको बताए । ‘हामीले राष्ट्रिय सीप प्रशिक्षण प्रतिष्ठान मार्फत भविष्यको सीपयुक्त जनशक्ति उत्पादन गर्ने तर्फबाट निजी क्षेत्रसँग सहकार्य बढाएका छौँ,’ उनले भने,‘यसले आन्तरिक र बाह्य श्रम बजारलाई उपलब्ध हुने दक्ष जनशक्ति उत्पादन गर्छ।’

श्रममन्त्री भण्डारीले श्रम बजारलाई पूर्ण रूपमा औपचारिकीकरण गर्नेतर्फ सबै सुविधा दिइने गरी योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली बलियो बनाउँदै लगिएको बताए। ‘यसको लागि श्रम निरीक्षण, रोजगारको सूचना, सीप प्रोफाइलिङ, उद्यम दर्ता र श्रम विवाद समाधानका लागि एकीकृत प्लेटफर्महरू बनाइ सामाजिक सुरक्षा कोषसँग जोडिएको छ’,उनले भने,‘योगदान–आधारित योजनाले अब चिकित्सा, मातृत्व, उद्धार र राहत, व्यावसायिक चोटपटक, अशक्तता र पेन्सन लाभहरूमा समावेश गरेका छौँ ।’ 

उनले रोजगारको अधिकारलाई सुनिश्चित गर्न अनौपचारिकबाट औपचारिक लैजाने राष्ट्रिय कार्ययोजनालाई अगाडि बढाइएको बताए । श्रममन्त्री भण्डारीले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाइ न्यायोचित भर्ना प्रक्रिया गर्न नेपाल द्विपक्षीय, क्षेत्रीय बहुपक्षीय रूपमा सहकार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले नेपाल  वैदेशिक रोजगारीको व्यवस्थापनमा जिसिएफको च्यापिएन मुलुक रहेको जानकारी दिए ।

कान्तिपुर

Link copied successfully