ढोरपाटनका मेयर नेपालीको घर लिलामपछि इमेज सहकारी पीडितको विरोध

अर्बको सम्पत्ति करोडमा लिलाम गरेको इमेज सहकारी पीडितको आरोप

जेष्ठ २६, २०८२

प्रकाश बराल

After the auction of Dhorpatan Mayor Nepali's house, Image Cooperative victims protested

बागलुङ — इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपाली सहकारी ठगी मुद्दामा थुनामा रहेकै बेला उनको घर लिलाम–बिक्री भएपछि पीडित बचतकर्ताले विरोध गरेका छन् । ढोरपाटन नगरपालिका प्रमुखसमेत रहेका नेपाली जिल्ला अदालतको आदेशमा हाल थुनामा छन् ।

थुनामा रहेकै बेला उनका दुईवटा घर राष्ट्रिय सहकारी बैंकले लिलामी गरेपछि नेपालीले धोका दिएको पीडितहरुको आरोप छ । उनीहरुका अनुसार नेपालीले घरघडेरी बेचेर बचत फिर्ता गर्छु भनेर प्रतिबद्धता जनाएका थिए ।

नेपालीको नाममा रहेको बागलुङ नगरपालिका–२ स्थित हल्लनचोकको कित्ता नम्बर ४५७, ४५८ र ४५९ मा बनेको ठूलो घर तथा कित्ता नम्बर ८८७ मा बनेको सानो घर बैंकले लिलाम गरेको छ । बैंकले डेढ वर्ष अघिदेखिको प्रक्रियाबाट ती घर लिलाम गरेको जनाएको छ । दुवै घर बागलुङ नगरपालिका ११ का रामबहादुर र गोमा क्षेत्रीले लिलाम सकारेका छन् ।

तीन वर्षदेखि आन्दोलनरत पीडित बचतकर्ताले मिलोमतोमा सस्तोमा घर बेचेको आरोप पनि लगाएका छन् । ‘झन्डै ५० करोड पर्ने घरलाई बैंकले २१ करोडमा बेचेको छ,’ सहकारी पीडित संघर्ष समितिका संयोजक डिलबहादुर कार्कीले भने, ‘हामीले सकारेर बचतकर्ताको रकम फिर्ता गर्न खोजेका थियौं, बैंक र क्षेत्रीले मिलेमतोमा घर सकारेर पीडितलाई धोका दिएका छन् ।’ नेपालीको १ अर्ब बढीको सम्पत्ति बैंकले करोडमा लिलाम गरेको कार्कीको आरोप छ ।

नेपालीको पोखरा महानगरपालिका–८ को कित्ता नम्बर ४२ को घर पनि लिलाम गरिएको पीडितहरुको आशंका छ । बैंकले लिलाम गरेको रकममा पीडितले सहकारीमा रहेको साँवा रकम गणना गरेर सकार्नेसमेत दाबी गरेका छन् । उनीहरुले प्रमुख जिल्ला अधिकारीलाई पनि ध्यानाकर्षण पत्र बुझाएर घर सकार्ने बताएका थिए ।

बैंकका प्रबन्धक अर्जुन श्रेष्ठले भने मिलेमतो नभई सार्वजनिक सूचना जारी गरेर तोकेको म्यादमा बिक्री भएको बताए । ‘हामीले राष्ट्र बैंकको नियमअनुसार लिलाम प्रक्रिया गरेको हो, त्यसमा को आउनुभयो, को आउनुभएन भन्ने विषय नै रहेन,’ उनले भने, ‘बैंकमा पीडितले धर्ना दिने, ताला लगाउनेजस्ता काम गर्नुभयो ।’

लिलामीको विरोधमा आइतबार पीडितहरुले बैंकमा ताला लगाएका थिए । २ घण्टासम्म ताला लागेपछि प्रहरीले भीड नियन्त्रण गरेर ताला खोलेको थियो । सोमबार पनि केही पीडितले बैंकको गेटमा धर्ना दिएका थिए । आइतबार र सोमबार बैंकमा प्रहरीको बाक्लो उपस्थितिमा कार्यालय सञ्चालन भएको थियो ।

सहकारी पीडित संघर्ष समितिले भने आइतबार ती घरजग्गा कसरी बिक्री भयो भन्ने सूचना माग गरेर निवेदन दर्ता गर्न बैंकमा गएको जनाएको छ । उनीहरुले तत्काल सूचना दिन माग गर्दै कार्यालयमा तालाबन्दी गरेका थिए । त्यसपछि प्रहरीले सुरक्षा दिएको थियो । अध्ययन गरेर केही दिनभित्रै सूचना दिने बताउँदा बताउँदै जबर्जस्ती ताला लगाइएको प्रबन्धक श्रेष्ठले बताए ।

मालपोत कार्यालय बागलुङका प्रमुख देवेन्द्र थापाले भने बैंकमा धितो राखेको जग्गा बिक्री गर्न सम्बन्धित व्यक्ति नचाहिने बताए । ‘धितो राख्ने बेलैमा आवश्यक हस्ताक्षरसमेत बनाइसकेको हुन्छ, त्यसैले नियमअनुसार आएको हामीले रोक्न मिलेन,’ थापाले भने, ‘पीडित बचतकर्ताले मेलमिलाप गर्न खोजेको थाहा पाएर डेढ महिनासम्म त काम रोकेर राख्यौं, त्यसपछि मात्र पास भएको हो ।’ राष्ट्र बैंकको नियमअनुसार भएको लिलाम सकारलाई कानुनी रूपमा रोक्न नमिल्ने उनको जिकिर छ ।

नेपाली २०८० जेठ ४ गतेदेखि फरार थिए । सोही वैशाख ६ गते नै इमेज बचत तथा ऋण सहकारीको कार्यालयमा तरलता अभाव भएकाले कार्यालय बन्द भएको सूचना टाँस गरेपछि बचतकर्ताले आफ्नो रकम ठगी भएको भन्दै जिल्ला प्रशासन, प्रहरी र अन्य सरोकारवाला निकाय गुहारेका थिए । पीडितहरुको जाहेरी संकलन गरी जिल्ला प्रहरीले अनुसन्धान गरेपछि सरकारी वकिलको कार्यालयले २०८० असार २५ गते नेपालीविरुद्ध मुद्दा दायर गरेको थियो ।

२०८० माघमा नेपालीविरुद्ध रेडकर्नर नोटिस जारी भएको थियो । २०८१ असोज पहिलो साता भारतको नयाँदिल्लीबाट पक्राउ गरेर नेपाल ल्याएपछि नेपाली जिल्ला अदालत बागलुङमा हाजिर गराइएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवरसहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ गते नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । २०८० साउन ४ को आदेशले नेपाली फरार रहेकाले भेटिएका सञ्चालक र कर्मचारीसमेतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

गत माघमा थुनामै रहेका बेला नेपालीले कारगारबाट निस्केर जायजेथा बेचेर भए पनि सबै रकम फिर्ता गर्ने आश्वासन दिएका थिए । रकम पाउने आशमा ठगी उजुरी दिएका १ हजार ५ सय ४३ मध्ये झन्डै एक हजार बढीले मुद्दा फिर्ता गरेका छन् । उनीहरुले घरसारमा मिलेर पैसा पाएको कागजात अदालतमा बुझाएपछि बागलुङ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले गत पुस १९ गते आंशिक मेलमिलापको आदेश दिएको थियो ।

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत ५ सय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ । उक्त आदेशको आधारमा पीडित संघर्ष समितिले ऋण खोजेर १ लाख रुपैयाँभन्दा कम बचत भएकालाई रकम फिर्ता गरिएको थियो ।

नेपालीलाई इमेज सहकारीमा मात्रै १ अर्ब ५४ करोड रुपैयाँ हिनामिना गरेको आरोप छ । उक्त सहकारीको बागलुङ, गलकोट, बुर्तिवाङ र पोखरामा गरी १ अर्ब ५४ करोड रुपैयाँ रकम हिनामिना भएको सहकारी रजिस्ट्रार कार्यालय पोखराको प्रारम्भिक अनुसन्धानमा पनि खुलेको थियो ।

त्यसबाहेक नेपालीले बागलुङमै रहेको राष्ट्रिय सहकारी बैंक, गरिमा विकास बैंक र ग्लोबल आईएमई बैंकसमेतबाट ३५ करोड रुपैयाँ ऋणसमेत लगेको भेटिएको हो । सहकारी ठगीकै मुद्दामा इमेजका अन्य पदाधिकारी चित्रबहादुर भण्डारी, नरमती बुढा, शक्ति किसान, डोरबहादुर परियार र अनिता बुढामगर पक्राउ परिसकेका छन् । उनीहरुलाई जिल्ला अदालत बागलुङको २०८० साउन ५ गतेको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully