काठमाडौँ — एमाले भ्रातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)को अध्यक्षका लागि पाँच आकांक्षी देखिएका छन् । एमालेले अखिलमा ३२ वर्षे उमेर हद लगाएपछि सुरु भएको राष्ट्रिय सम्मेलनमा युवाहरुबीच प्रतिस्पर्धा हुन लागेको हो ।
अखिलका निवर्तमान अध्यक्ष समिक बडालका अनुसार अध्यक्षको आकांक्षीहरुमा प्रकाश पौडेल, सुजन कडरिया, अञ्जना सिवकोटी, आरती भट्टराई र दीपक धामी छन् । नेतृत्व चयनका लागि सहमति नभए उनीहरुबीच प्रतिस्पर्धा हुने छ ।
‘अध्यक्षका पाँच जना आकांक्षी हुनुहुन्छ’, उनले भने, ‘महासचिवमा पनि धेरैले आकांक्षा राख्नुभएको छ ।’ महासचिवको आकांक्षीहरुमा स्मृति खनाल, विकास श्रेष्ठ, आरके रोमशलगायत छन् । अखिलको १५१ सदस्यीय केन्द्रीय समितिमा ९ पदाधिकारी हुनेछन् । अखिलको नेतृत्वका लागि सर्वसम्मत चयन गर्ने प्रयास गरेको छ । सम्मेलनमा १४ सय प्रतिनिधि सहभागी छन् ।
एमाले केन्द्रीय सचिवालयको १२ जेठमा बसेको बैठकले अखिलमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको थियो । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठकमा अबदेखि अखिलमा ३२ वर्षे उमेरहदको निर्णय सुनाएका थिए । तर उनले नै अखिलको २४औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै पार्टीमा भने उमेरहद नलाग्ने बताए । ओलीले पार्टी नेतृत्वमा उमेरभन्दा पनि स्वास्थ्य र कार्यक्षमता हेरिनुपर्ने बताएका हुन् ।
‘७० वर्ष उमेरका कुरा आयो । ७० वर्षे उमेरहदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन ? ४ वर्ष घटाउन भएन क्यारे उमेर ’ ओलीले भने ।
कहिलेकाहीं आवश्यकताले पनि नेतृत्व दोहोरिने ओलीको भनाइ थियो । चीनमा सी चिनफिङको उदाहरण दिँदै उनले भने, ‘स्वास्थ्यले साथ दिन्छ, दिँदैन, कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा हो । चीनमा दुईपटक मात्रै अध्यक्ष हुन पाउने नियम बनाइएको थियो । ६५ वर्षे उमेरहद लगाए पनि सी चिनफिङको नेतृत्वको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ल्यायो । अहिले ७२ पुगिसक्नु भयो– सी चिनफिङ ।’
विद्यार्थी आन्दोलन र खासगरी अनेरास्ववियुको अगुवाइमा २०३६ सालमा जनमतसंग्रहको घोषणा गर्न बाध्य बनाउने यही संगठन भएको र आफूहरूले नै देशमा साँच्चैको लोकतन्त्र र गणतन्त्र ल्याउन बलिदान गरेको ओलीको दाबी छ । विद्यार्थीका नाममा तोडफोड, कुटपिट, शिक्षालयमा आगजनी र तालाबन्दी गर्ने खालका हिंसात्मक क्रियाकलापका लागि अनेरास्ववियुका लागि छुट नहुने बताउँदै उनले यस संगठनलाई परिवर्तनकारी, सभ्य र जिम्मेवारी संगठनका रुपमा रहन निर्देशन दिए ।
