विपक्षी दलले अवरोध गरे पनि संसद् चल्ने सत्तापक्षको दाबी

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

The ruling party's claim that the parliament will run even if the opposition party obstructs it

काठमाडौँ — संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल बिनानिष्कर्ष टुंगिएको छ । आइतबार संसद्को अवरोध हटाउन सभामुखले नेपाली कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे,  एमाले मुख्य सचेतक महेशकुमार बर्तौला र माओवादीका प्रमुख सचेतक हितराज पाण्डेसँग छलफल गरेका थिए । 

छलफलमा सत्ता र प्रतिपक्षहरुले आ-आफ्नै अडान दोहोर्‍याउँदा सहमति हुन सकेको छैन । बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले संसद्लाई अगाडि बढाउन प्रतिपक्षी सकारात्मक नभएको प्रतिक्रिया दिए । उनले प्रतिपक्षीले सहयोग गरेको खण्डमा छलफल सकारात्मक ढंगले अगाडि बढ्ने बताए । 

प्रतिपक्षले असहयोग गरे पनि संसद्को कारबाही अगाडि बढाउने उनको भनाइ छ ।  ‘आजबाट संसद् सञ्चालनमा आउँछ । अपोजिसनबाट हामीले कुनै पनि निष्कर्ष र निर्णय हामीले पाएका छैनौँ । संसद् सञ्चालन गर्न दिने कि नदिने भन्ने निष्कर्ष उहाँहरूले दिनु भएको छैन । उहाँहरुले सहयोग गरे राम्रैसँग सञ्चालनमा आउँछ । यदि उहाँहरुले अप्ठ्यारो गरे पनि केही असहज होला तर संसद् अगाडि बढ्छ,’ घिमिरेले भने । 

एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले आजदेखि सहमतिको लागि सूचना टाँसेर बैठक स्थगित गर्ने पक्षमा आफूहरु नरहेको बताए । प्रतिपक्षीले अवरोध गरेपनि र नगरेपनि बैठक बजेटमाथिको छलफल सुरु हुने उनको भनाइ छ । ‘प्रमुख प्रतिपक्षी दहलहरूले सहमतिका लागि बैठक स्थगित गर्न अपिल गर्नुहुन्थ्यो । हामीले त्यो हामीले मान्दै आयौँ । आजको बैठकमा चाहिँ हिजोको जस्तो सूचना टाँस गरेर स्थगित गर्ने हिजोको निरन्तरता हुँदैन । आजदेखिको बैठक हामी स्मुथली अगाडि बढाउन चाहन्छौँ । बजेटमाथि आजदेखि छलफल आरम्भ हुन्छ,’ उनले भने । 

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखककमाथि छानबिन हुनुपर्ने प्रतिपक्षीको अडानका कारण संसद अवरोध हुँदै आएको छ । निरन्तरको अवरेधका कारण अगामी आर्थिक वर्षको बजेटमाथिको छलफल समेत प्रभावित भएको छ । 

कान्तिपुर

Link copied successfully