विद्या भण्डारी एमालेमा फर्किने हल्लाबारे ओलीको टिप्पणी : फलाना आउने अरे भनेर अर्को खेल खेलिँदैछ

जेष्ठ २५, २०८२

कान्तिपुर संवाददाता

Oli's comment on the rumors of Vidya Bhandari returning to UML: Another game is being played that so-and-so will come

काठमाडौँ — प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने विषयलाई लिएर टिप्पणी गरेका छन् ।

आइतबार काठमाडौंमा पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै ओलीले महाधिवेशनको मिति नै घोषणा नभएको बेलामा भ्रमको पछि नलाग्न आग्रह गरेका हुन् । 

पूर्वराष्ट्रपति भण्डारी पार्टीको जिम्मेवारीमा फर्किने समाचार बाहिरिरहेको बेलामा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फलाना आउने अरे भन्दै फिँजाइएका भ्रममा विश्वास नगर्न आग्रह गरे । उनले गुट नै बनिसके भन्दै प्रचार गरिएको उल्लेख गर्दै गुटको कुरा गर्नेहरूको प्रतिकार गर्न निर्देशन दिए ।

पूर्वराष्ट्रपति भण्डारीको बारेमा पार्टीमा कुनै छलफल नै नभएको बताउँदै महाधिवेशन घोषणा पनि नभएको र महाधिवेशनमा के गर्ने भन्ने सरसल्लाह नै नभएको ओलीको जिकिर थियो । उनले बाहिर भ्रम फिँजाएर पार्टीलाई कमजोर बनाउने र पार्टी कार्यकताको मनस्थिति बिथोल्ने काम भइरहेको भन्दै यस्ता दुष्प्रयासलाई सोझै इन्कार गर्न निर्देशन दिए ।

ओलीले के भने ?

अहिले हल्ला चलेको छ । तल-तल यो ग्रुप भनेका छन् त्यो ग्रुप भनेका छन् । यो ग्रुप र त्यो ग्रुपको कुनै आवश्यकता छैन । यस्ता कुरालाई तपाईंहरुले सुन्नेबित्तिकै यस्ता कुरा नगर्नुस् भन्ने जवाफ दिइहाल्नुस् । फलानाका ग्रुप, यसका ग्रुप त्यो छोडिदिनुस् । अर्को खेल हुन खोजेको छ यहाँ अब फलाना आउने अरे, फलाना आउने अरे, यस्तो-यस्तो । पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणै भएको छैन ।

महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन । छलफल भएको छैन, अनि यो बाहिर-बाहिरका हल्ला चलाएर पार्टीलाई कमजोर पार्न खोज्ने, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरूलाई सोझै इन्कार गर्नुस् । यस्ता खालका कुरा नगर्न त्यस्ताहरुलाई जवाफ दिनुस् । स्टाटस, सिस्टाटसलाई पनि जवाफ दिए हुन्छ ।

कान्तिपुर

Link copied successfully