गुप्सीपाखामा भूकम्पपीडितलाई बनाइएका घर रित्तै

करिब ६ सयमध्ये ६० वटा घरमा मात्र बसोबास, अधिकांश पीडित आएनन्

जेष्ठ २५, २०८२

हरिराम उप्रेती

Houses built for earthquake victims in Gupsipakha are empty

गोरखा — करिब ६ सय घर रहेको लाप्राकको गुप्सीपाखा सुनसान छ । अधिकांश घरमा ताला झुन्डिएको छ । रित्ता घरका पिँढी र आँगन झारपातले ढाकिन थालेको छ । कतिपय घर त झ्यालढोका नै छैन । केहीले भने गुप्सीपाखाको घरलाई आलु थन्क्याउने ठाउँका रूपमा उपयोग गरेका छन् । 

१२ वैशाख २०७२ को भूकम्पपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले ५ सय ७३ घर निर्माण गरेर वैशाख २०७७ मा लाप्राकका बासिन्दालाई हस्तान्तरण गरेको थियो । लाभग्राही सूचीमा छुटेका केही परिवारका लागि थप घर निर्माण गरिएको थियो । एउटा घर निर्माणमा ९ लाख रुपैयाँ खर्च भएको थियो । घर निर्माण भएर लालपुर्जा बुझेका अधिकांश भूकम्प पीडित गुप्सीपाखा सरेका छैनन् । अहिले त्यहाँका ६० घरमा मात्र बसोबास छ । 

घर हस्तान्तरणलगत्तै गुप्सीपाखा सरेकी सुकमाया गुरुङ त्यति सन्तुष्ट छैनन् । ‘साँघुरो घर चार जनाको परिवार बस्न ठिक्क छ, पाहुना आउँदा गाह्रै हुन्छ,’ उनले भनिन्, ‘खेती लगाउन एक घण्टा हिँडेर तल पुरानै बस्तीमा पुग्नुपर्छ । तल बारी मात्रै छ, घर छैन । त्यसैले यहीँ बसेका छौं ।’ खेतीपाती सबै पुरानै बस्तीमा भएकाले धेरै परिवार गुप्सीपाखामा नसरेको उनले बताइन् । 

गहुँ–जौ टिप्न, आलु लगाउन एक घण्टा लगाएर लाप्राककै पुरानो बस्ती आसपास रहेको बारीमा पुग्ने गरेको सुकमायाले सुनाइन् । ‘तलको बस्तीमा बर्खामा बस्न डर छ, यहाँ भए सुरक्षित हुन्छ,’ उनले भनिन्, ‘यहाँ फाट्टफुट्ट मात्र मान्छे बस्दा सुनसानजस्तै छ, कहिले त बोली मिसाउने मान्छे पनि पाइँदैन ।’ 

गुप्सीपाखामा तीन आना क्षेत्रफलमा घर बनाइएको छ । यो ठाउँ पशुपालनका लागि पनि उपयुक्त नरहेको स्थानीय बताउँछन् । बस्तीमा मान्छे नबस्दा घरले स्याहार नपाएको लाप्राकका मारसिं गुरुङ बताउँछन् । ‘चिसो ठाउँ भएकाले नबिग्रिने भएर आलु राख्न मात्र यहाँ आउँछन्, नत्र मान्छे आउने आक्कलझुक्कल हो । यहाँ धेरै चिसो हुन्छ भन्ने बहाना पनि छ,’ उनले भने । 

बस्ती निर्माणसँगै गुप्सीपाखा आसपास स्वास्थ्य चौकी र विद्यालय पनि बनेका छन् । ढल, खानेपानीलगायतका पूर्वाधार विकासका क्रममा छन् । बस्ती निर्माणका लागि करोडौं खर्च भए पनि स्थानीयले गुप्सीपाखाको घरमा बस्न रुचि नदेखाएका हुन् । बस्तीका घर जीविकोपार्जनसँग नजोडिदा नै बस्न नसकेको भूकम्पपीडित बताउँछन् ।

गुप्सीपाखा बस्तीमा ६० परिवार नियमित बसोबास गर्दैर् आएको वडाध्यक्ष किसान गुरुङले बताए । ‘अहिले खेतीपातीको सिजन छ, बर्खामा अब केही परिवार गुप्सीपाखामा थपिन्छन्,’ उनले भने, ‘खेती, वस्तुभाउ तलै भएपछि आउनजान टाढा हुँदा धेरजसो तल (लाप्राक) मै बसेका हुन् ।’ 

ठूलो परिवारका लागि गुप्सीपाखाको घर उपयुक्त नहुँदा पनि स्थानीयले सर्न रुचि नदेखाएको वडाध्यक्ष किसानले बताए । चिसोको बेला खानेपानी जमेर पानी नआउने समस्याले पनि बस्तीका स्थानीय समस्यामा पर्ने गरेको उनको भनाइ छ । 

हरिराम उप्रेती उप्रेती कान्तिपुरका गोरखा संवाददाता हुन् ।

Link copied successfully