जनकपुर निवासी २५ वर्षीय ट्रान्सजेन्डरमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको छ
काठमाडौँ — त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जमा नेपालमै पहिलोपटक लिंग परिवर्तनसम्बन्धी शल्यक्रिया सफल भएको छ । जनकपुर निवासी २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा पुरुष लिंगको तन्तुलाई चाहिने मात्रामा उपयोग गरेर महिला जननेन्द्रियको पुनःनिर्माण गरिएको हो ।
अस्पतालका प्रवक्ता तथा सह प्राडा. गोपाल सेढाइँले ती व्यक्ति पुरुष भएर जन्मिए पनि पछि हार्मोनका कारण ट्रान्सजेन्डरका रुपमा परिवर्तन भएको बताए ।
अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ सम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो ।
सह प्राडा. गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए । 'लिंग परिवर्तनजस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने हुँदा नेपालमा नै यो सुविधा उपलब्ध भएपछि ट्रान्सजेन्डर समुदायलाई धेरै राहत मिल्नेछ,' उनले भने, 'ट्रान्सजेन्डर समुदायलाई आफ्नो लैंगिक पहिचानका लागि यो महत्वपूर्ण हुनेछ,' उनले भने ।
शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा. एलिरेजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा. जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता थियो ।
डा. श्रेष्ठका अनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा 'जेन्डर अफर्मिङ क्लिनिक' स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।
