काठमाडौँ — भक्तपुरका लक्ष्मीप्रसाद दुलाल ३१ वर्ष लागे । पढाइमा राम्रै विद्यार्थी हुन् । उनी अहिले शिक्षा विषय लिएर स्नातक गर्दैछन् । तर पढेर मात्र काम पाइन्छ भन्ने विश्वास उनलाई लाग्दैन । किनभने लक्ष्मी कान सुन्न सक्दैनन् । त्यसैले उनी तालिम लिएर सीप लिन चाहन्थे र अहिले उनले काठमाडौं महानगरपालिकाले सुरु गरेको ‘सीप मेला २०८२’ मा हाउस किपिङसम्बन्धी तालिम लिइरहेका छन् ।
‘यहाँ मैले धेरै सिकिरहेको छु,’ उनले भने, ‘यहाँबाट सीप सिकिसकेपछि काम पाउने आशा जागेको छ ।’ साथै तालिममा कसरी सफा गर्ने, ओछ्यान कसरी मिलाउने, तन्ना र कुसनलाई कसरी आकर्षक बनाउने भन्नु कुरा सिकिरहेको उनले बताए ।
‘कति कुरा यहाँ छैनन् । उपलब्ध सामानमै हामीलाई सिकाइरहनु भएको छ,’ उनले भने, ‘तर पनि मलाई यी सब सिक्न रमाइलो लागिरहेको छ ।’
महानगरले यस वर्षको सीप मेलामा बहिरा अपांगता भएका व्यक्तिका लागि हाउस किपिङसम्बन्धी तालिम थप गरेको हो । जेठ ७ देखि सुरु गरेको सीप मेलामा लक्ष्मी जस्ता ७५ जनाले तालिम लिइरहेका छन् ।
काठमाडौंकी देवी बस्नेत उमेरले २० वर्ष लागिन् । उनले भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी हुन् । भन्छिन्, ‘मलाई सीप सिकेर नै काम गर्न मन छ । किनकि हामीले बाहिर सजिलै काम पाउन सक्दैनौं ।’ महानगरले सिकाएको सीपले देवीलाई पनि काम पाउने आशा जागेको छ । साथै अहिले सिकिरहेको सीपले आफ्नो आत्मविश्वास पनि बढेको उनी सुनाउँछिन् ।
जनकपुरको एक रेस्टुरेन्टमा वेटरको काम गरेका प्रमोद मण्डल केवटको अनुहारमा छुट्टै जोश थियो । किनभने प्रमोदले दुई महिनामात्र सुरु गरेको काम छाडेर उनी काठमाडौंमा हाउस किपिङसम्बन्धी तालिम लिन आएका थिए ।
‘मैले गर्दै गरेको काम छाडेर यो तालिम लिन आएको हुँ,’ २४ वर्षीय प्रमोदले भने, ‘मलाई सेफ सन्तोष शाहले यहाँ तालिम दिँदैछ जाऊ भनेर सुनाउनुभएपछि म खुसी हुँदै आएको हुँ । यो तालिम साँच्चिकै राम्रो लागिरहेको छ ।’
अरु केही काम नपाएपछि उनले वेटरको काम गरेको सुनाए । ‘हामीलाई बाहिर आफूले भने जस्तो काम पाउन गाह्रो छ,’ उनी सुनाउँछन्, ‘बोल्न सक्दैनौं तर अरु काम गर्न सक्छौं । त्यसैले अरु केही नभए पनि कम्तीमा सीप सिक्यौं भने यसले हामीलाई पैसा आउने बाटो दिन्छ ।’ काठमाडौंमा उनी उनी महानगरले नै सञ्चालन गरेको होस्टेलमा बसिरहेका छन् । त्यसैले सीपसँगै आफ्नो आत्मविश्वास बढेको उनले अनुभव सुनाए ।
‘यस किसिमको तालिम हाम्रै जनकपुरले पनि दिए म त्यहीँ सिक्थेँ,’ उनले थपे, ‘काठमाडौं महानगरको यो तालिम हाम्रा लागि साँच्चिनै राम्रो साबित भएको छ ।’
यसैगरी काठमाडौंकी २८ वर्षीय लक्ष्मी अर्यालले अपांगता भएकाहरूले काम सजिलै पाउन नसकेकामा दुःख मान्छिन् । सीपयुक्त तालिम पाए बाहिर काम पाइने भन्ने उनलाई पनि लाग्छ । ‘हामीले पढेर पनि सजिलै काम पाउँदैनौं,’ उनी भन्छिन्, ‘कम्तीमा हाउस किपिङ तालिम पाएर अब होटलतिर यस्तै काम गर्न सकिन्छ भन्ने लागेको छ ।’ कामले पैसा पनि कमाउन सकिने र यसले आफ्नो आवश्यकता पूरा गर्न सकिने उनलाई लाग्छ ।
यही तालिममा सहभागी बैतडीका सुरेन्द्रप्रसाद भट्टले कम्प्युटर साइन्समा स्नातक गरेका छन् । तर यसमा आफूले काम नपाएको उनले दुःख पोखे । ‘पढाइ राम्रो नभएर हो कि किन मैले बाहिर काम पाउन सकिनँ,’ उनले भने, ‘त्यसैले म यहाँ सीप सिक्न आएको हुँ । एक त हामीलाई पढ्न पनि समस्या हुन्छ । कम्तीमा सीपले काम त दिन्छ ।’
तीस दिनसम्म चल्ने उक्त सीप मेलामा २५ सयभन्दा बढीले तालिम लिईरहेको सीप मेला कार्यान्वयन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाले बताए ।
‘यो वर्ष हाम्रो २०८२ जनालाई तालिम दिने लक्ष्य हो,’ उनले भने, ‘तर ३५ सय भन्दा बढीको आवेदन पर्यो । त्यसैले अहिले २५४७ जनाले तालिम लिइरहेका छन् तर यसमा केहीले बीचैमा पनि छाड्ने भइरहेको छ ।’
महानगरले यस वर्ष कन्स्ट्रक्सन, हस्पिटालिटी एन्ड सर्भिस, आईसी एन्ड इलेक्ट्रोनिक्स, आर्ट एन्ड कल्चर, एग्रिकल्चर, गार्मेन्ट, अटोमोबाइल, मेकानिकल, इलेक्ट्रोनिक्स र स्पेसल अबिलिटि स्किल्स गरी १० क्षेत्रका विभिन्न ३७ वटा पेसासँग सम्बन्धित तालिम दिइरहेको उनले जानकारी दिए ।
महानगरले गौरबको योजनाअन्तर्गत रोजगारी र आय वृद्धि महानगरको समृद्धिअन्तर्गत गत वर्षदेखि सुरु गरेको सीप मेलालाई यस वर्ष पनि निरन्तरता दिएको हो ।
‘गत वर्ष २५७५ जनाले तालिम लिएका थिए,’ मेलाका संयोजक झाले भने, ‘गत वर्ष भने २९ वटा पेशा मात्र थियो ।’ महानगरले सुरुको वर्षका लागि करिब एक करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । यस वर्ष महानगरले २ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
‘तर यसपालि हाम्रो बजेटको सबै रकम खर्च नहोला,’ उनले भने, ‘किनभने यसपालि हामीले ३० वटा विभिन्न निजी संस्थासँग सहकार्य गरेका छौं । उहाँहरूले पनि मेलामा सहयोग गर्नुभएको छ ।’ साथै उनले मेलाबाट सीप सिकेकाले रोजगारी समेत पाउने र यसका लागि समेत महानगरले काम गरिरहेको जानकारी दिए ।
