विश्वभर युद्धको पटकथा बदल्ने युक्रेनी ड्रोन हमला

गत आइतबार दिउँसो १ बजे युक्रेनबाट विभिन्न कन्टेनरमा लुकाएर लगिएका सय हाराहारीका ड्रोनले ३ हजार माइल टाढासम्मका ‘पार्किङ’ गरिएका ४१ वटा रुसी युद्धक विमान ध्वस्त पारेको युक्रेनको दाबी छ । हमलाको ‘रियल टाइम लाइभ’ समेत गरिएको उक्त अपरेसनमा ६ सय डलर पर्ने सामान्य ड्रोनले २० करोड हाराहारी पर्ने युद्धक विमानलाई ध्वस्त पारेका हुन् ।

जेष्ठ २४, २०८२

स्वरूप आचार्य

Ukrainian drone strikes that changed the scenario of war around the world

काठमाडौँ — गत आइतबार युक्रेनले रुसी क्षेत्र भित्रबाटै प्रवेश गरेर गोप्य रूपमा गरेको अपरेसन ‘स्पाइडर्स वेब’ ले रुसी युद्धक विमानहरू ध्वस्त पारेर अर्बौं डलरको क्षति पुर्‍यायो । एउटाको करिब ६ सय डलर हाराहारी पर्ने सामान्य ड्रोनहरूको प्रयोगमा रुसको करोडौं डलर क्षति भयो । त्यसैले पनि यस आक्रमणलाई आधुनिक युद्धको नयाँ निर्णायक क्षणका रूपमा चर्चा गरिएको छ ।

आइतबार, स्थानीय समयअनुसार लगभग १ बजे, युक्रेनबाट ३ हजार माइल टाढा रहेका विमानस्थलहरूमा विस्फोट भएका अनौठा रिपोर्टहरू प्राप्त हुन थाले । पहिले, साइबेरियाका एयरफिल्डमा विस्फोटका रिपोर्ट आए । त्यसपछि सबैको ध्यान कसरी आक्रमण भइरहेको छ भन्नेतर्फ केन्द्रित हुन थाल्यो । त्यसपछि आक्रमणका भिडियोहरू धमाधम सार्वजनिक हुन थाले ।

जुन साँच्चै अनौठो थियो । किनभने रुसभित्र लामो दूरीका लक्ष्यहरू पछ्याउँदै युक्रेनी ड्रोनले गर्ने आक्रमणमा सबै अभ्यस्त थिए । तर यहाँ रुसभित्रैका सडक छेउमा पार्क गरिएका ट्रकहरूबाट स–साना ‘क्वाडकप्टर’ उडिरहेका देखिन्थे । त्यसपछि ती गएर एयरफिल्डमा पार्क गरिरहेका युद्धक विमानसँग ठोकिए र जलिरहेका विमानका भिडियो बाहिरियो । यो आक्रमण पहिलेका भन्दा निकै फरक थियो । जुन आक्रमण रुस–युक्रेन युद्धको एउटा आश्चर्यजनक घटनाका रूपमा चिनिएको छ ।

रुससँग युद्ध सुरु भएपछि विचलित हुँदै रक्षात्मक अवस्थामा पुगेको युक्रेनका तर्फबाट यो एउटा गतिलो र सटीक जवाफ थियो । लामो दूरीका रुसी क्षेप्यास्त्रको बमबारीबाट छियाछिया भएको किभले आफ्नै ढाडस बढाउनका लागि सूक्ष्म र अति गोप्य रूपमा बनाएको योजनाले सफलता पाएको थियो । 

Ukrainian drone strikes that changed the scenario of war around the world

युक्रेनभित्रका विभिन्न महत्त्वपूर्ण लक्ष्यहरूमा त्यही युद्धक विमानले रुसी भूभागबाटै क्षेप्यास्त्रहरू प्रहार गर्थे । साथै, समुद्रमा रहेका युद्धपोत, पनडुब्बी र रुसका भित्री भागबाट जमिनबाट जमिनमा मार हान्ने लामो दूरीका मिसाइलहरू प्रहार हुन्थे । ती सबै युक्रेनीहरूको पहुँचभन्दा बाहिर हुन्थ्यो ।

युक्रेनमा रुसी बमबारी यति नियमित भएका थिए कि युक्रेनीलाई कति बेला बंकरमा छिर्ने भन्ने सूचना क्षेप्यास्त्र आएर ठोकिनु निकै अघि नै थाहा हुन्थ्यो । रुसको भित्री भागमा रहेको कुनै एयरबेसबाट एक रुसी युद्धक विमान उड्नका लागि तयार हुनेबित्तिकै युक्रेनीहरूले आफ्नो मोबाइलमा चेतावनी युक्त सूचना प्राप्त गर्थे ।

त्यसपछि युक्रेनीसँग ती विमानले क्षेप्यास्त्र प्रहार गर्नुअघि लगभग दुई घण्टाको समय हुन्थ्यो । तोकिएको बिन्दुमा पुगेर मिसाइलहरू प्रक्षेपण गरिएपछि अलार्म बज्थ्यो । यदि लक्ष्य किभ भए प्रक्षेपण कहाँबाट भएको हो भन्ने आधारमा, युक्रेनीसँग करिब दुईदेखि तीन घण्टाको समय हुन्थ्यो । यो भनेको फोनमा प्रत्यक्ष आक्रमणको ‘काउन्ट डाउन’ जस्तै हो ।

यी बमवर्षा टीयू–९५ विमानसँग प्रायः सबै युक्रेनीहरू परिचित भइसकेका थिए । विगतमा अमेरिकी प्याट्रियट मिसाइल र अन्य सैन्य सहयोगका कारण युक्रेनीले सुरक्षित महसुस गर्ने गर्थे । तर, केही समययता अमेरिकी सहयोग लगभग बन्दजस्तै भएपछि उनीहरू टीयू–९५ बाट असुरक्षित थिए । किनभने, रुसका उन्नत क्षेप्यास्त्रहरूलाई साँच्चै निस्तेज पार्न सक्ने हतियार प्रणालीहरू निकै कम छन् । र ती युक्रेनसँग कहिल्यै पर्याप्त मात्रामा थिएनन् । अमेरिका पछि हट्दै जाँदा, त्यो झनै कम भयो ।

Ukrainian drone strikes that changed the scenario of war around the world

त्यसैले युक्रेनीहरूले रुससँगको युद्ध सुरु भएयता आफ्नै तवरबाट अभ्यस्त हुन सिकिरहेका थिए । त्यो उनीहरूका लागि आवश्यकता र बाध्यता दुवै थियो । साथै उनीहरूका लागि जरुरी थियो युद्धमा नवीनता ल्याउन । जुन कम खर्चिलो तर बढी घातक प्रमाणित होस् । त्यसैको उत्तर थियो– ड्रोनको प्रयोग ।

युक्रेनले यसअघि पनि आफूभन्दा निकै ठूलो सैन्यशक्ति रुसका विरुद्ध युद्धमा आफ्नो दृढता प्रस्तुत गर्न ड्रोनहरू प्रयोग नगरेको होइन । बिन ड्रोन युक्रेनले कसरी युद्ध गर्थ्यो भनेर कल्पना गर्नै पनि गाह्रो छ । पछिल्ला तीन वर्षमा उनीहरूले युद्ध गर्ने तरिका र समग्र युद्धभूमिलाई रूपान्तरण गरेका छन् । युक्रेनीहरूले आफूसँग लड्नका लागि कम मानिस भए पनि ड्रोनहरू प्रयोग गरेर धेरै हदसम्म रक्षात्मक स्थिति कायम राख्न सफल भएका छन् । 

युद्धको अग्रमोर्चामा तैनाथ रहेका युक्रेनी हरेक दिन आफ्ना परिवार बस्ने सहरमा रुसी क्षेप्यास्त्र र बमहरू प्रहार भएको हेरेर बस्न बाध्य थिए । त्यसलाई रोक्नका लागि उनीहरू कुनै न कुनै उपाय खोज्नका लागि दिलोज्यान दिएर तल्लीन थिए । युक्रेनले नौलो प्रकारको ड्रोन कार्यक्रमअन्तर्गत लामो दूरीका ड्रोनहरू बनाउन सुरु गर्‍यो । ती शक्तिशाली विस्फोटक पदार्थ बोकेर सयौं माइल उड्न सक्थे । त्यसलाई युक्रेनले पहिलो पटक २०२२ डिसेम्बरमा रुसी एयरफिल्डमा प्रहार गरेको थियो । युक्रेनको यो नयाँ क्षमतामा रुस अभ्यस्त भइसकेको थियो । 

सँगै रुस हवाई प्रतिरक्षा बलियो पनि थियो । उनीहरूले युक्रेनी हमलालाई निस्तेज पार्ने नयाँ तरिका पनि खोजे । विमानस्थलका इन्धन डिपो वरपर किल्लाहरू बनाए । युक्रेनीहरूलाई के, कहाँ छ भनेर भ्रमित पार्न नक्कली लडाकु विमानहरू तयार पारे । विमानस्थलमा विस्फोट भए पनि त्यसका छर्राले विमानलाई क्षति नपुगोस् भनेर विमानका पखेटामा टायरहरू राखे ।

त्यसैले लगभग डेढ वर्षअघि, युक्रेनीहरूले केही फरक प्रयास गर्न आवश्यक ठाने । र, उनीहरूले यो अति गोप्य योजना बनाएका थिए । युक्रेनी यो योजनालाई यति गोप्य राखे कि अमेरिकीहरूलाई पनि भनेनन् । यी साना ड्रोनहरूलाई रूसी बमवर्षकहरू भएका एयरफिल्डको नजिकै लगेर राख्ने उपाय खोज्न थाले ।

जसले रुसीहरू सचेत हुनुअघि नै घातक हमला सफल होस् र त्यसले युक्रेन माथि भइरहेको बमबारीमा पनि तुलनात्मक रूपमा गिरावट आओस् । यो अपरेसन यति उच्च तहको थियो कि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की आफैंले यसको प्रत्यक्ष निरीक्षण गरेका थिए । यही युक्रेनी गोप्य सैन्य अप्रेसनको नाम थियो– ‘स्पाइडर्स वेब’ ।

अप्रेसनको सफलताका लागि पहिला त यी ड्रोनहरूलाई रुसका भित्री भागमा रहेका एयरफिल्डहरू नजिक गोप्य रूपमा राखिनुपर्थ्यो । ताकि त्यहाँ रहेका बमवर्षकहरूलाई यसले प्रहार गर्न सकोस् । त्यसपछि ड्रोनबाट लक्षित निशानामा घातक प्रहार गर्न तालिम चाहिन्थ्यो ।

Ukrainian drone strikes that changed the scenario of war around the world

ड्रोनलाई लुकाउन युक्रेनीले सबैभन्दा सहज र रुसी क्षेत्रभित्र शंकाको घेरामा नपर्ने ढुवानीका कन्टेनरहरूलाई प्रयोग गरे । राजमार्गमा निर्बाध दौडने यी धातुका बाकसलाई युक्रेनीले परिष्कृत हतियार डेलिभरी प्रणालीमा परिणत गर्ने गरे । रुसी ‘पपिङ डल’ जहाँ ठूलो पुतलीभित्र सानो पुतली र त्यसभित्र अझ सानो पुतली हुन्छ ।

त्यस्तै कन्टेनरभित्र अर्को कन्टेनर थियो । माथिको कन्टेनरको छाना रिमोटले खुल्थ्यो र त्यसभित्र ड्रोनहरू र त्यसको भित्र त्यसलाई सञ्चालन गर्ने संयन्त्र जडित थियो । तोकिएको स्थानमा पुगेपछि ती ड्रोनहरू आकाशमा उड्न सक्थे र आक्रमणको संकेत पाउनेबित्तिकै लक्ष्यमा प्रहार गर्न तयार थिए ।

राष्ट्रपति जेलेन्स्कीको दाबीअनुसार उनीहरूले यो अप्रेसनको मुख्यालय रुसी आन्तरिक सुरक्षा सेवा (एफएसबी) को भवन रहेको सडकको ठीक पारेर स्थापना गरेका थिए । उनीहरूले यो सम्पूर्ण योजना रुसभित्रै गोप्य रुपमा सञ्चालन गरेका थिए । त्यो स्थानमा रुसी गोप्य प्रहरीले ढुंगा फ्याँकेमा पनि लाग्न सक्थ्यो । युक्रेनी एजेन्टहरू एउटा मकसद लिएर उच्च मनोबलका साथ रुसमा प्रवेश गरेका थिए ।

उनीहरूको प्राथमिक लक्ष्य केवल र केवल बमवर्षकहरू थिए । यो आक्रमणका लागि उनीहरू ड्रोनका लागि यस्ता सफ्टवेयर नै निर्माण गरेका थिए, जसले गर्दा तिनले बमवर्षक विमानलाई धेरैभन्दा धेरै क्षति पुर्‍याउन सकून् । त्यसका लागि उनीहरूले मध्य युक्रेनको संग्रहालयमा सोभियत युगकालीन बमवर्षकहरूलाई प्रतीकात्मक रूपमा प्रयोग गरे । जुन यो अपरेसनका लागि धेरै उपयोगी सावित भयो ।

उनीहरूले युद्धभर परीक्षण र विस्तार गर्दै आएका केही परिष्कृत ‘मेसिन–लर्निङ आर्टिफिसिएल इन्टेलिजेन्स एल्गोरिदम’ को प्रयोग गरे । जसले ड्रोनलाई मूल रूपमा बमवर्षकको सबैभन्दा कमजोर स्थानको प्रहार गर्न सक्षम बनायो, जहाँ इन्धन राखिएको थियो ।

आइतबार दिउँसो १ बजेर ६ मिनेट जाँदा ड्रोन आक्रमणका लागि हरियो झन्डा देखाइयो र यी ड्रोन कन्टेनरको छाना माथिबाट उड्न थाले । त्यसपछि निश्चित लक्ष्यलाई निसाना बनाउँदै विस्फोट हुन थाले । एयरफिल्डबाट केही समयमै धूवाँको मुस्लो उठ्न थाल्यो । एकै समयमा, कन्टेनरहरूबाट उडेका ड्रोनले रुसका विभिन्न स्थानमा रहेका महत्त्वपूर्ण एयरफिल्डमा आक्रमण गरे ।

Ukrainian drone strikes that changed the scenario of war around the world

त्यो आक्रमणलगत्तै ड्रोनका पाइलटहरूले रियल टाइममा देख्ने भिडियो नै सार्वजनिक भए । जसले आक्रमणको सफलतालाई प्रमाणित गरेको थियो । युक्रेनी दाबीअनुसार उनीहरूले ४१ वटा युद्धक विमानलाई ध्वस्त बनाएका छन् । त्यो भनेको करिब ७ अर्ब डलर बराबर हुन आउँछ । युक्रेनले गरेको दाबीभन्दा आधा विमान पनि ध्वस्त भएका भए त्यो भनेको साढे ३ अर्ब डलर बराबरको क्षति हो । 

यो आक्रमणमा रुसले आणविक बमसहित मार हान्न सक्ने क्षमता भएको आफ्नो कुल युद्धकौशलको करिब एकतिहाइ हिस्सा गुमाएको छ । यदी युक्रेनले भने जति नभएर १० वा २० वटा मात्रै विमान ध्वस्त भएका हुन् भने पनि त्यो धेरै हो । किनभने रुससँग त्यस्ता विमान केवल सयको हाराहारी रहेको अनुमान गरिएको छ र उनीहरूले पछिल्लो सयम त्यस्ता विमान बनाइरहेका पनि छैनन् ।

यी साना र सस्तो ड्रोनले रुसमाथि जुन रूपमा धक्का दियो त्यसले यो युद्धको अवस्था नै बदल्न पनि सक्छ । यो आक्रमण युक्रेनका लागि साहसिक प्रदर्शन मात्रै नभएर विश्वमा युद्धमा भइरहेको नयाँ विकासको सन्देश पनि हो । अब कुनै पनि देशले ड्रोनले कतिसम्म हानि गर्न सक्छ भनेर सोच्नुपर्ने अवस्था सिर्जना भएको छ । 

ठूला देशहरू मिसाइलको प्रयोग गरेर कसरी लड्न सक्छन् भन्ने धेरै उदाहरण हामीले दोस्रो विश्वयुद्ध र त्यसपछिका युद्धमा पनि देखिसकेका छौं । तर, अब ड्रोन र तिनले उत्पन्न गरेका सुरक्षा चुनौतीसँग लड्न के तयारी गरिनेछ, त्यसबारे सोच्ने बेला भएको छ ।

(एजेन्सीहरूको सहयोगमा)

स्वरूप आचार्य आचार्य विगत एक दशकदेखि पत्रकारका रुपमा कार्यरत छन् । उनी विशेष गरेर स्वास्थ्य तथा सामाजिक विषयमा समाचार लेख्छन् ।

Link copied successfully