यस वर्षको मनसुनबाट देशभर ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुने मौसमविद्ले अनुमान गरेका छन्, अन्य जोखिमको पनि आकलन भइरहेको छ तर सरकारले सक्रियता देखाउन सकेको छैन
काठमाडौँ — मनसुन भित्रिएर विगतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिए पनि जिल्लामा विपद् व्यवस्थापन तथा पूर्वतयारीमा सरकारको तयारी परम्परागत खालकै छ । यस वर्षको मनसुन सामान्यभन्दा बढी सक्रिय हुने पूर्वानुमानसँगै बाढीपहिरोको जोखिम क्षेत्रका बासिन्दा त्रसित देखिएका छन् ।
यस वर्षको मनसुनबाट देशभर ४ लाख ५० हजार घरधुरीका २० लाख नागरिक प्रभावित हुने मौसमविद्ले अनुमान गरेका छन् । यो गत वर्षको तुलनामा ३८ हजारभन्दा बढी घरधुरीका दुई लाखभन्दा बढी नागरिक हुन् ।
प्रत्येक वर्ष बर्खामा बाढी र डुबानको चपेटामा पर्ने सुनसरीका स्थानीय तहहरूको ध्यान विपद् व्यवस्थापनको पूर्वतयारीमा जान सकेको छैन । बर्सेनि बाढीको समस्या झेल्दै आएका सुनसरीका विभिन्न क्षेत्रमा यस वर्ष मनसुनको सुरुआतमै क्षति सुरु हुन थालेको छ ।
पूर्वी क्षेत्रबाट मनसुन भित्रिएको भोलिपल्टै गत शुक्रबार रातिको वर्षात्ले धरानका खहरेसहित अधिकांश खोलानजिकका बस्तीमा क्षति पुर्याएको छ । सर्दु, सेउती, शेरा खोला छेउका वडाहरू (१३, १६, १५, ५, ६, १७, ८ र वडा २०) मा क्षति पुगेको धरान उपमहानगरपालिका उपप्रमुख अइन्द्रविक्रम बेघाले जानकारी दिए । त्यस्तै सुनसरीको करम खोलाले इनरुवा र हरिनगर क्षेत्रमा कटान सुरु गरेको छ ।
कोशी, भोक्राहनरसिंह, हरिनगर, देवानगन्ज, बर्जु गाउँपालिकाका स्थानीय प्रत्येक वर्ष बाढी तथा डुबानको चपेटमा पर्दै आएका छन् । इटहरी, दुहबी, रामधुनी नगरपालिकाका बासिन्दाले विगतका वर्षमा थुप्रै डुबान र बाढीको सामना गरेका थिए । विपद् व्यवस्थापनको पूर्वतयारीमा स्थानीय तह जिल्ला प्रशासन कार्यालयको भर परेका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले सबै स्थानीय तहका प्रमुख तथा सरोकारवाला निकायको सहभागितामा चाँडै बैठक बसेर छलफल गर्ने तयारी गरिएको जानकारी दिए । विपद् व्यवस्थापनको पूर्वतयारीमा लापरबाही गर्दा यस वर्ष पनि बाढीले क्षति पुर्याउन सुरु गरेको इटहरीका बासिन्दा शिवराज दाहालको आरोप छ ।
स्थानीय तहहरू वार्षिक नीति तथा कार्यक्रमको तयारीमा व्यस्त भएकाले पनि विपद् व्यवस्थापनको पूर्वतयारीमा कम ध्यान गएको इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारीले बताए । गत वर्ष सुनसरीका विभिन्न स्थानीय तहमा ३ हजार बढी परिवार बाढी तथा डुबानबाट प्रभावित भएका थिए ।
०७२ को भूकम्प र त्यसपछि पटक–पटकको बाढी र पहिरोबाट जनधनको ठूलो क्षति बेहोरेको सिन्धुपाल्चोकमा भूगर्भविद्को अध्ययनका आधारमा साविकको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दुई दर्जनभन्दा बढी बस्तीलाई उच्च जोखिममा राखेको थियो । जसमा चीनसँग सिमाना जोडिएको भोटेकोशी गाउँपालिकाका अधिकांश बस्ती छन् । यसबाहेक बाह्रबिसे नगर, हेलम्बु, जुगल र पाँचपोखरी थाङपाल गाउँपालिका बाढी तथा पहिरोको मुख्य जोखिममा रहेका क्षेत्र हुन् ।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार विपद् न्यूनीकरणका उपायबारे पूर्वतयारीका काम अघि बढाइएको छ । खाद्यान्न, उद्धारका उपकरण, डुंगा, हेलिकोप्टर र सुरक्षाकर्मीको तयारी अवस्थाबारे सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसँग समन्वय भइरहेको उनले बताए । सेनाले दोलालघाट क्षेत्रमा उद्धार तालिम तथा उपकरण परीक्षण गर्दै आएको छ भने सशस्त्र प्रहरीले पनि तालिम तथा अभ्यासमा सक्रियता बढाएको उनको भनाइ छ ।
हेलम्बुको शिर भेमेथाङ चौरबाट सोहोरिएर मिसिएको कालो लेदो आएर मेलम्ची बाढीले हेलम्बु र पाँचपोखरी थाङपालको करिब १२ किमि क्षेत्र प्रभावित छ । हेलम्बुमा खोलाको किनार सुरक्षित बनाउन स्थानीय सरकारले ढुंगाको पर्खाल लगाउने काम गरिरहेको छ ।
मेलम्ची, गोरे र तार्केखोलामा ठूला ढुंगा एक्स्काभेटरमार्फत निकालेर किनारमा थुपारेको हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए । ‘बाढीको बहावलाई नियन्त्रित गरेर बस्ती जोगाउने योजना हो, ग्याल्थुम, ढुंग्रेबजार, तिम्बु, हल्दे र चिउरीखर्कजस्ता क्षेत्रमा पहिरो रोक्न जाली गारो लगाएर ढुंगा थुपार्ने कार्य पनि जारी छ,’ उनले भने ।
विपद्को समयमा सञ्चार सेवा नियमित राख्न नेपाल टेलिकमका टावरहरूमा वैकल्पिक विद्युत् आपूर्ति प्रणाली जडान गरिएको उनले जनाए । ‘जोखिममा रहेकालाई सुरक्षित स्थानमा सारेका छौं, जसका लागि आवश्यक सामान, आपत्कालीन आश्रयस्थल सबै तयारी गरिरहेका छौं,’ बाह्रबिसेका नगर विपद् शाखा संयोजक दुर्गाप्रसाद भण्डारीले भने ।
मनसुन सुरुवातसँगै भोटेकोशी, मेलम्ची, इन्द्रावती, सुनकोशी र ब्रह्मायणी नदी किनारका बस्ती उच्च जोखिममा छन् । भूकम्पपछिका वर्षमा यहाँका थुप्रै पहाड कमजोर बनेकाले हरेक सामान्य वर्षाले पनि ठूलो क्षति ल्याउने सम्भावना उच्च रहेको मेलम्ची क्षेत्रको वातावरणीय र भौगर्भिक अध्ययनमा काम गरिरहेका वातावरणविद् डा. रविनराज निरौला बताउँछन् ।
मेलम्ची र इन्द्रावतीको बाढीले विध्वंश गरेको लामो समय पुग्दा पनि सरकार गम्भीर नबन्दा बाढी प्रभावित हेलम्बु, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिका तटीय क्षेत्रमा खास काम भएका छैनन् । हेलम्बुका पहिचान गरिएका २ सय २७ बाढीपीडित परिवार स्थानीय सरकारको र दातृ संस्थाले उपलब्ध गराएको अस्थायी आवासमा बसिरहेका छन् ।
मेलम्ची नगरपालिकामा १ सय ८० बाढीपीडित अरूको घरमा महँगो भाडा तिरेर बस्न बाध्य बनेका छन् । बाढीमा मेलम्ची बजारका ७० भन्दा बढी घर बालुवा र कालो लेदो, गेगरले भरिएका थिए । केहीले पुरिएको लेदो, गेगर खोतलेर घर बस्नयोग्य बनाएका छन् । ‘विपद्ले खेद्ने निश्चित छ, सरकारले बेवास्ता गरेको देखेर दिक्क लाग्छ,’ मेलम्ची बजारका ६१ वर्षका दाबा
फ्योल्मोले भने । काभ्रेको बेथानचोक गाउँपालिकाले गत वर्ष असारमै विपद् प्राधिकरणको सहयोगमा २० लाख रुपैयाँबराबरको आपत्कालीन सामग्री खरिद गरेर पूर्वतयारी गरेको थियो । विपद् प्रतिकार्य सामग्री र तालिम प्राप्त जनशक्ति उपलब्ध हुँदा पनि गत असोजमा बाढी र पहिरोमा सीप र सामग्रीको उपयोग गर्नै नसकिएको गाउँपालिकाका अध्यक्ष भगवान् अधिकारीले बताए । उनका अनुसार जोखिमबारे स्थानीयलाई समयमै सूचना दिन पाएको भए ठूलो क्षति हुने थिएन ।
रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाका अनुसार गतवर्षकै विस्थापितलाई पुनःस्थापनाका लागि स्रोत र जनशक्ति अभाव ठूलो चुनौती बनेको छ । गाउँपालिकाले विपद् पूर्वतयारीका लागि वडा–वडामा समिति गठन, सूचना प्रणाली, त्रिपाल तथा खाद्यान्न भण्डारण र स्वयंसेवक तालिमजस्ता कार्यक्रम अघि बढाएको पालिका अध्यक्ष लामाले बताए ।
पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले वडा–१२ का कलावती, रोशी बजार, वडा ८ ड्याम साइड क्षेत्र, मल्पी क्षेत्र, वडा–११ स्थित थुम्की डाँडा, नेपाने, लड्केश्वर क्षेत्र, वडा–२ नयाँगाउँ बस्ती, वडा–७ पनौती बजार क्षेत्रलगायतका स्थानमा बाढीपहिरोको जोखिम रहेको बताए । मनसुन भित्रिसकेको अवस्थामा विपद् प्रतिकार्यका लागि पालिकासँग स्रोतसाधन सीमित रहेको नगरप्रमुख भण्डारीले बताए ।
मनसुनजन्य तथा अन्य सम्भावित विपद्हरूलाई लक्षित गरी काभ्रेमा १२ वटा विभिन्न क्लस्टरमार्फत पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना सार्वजनिक गरिएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ । विपद्का जोखिमलाई न्यूनीकरण गर्दै प्रभावकारी प्रतिकार्य सुनिश्चित गर्न क्लस्टरगत योजनाको कार्यान्वयनमा जोड दिइएको जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
कपिलवस्तुका अधिकांश भूभाग नदी र खोलाका कारण बाढी र डुबानको उच्च जोखिम छ । सीमा क्षेत्रमा भारतले बनाएको र बनाउन लागेको बाँधका कारण पनि वर्षाका बेला धेरै नेपाली भूभाग डुबानमा पर्ने गरेको छ । उच्च जोखिममा रहेका बस्ती तथा बढी प्रभावित हुने स्थान पहिचान गरेर पूर्वसतर्कता पनि अपनाइएको छैन । प्रभावितको उद्धार, राहत, पुनःस्थापना गर्ने योजना पनि छैन ।
सतर्कता अपनाउन पूर्वतयारीका लागि प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला विपद् व्यवस्थापन समितिसँग बजेट अभाव छ । ‘हामी सतर्कता अपनाउँदै तयारी अवस्थामा छौं,’ प्रजिअ दिलकुमार तामाङले भने, ‘सबै सुरक्षा निकायलाई निर्देशन दिएका छौं । मन्त्रालयबाट दैनिक, साप्ताहिक मौसमसम्बन्धी जानकारी आउँछ, जोखिम हुने अवस्था आउनासाथ सञ्चारमाध्यमबाट समुदायलाई सचेत बनाउने योजना बनाएका छौं ।’
यता, कृष्णनगर नगरपालिका प्रमुख रजतप्रताप शाहले विपद्को प्रतिकार गर्न कसिलो योजना बनाएको दाबी गरे । उद्धारदेखि पुनःस्थापनालाई प्राथमिकता दिने गरी एक्सनमा जाने तयारी भइसकेको उनले दाबी गरे । वाणगंगा, गुडरुङ, सुरई र चिरई यहाँका निकै संवेदनशील खोला हुन् । वाणगंगा खोला किनारका दर्जनौं बस्ती उच्च जोखिममा छन् । कतिपय गाउँ त खोलासँगै जोडिएका छन् । अर्घाखाँचीदेखि कपिलवस्तुसँग सटेको भारतीय सीमासम्मका नदी तटीय क्षेत्रमा जोखिम बढी छ ।
बर्दियाको स्थानीय प्रशासन र पालिकाहरू मनसुनजन्य विपद्को सामना गर्ने तयारीमा लागेका छन् । यहाँबाट बग्ने ठूला नदी कर्णाली र बबईमा हरेक वर्ष आउने बाढीलाई मध्यनजर राख्दै विपद्को पूर्वतयारी भइरहेको छ । सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले मनसुन विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बनाएका छन् । सशस्त्र प्रहरी ३१ नम्बर गण बर्दियाले उद्धार अभ्यास गरेर एक मोटरबोट, २ वटा रबर बोट, ८४ वटा लाइफ ज्याकेटसहित उद्धार सामग्री तयारी अवस्थामा राखेको सशस्त्रका एसपी मानबहादुर शाहीले बताए ।
बर्दियाका आठवटै पालिकाका हरेक वडामा २५ जना सदस्य रहने गरी विपद् सूचक समूह बनाइएको छ । बाढीबाट सबैभन्दा बढी प्रभावित हुने जिल्ला सदरमुकाम रहेको गुलरिया नगरपालिकाका प्रकोप सम्पर्क अधिकारी मुकुन्द अर्यालले बबईको बाढी पस्ने तीन ठाउँ वडा–४, ८ र १२ मा साइरन जडान गरिएको बताए । बाढी आउनुपूर्व साइरन बजाउँदा तटीय क्षेत्रका बासिन्दालाई सचेत गराइने उनले बताए । ‘उद्धार सामग्री तयारी अवस्थामा राखेका छौं । यसबाहेक पालिकासँग प्रकोप व्यवस्थापनका लागि ३० लाख रुपैयाँ मौजदात रहेको छ,’ उनले भने ।
जिल्ला प्रशासन कार्यालयले आठै पालिकासँग विपद् पूर्वतयारीका बारेमा छलफल गरिरहेको जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रोशन कठायतले मनसुनमा अत्यधिक वर्षा हुने प्रक्षेपण भएकाले विपद् न्यूनीकरणका लागि स्थानीय तहलाई पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी योजना कार्यान्वयन गर्न निर्देशन दिएको सहायक प्रजिअ कठायतले बताए । ०७१ सालमा बबईको बाढीले ३२ जनाको ज्यान गएको थियो । त्यति बेला बाढीबाट बर्दियामा ९३ हजार जनसंख्या प्रभावित भएको थियो । ०७४ मा बाढीले करिब ५० हजार मानिस प्रभावित भएका थिए ।
मनसुनजन्य विपद्बाट क्षति कम गर्न सल्यानमा तीनवटै सुरक्षा निकायले बाढीले बगाएको, पानीमा डुबेको, पहिरोमा पुरिएको, खोचमा खसेकाको उद्धार र प्राथमिक उपचारबारे विभिन्न अभ्यास र तालिम गर्दै दक्ष जनशक्ति बढाउने काम गरिरहेका छन् ।
प्रत्येक वडामा छिटो सूचना प्रवाह गर्नका लागि सूचकसमेत तयार गर्दै आएका छन् । सरोकारवाला निकाय र स्थानीय तहसँग बसेर आवश्यक पर्ने सामग्रीको लगत संकलन गरिएको जिल्ला विपद् व्यवस्थापन समिति अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी सावित्रा पुनले बताइन् ।
– अर्जुन सुवेदी (सुनसरी), अनिश तिवारी (सिन्धुपाल्चोक), ज्योति श्रेष्ठ (काभ्रे), मनोज पौडेल (कपिलवस्तु), कमल पन्थी (बर्दिया) र विप्लव महर्जन (सल्यान)
