नदी नियन्त्रणमा बजेट अभाव, बाँधको सुरक्षा र बस्तीमा बाढी पस्न नदिन ‘स्पर’ निर्माणका लागि १९ करोडको ठेक्का, ४० लाख मात्र उपलब्ध
रौतहट — लालबकैया र बागमती नदीमा आउन सक्ने बाढीबाट बाँध र बस्ती जोगाउन ‘स्पर’ निर्माणको ठेक्का लागे पनि बजेट उपलब्ध नहुँदा काम प्रभावित भएको छ । बर्खा अगावै बाँध मर्मत र स्परको काम नभए स्थानीयले डुबानको समस्या झेल्नुपर्नेछ ।
बागमती–लालबकैया नदी नियन्त्रण आयोजनाले दुवै नदीमा बाँध मर्मत तथा स्पर निर्माणका लागि चैत २०८१ र २ जेठमा ठेक्का सम्झौता गरेको थियो । तर बजेट थोरै भएको भन्दै निर्माण कम्पनीले काम सुरु गर्न मानेको छैन । ‘दुवै नदी नियन्त्रण गर्न स्परका लागि १९ करोडमा ठेक्का लागिसकेको छ ।
तर सरकारले ४० लाख मात्र दिने भयो,’ बागमती–लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख अखलाक अहमद सिद्दिकीले भने, ‘यस्तो अवस्थामा कसरी निर्माण अघि बढाउने ? बजेट कम भएकै कारण देखाएर ठेकेदारले पनि काम गर्न चासो देखाएको छैन ।’
नदी नियन्त्रण आयोजनामार्फत अर्थ मन्त्रालयबाट बजेट सुनिश्चित भएपछि पहिलो पटक १५ करोडमा ९ वटा स्परको ठेक्का लागेको थियो । जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणमार्फत थप ४ करोडका ३ वटा स्पर बनाउन ठेक्का लागेको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख सिद्दिकीका अनुसार अहिलेसम्म २ वटा ठेक्काको मात्र काम सुरु भएको छ । बाँधको सुरक्षाका लागि आयोजनाले एक वर्षभित्र काम सक्ने गरी स्पर बनाउन ठेक्का लगाएको हो । स्पर बनाउन नसके बाढीले बाँध भत्काएर गाउँ पस्ने जोखिम छ ।
राजदेवी नगरपालिकास्थित बागमती नदीमा नयाँ स्पर र पुरानो मर्मतको ठेक्का पाएको श्रीजी बिल्डर्सका सञ्चालक आनन्दसागर सिंहले पेस्की रकम नै नपाएका कारण काम सुरु गर्न नसकिएको बताए ।
लालबकैयाको पश्चिमी भेगका बैरिया, फतुहा, पोखरिया, तेजापाकड, खोरिया, बुटुवा लक्ष्मीनिया, इनर्वा, मर्यादपुर, गम्हरिया, बुनियाद, लक्ष्मीनिया क्षेत्रका बासिन्दा बाढीको त्रासमा छन् ।
बागमतीको पूर्व सर्लाहीतर्फ धुर्वामा, महिनाथपुरमा, हरकठवा, मानपुरमा, मानपुर ढाव, हजरिया मलाह, राजघाट खर्साल क्षेत्रमा पनि बाढीले क्षति पुर्याउँदै आएको छ । लालबकैया र बागमतीमा बाँध भत्किए सदरमुकाम गौरसहित आसपासका ब्रह्मपुरी, बेलबिछुवा, मुडवलवा, लक्ष्मीपुर, वसन्तपुर, भषेढवा, पिप्रालगायतका दर्जन बस्तीमा बाढी पस्ने जोखिम बढ्छ । पश्चिमको बडहर्वा, चण्डिया क्षेत्रको बाँधको अवस्था उस्तै छ ।
बाँध मर्मत नहुँदा यस क्षेत्रको लक्ष्मीपुर, बलुवा, धर्मपुर, गम्हरिया, संग्रामपुर, गढो, सिगारमन, गंगापिपरा, माधोपुरलगायतका गाउँ बाढीको उच्च जोखिममा छन् । गत वर्ष लालबकैयाको बाढीले इनरबारीस्थित बाँध भत्काएको थियो । त्यसबेला प्रशासनले सेना, प्रहरी र स्थानीयको सहयोगमा भत्किएको स्थानमा बोरा राखेर अस्थायी रूपमा डुबान रोकेको थियो ।
बागमती बाँधको आडैमा झन्डै ४ सय घरधुरी छन् । बाँध भत्कियो भने सबै बगाउने खतरा बढेको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले बताए । ‘बाँध मर्मत र नयाँ स्परको ठेक्का लगाएर बजेट सुनिश्चित नगरेकाले समस्या भएको छ,’ उनले भने, ‘यस वर्ष बाँध मर्मत भएन भने डुबानले ठूलो क्षति पुर्याउँछ ।’
आयोजनाले लालबकैयातर्फ ७ र बागमतीमा ५ वटा स्पर निर्माण गर्न लागेको हो । गएको जेठमा नदी नियन्त्रण आयोजनाले ५० स्थानमा मर्मत गरेको थियो । भारत सरकारको सहयोगमा सन् १९८९ मा झन्डै ३७ किलोमिटर लामो बाँध निर्माण गरिएको थियो । लालबकैया र बागमतीको पूर्व र पश्चिम क्षेत्रमा वर्षायाममा बाढी नियन्त्रण गर्न बनाइएको उक्त बाँध ठाउँ–ठाउँमा भत्किएको छ । यही बाँधबाट पानी गाउँमा पसेर डुबान हुने गरेको छ ।
