धुम्बाराही पुस्तकालयमा बाल महोत्सव

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

Children's Festival at Dhumbarahi Library

काठमाडौँ — आफ्नो स्थापना भएको पहिलो वार्षिकोत्सवका अवसरमा धुम्बाराही पुस्तकालयले बाल महोत्सवको आयोजना गरेको छ । 

वार्षिकोत्सवका अवसरमा पुस्तकालयले विभिन्न प्रतियोगिताहरु आयोजना गरेको थियो । जहाँ वादविवाद प्रतियोगितामा छात्रतर्फ त्रिलोक पौडेल र छात्रातर्फ दिपसना खरेल विजेता भए । 

यस्तै गृहकार्य राख्ने कि नराख्ने, बालबालिकाका लागि भिडियो खेमको प्रभाव, पैसाले खुसी किन्न सकिन्छ? जस्ता विषयमा बालबालिकाहरुले आ–आफ्नो धारणा राखेका थिए । प्रतियोगितामा विजेताहरुलाई एमालेका उपमहासचिव विष्णु रिमालले पुरस्कार प्रदान गरेका थिए । 

कार्यक्रम अवलोकन गर्न आएकी नतिजा निरौलाले बालबालिकाले आफ्नो प्रतिभा देखाउने यो राम्रो अवसर रहेको बताइन । उनले भनिन्, ‘ यस्तो कार्यक्रमहरुले हामीलाई बाहिरी अन्तरक्रिया गर्न मद्दत पुग्छ ।’

Children's Festival at Dhumbarahi Library

उपमहासचिव रिमालले सामुदायिक विद्यालय र निजी विद्यालयबीचको दूरी बराबर हुनुपर्ने बताए । ‘आजको सिकाई केवल पढेर मात्र होइन, प्राविधिक ज्ञानसँगै अगाडि लैजानुपर्छ’, रिमालले भने । 

कार्यक्रमकी आयोजक स्कन्द स्वारले आगामी दिनमा धुम्बाराही स्कुल र धुम्बाराही क्लबसँग सहकार्य गरेर पुस्तकालय खोल्ने बताएकी छिन् । प्रविधिको विकाससँगै बालबालिकामा मोबाइल, ट्याब लगायतका उपकरणमा बढी ध्यान गएको र त्यसमा क्षमता वृद्धिका लागि यस्ता कार्यक्रमहरु आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा ९ वटा विभिन्न स्टलहरु रहेका थिए । उक्त कार्यक्रममा चित्रकला प्रतियोगिता, बिवाइडी पजल, गाउँ खाने कथा, जादु, बिङगो लगायतका प्रस्तुति रहेका थिए । कार्यक्रममा एकसय भन्दा बढी बालबालिकाको सहभागिता थियो ।

कान्तिपुर

Link copied successfully