बदलाको भावनाले ममाथि भ्रष्टाचारको मुद्दा दायर गरियो, चुनौतीको सामना गर्छु: अध्यक्ष नेपाल

जेष्ठ २४, २०८२

कान्तिपुर संवाददाता

A corruption case was filed against me with a sense of revenge, I will face the challenge: President Nepal

काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको दाबी गरेका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन्। उनले नेपालको राजनीतिमा आफ्नो पार्टीको भूमिका महत्त्वपूर्ण रहेको भन्दै त्यसलाई देखेर ईर्ष्या गर्नेहरू आत्तिएको बताए । उनले पार्टीको भूमिका देखेर आतङ्कित भई पूर्वाग्रहका आधारमा मुद्दा चलाइएको आरोपसमेत लगाए।

नेपालले आफूले कसैसँग एक रुपैयाँ घुस लिएको, एक दाम जग्गा घुस स्वरूप लिएको, वा कुनै अनुचित काम गरेर देश र जनतालाई क्षति पुर्‍या‍एको भए त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार रहेको बताए । उनले आफूविरुद्ध आएको चुनौतीको दृढतापूर्वक सामना गर्ने बताए।

अध्यक्ष नेपालले भने, 'नेपालको राजनीतिमा हाम्रो पार्टीको भूमिका महत्त्वपूर्ण छ। त्यसलाई देखेर कतिपय व्यक्ति आत्तिएका छन्, आतङ्कित भएका छन्, पूर्वाग्रहले ग्रस्त भएका छन्। बदलाको भावनाले उनीहरू पोलिरहेका छन्। त्यसैको एउटा उदाहरण हालै तपाईँहरूले सुन्नुभयो—माथि भ्रष्टाचारको मुद्दा लगाउने प्रयास भएको छ। भ्रष्टाचारको मुद्दा। निर्णयको आधार चाहिन्छ। मैले कसैसँग एक रुपैयाँ घुस लिएको भए, एक दाम जग्गा घुस लिएको भए, अनुचित काम गरेको भए, देश र जनतालाई क्षति हुने कुनै काम गरेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार छु।'

अध्यक्ष नेपालले असल उद्देश्यले गरिएका काममा आत्तिनु नपर्ने जिकिर गरे। आफूमार्फत कुनै भ्रष्टाचारजन्य कार्य नभएको दाबी पनि उनले गरेका छन्। विचार वा मन नमिल्दैमा शत्रुता राख्नु नहुने पनि बताएका छन्।

'मैले सधैँ भन्ने गरेको छु—नबिराउनु, नडराउनु। जब कुनै कुत्सित मनसाय हुँदैन, निजी स्वार्थमा काम गरिएको हुँदैन, आफ्नो लाभको लागि कुनै कार्य गरिएको हुँदैन भने आत्तिनुपर्ने आवश्यकता हुँदैन। सबै गलत आरोपविरुद्ध दृढताका साथ उभिनेछु। मलाई विश्वास छ—न्यायपालिकाले न्याय दिनेछ। न्यायको जित हुनेछ, हुनै पर्छ। अन्यायको हार हुनुपर्छ। हामी सबै न्यायालयमाथि विश्वास गरेर देशमा कानुनको शासन अघि बढाउन चाहन्छौँ। यो चुनौती आएको छ—सामना गर्नुपर्ने हो। कोही मानिसहरू चुनौती देखेर मैदान छोड्छन्, आत्तिन्छन्—हामीले मैदान छोड्ने होइन,' नेपालले भने।

कान्तिपुर संवाददाता

Link copied successfully