काठमाडौँ — गृहमन्त्री रमेश लेखक बिहीबार सप्तरीमा दुई जना गोताखोर बेपत्ता भएको घटनाबारे बुझ्न शुक्रबार सशस्त्र प्रहरी बल मुख्यालय हलचोक पुगेका छन् । गृहमन्त्री लेखकलाई निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले घटनाबारे जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिग्विजय सुवेदीले बिहीबारको घटना र हाल सशस्त्र प्रहरी बलमा गोताखोरको संख्या, अन्य विपद् उद्धारका तालिमप्राप्त जनशक्ति तथा काम कारबाहीबारे विस्तृत रूपमा जानकारी गराएका थिए ।
सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्ण ढकाल र दन्तकाली तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक नेत्र कार्कीले पनि भर्चुअल माध्यमबाट घटनाबारे जानकारी गराएका थिए ।
गृहमन्त्रीसँगै राज्य व्यवस्था समितिका सभापति माननीय रामहरि खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीलगायत गृह मन्त्रालयका अधिकारीसमेत सहभागी भएका थिए । गृहमन्त्री लेखकले घटनाप्रति दु:ख व्यक्त गर्नु हुँदै मन्त्रालयबाट के गर्न सकिन्छ त्यसमा लाग्ने बताए ।
खतराजन्य उद्धारमा खटिने जनशक्तिको जीवन बिमाबारे मन्त्रालयले थप कार्य गर्ने बताउँदै उनले अभ्यासका क्रममा ज्यान गुमाएका रास्ट्रसेवकको शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा थप सचेत र सुरक्षा अपनाउन जरुरी रहेको बताए ।
