अभ्यासका क्रममा बेपत्ता दुई गोताखोरमध्ये एकको शव भेटियो
काठमाडौँ — सप्तरीस्थित कोशी नदीमा अभ्यासका क्रममा भएको घटनाबारे जानकारी लिन गृहमन्त्री रमेश लेखक सशस्त्र प्रहरी बल मुख्यालय, हलचोक पुगेका छन् ।
गृहमन्त्री लेखकले अभ्यासकै क्रममा ज्यान गुमाएका राष्ट्रसेवकप्रति दुःख व्यक्त गर्दै शोकलाई शक्तिमा बदल्दै आगामी दिनमा अझ बढी सचेत र सुरक्षित अभ्यास सञ्चालन गर्न निर्देशन दिएका छन् । उनीसँगै राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडा, निमित्त गृह सचिव जयनारायण आचार्य, सहसचिव रामचन्द्र तिवारीलगायत गृहमन्त्रालयका अधिकारी पनि उपस्थित थिए ।
प्रदेशस्तरीय विपद् सेमुलेसन अभ्यास क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी नदीमा बिहीबार सशस्त्र प्रहरीका दुई गोताखोर बेपत्ता भएका थिए । नं. १ श्रीअन्तु गण इलाम दरबन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय, सप्तरीमा कार्यरत हरदेव राजवंशी र नं. १३ गण पर्सा दरबन्दी भई नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयमा कार्यरत सप्रज सुरज साउद बेपत्ता भएका थिए ।
राजवंशीको शव घटनास्थलबाट करिब ३ किलोमिटर दक्षिणमा फेला परेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । थापाका अनुसार बेपत्ता साउदको खोजीका लागि दन्तकाली तालिम शिक्षालय, नं. ६ गण सप्तरी र विपद् व्यवस्थापन तालिम शिक्षालय, कुरिनटारबाट गोताखोर र विपद् व्यवस्थापन तालिम प्राप्त टोली परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी बल नं. ६ गण सप्तरी, दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरी र नं. ७ गण सिरहाले मनसुनजन्य विपद् पूर्वतयारी स्वरुप अभ्यास गरिरहेको समयमा दुर्घटना भएको हो । अभ्यासमा रहेका राजवंशी र साउदले २०८० र ८१ सालमा गोताखोर तालिम पूरा गरेका थिए । उनीहरु उद्धार अभ्यासका लागि सहभागी भएका थिए ।
