काठमाडौँ — वातावरण विभागले ‘प्लास्टिक प्रदूषण न्युनीकरण : हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्व वातावरण दिवस मनाएको छ । हरेक वर्ष जुन ५ मा मनाइने अन्तर्राष्ट्रिय वातावरण दिवसको अवसरमा विभागले बिहीबार काठमाडौंमा विभिन्न कार्यक्रम आयोजना गर्यो ।
वन तथा वातावरण राज्यमन्त्री रुपा विकले प्लास्टिक प्रदूषण विश्वमै गम्भीर चुनौतीको रुपमा देखिएको र यसको निराकरणमा सबै तह लाग्नुपर्ने बताइन् । ‘सहरमा मात्र प्लास्टिकको प्रदूषण देखिन्थ्यो तर अहिले गाउँमा पनि प्लास्टिकको प्रदूषण पुग्न थालेको छ,’ उनले भनिन्, ‘यसको निराकरणमा सबै लाग्नुपर्छ । यसमा हामी सबै तह संवेदनशील हुनुपर्ने देखिएको छ ।’
प्लास्टिक प्रदूषण निराकरणमा कसरी व्यवहारिक बन्ने विषयमा सबैले सोच्न जरुरी रहेको उनले बताइन् । साथै उनले वातावरण प्रदूषण वन मन्त्रालयको मात्र विषय नभएकाले यसमा सबै मन्त्रालय लाग्नुपर्नेमा जोड दिइन् । ‘वातावरण प्रदूषण वन मन्त्रालयको मात्र यसको हिस्सेदार हो भन्न मिल्दैन,’ उनले भनिन्, ‘यसमा अन्तरमन्त्रालयकाको समन्वय र सहकार्य अत्यन्तै महत्वपूर्ण हुन्छ ।’ यसैगरी प्लास्टिक प्रतिबन्धको विषयमा सबैले सहयोग गर्नुपर्ने र कार्यान्वयनमा जानुपर्ने उनको भनाइ छ ।
वातावरण विभागका विभागका महानिर्देशक ज्ञानराज सुवेदीले प्लास्टिक प्रयोगको बानीलाई कम गर्नुपर्ने बताए । ‘प्लास्टिकजन्य फूल, पुष्पगुच्छालाई पूर्ण रुपमा निषेध गरिएको छ । तर पनि बजारमा कहींकहीं पाइन्छ,’ उनले भने, ‘हामीले प्लास्टिकको प्रयोगलाई कम गर्नुपर्छ । प्लास्टिकको प्रयोगको बानीलाई कम गर्नुपर्छ ।’
विगतमा प्लास्टिकको चरम प्रयोग नभएको तर अहिले सबैतिर यसको प्रयोग बढीरहेको र यसलार्य कम गर्नुपर्ने उनले बताए । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत ४० माइक्रोनभन्दा कम प्लास्टिक झोला प्रयोग गर्न नपाइने भनेको छ । यसमा वातावरण विभागले निर्देशिका पनि जारी गरिसकेको छ । तर कार्यान्वयनको पक्ष भने सधैं कमजोर देखिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले बताए । ‘कानुनमा यो गर्नुपर्छ भन्ने व्यवस्था छ,’ उनले भने, ‘तर यसको कार्यान्वयनमा कसरी जाने भन्ने कमजोरी रहेको छ ।’ यसका लागि समन्वय र समझदारीपूर्वक अगाडि बढ्न आगामी आर्थिक वर्षभित्र कार्यान्वयन योजना आयोगले बनाउन गइरहेको उनले बताए । बजेट आइसकेको र सबै निकाय मिलेर काम गर्नेुपर्नेमा समेत उनले जोड दिए ।
मन्त्रालयका सचिव डा.राजेन्द्रप्रसाद मिश्रले प्लास्टिकले सय वर्षको यात्रा पार गरिसकेको र मानव जीवनसँग नजिकसँग जोडिएको बताए । ‘यसबाट छुटकारा पाउन सजिलो छैन । तर न्यूनीकरण नगर्ने हो भने यसले भोलीको दिनमा मानव सभ्यतालाई जोखिममा पार्छ,’ उनले भने, ‘त्यसैले हामीले प्लास्टिकको न्यूनीकरण गरौं भन्ने नाराका साथ यस वर्षको वातावरण दिवस मनाउन गइरहेका छौं ।’ प्लास्टिकको प्रयोग गरिन्जेल ठीक हुने तर त्यसपछि वातावरणमा पार्ने असर खतराजन्य हुने बताउँदै सचिव मिश्रले पुनःप्रयोगमा लगानी गर्न आवश्यक रहेको उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले व्यावसायिक गतिविधि बढाउँदा वातावरणलाई ध्यानमा राख्दै आएको बताए । ‘वातावरण र विकासलाई सँगसँगै लानुपर्छ भन्ने निजी क्षेत्रको धारणा छ,’ उनले भने, ‘तर वातावरणको नाममा कतिपय अवस्थामा विकास अगाडि लानु हुँदैन भन्ने पनि देखिएको छ । कुनै कुरालाई नकरात्मक रुपमा मात्र हेर्यौं भने त्यसले केही कुरामा पनि योगदान दिँदैन ।’
यस अवसरमा विभागले वातावरण प्रदूषणसम्बन्धी जानकारी दिन दुई वटा पुस्तकसमेत विमोचन गरेको छ । देशभर रहेका वायु गुणस्तर मापन गर्ने स्टेसनबाट प्राप्त तथ्यांक रहेको पुस्तक ‘स्टाटस अफ एयर क्वालिटी इन नेपाल एनुअल रिपोर्ट, २०२४’ र वायु प्रदुषणसम्बन्धी जानकारी दिन ‘वायु प्रदूषणसम्बन्धी आधारभूत जानकारी’ पुस्तक वन तथा वातावरण राज्यमन्त्री विकले विमोचन गरिन् ।
